धेरै पानी खाएको भन्दै अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानियो 

एजेन्सी

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

५ दिन लगाएर 'सुटर'ले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन् । खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।


दक्षिण अस्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा आएका ऊँटले ग्रामिण इलाकामा धेरै पानी र खानेकुरा खाइदिने, भौतिक संरचना भत्काइदिनेजस्ता गतिविधि गरेको बताए ।


ऊँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए । झुन्ड छुट्याउने काम आइतबार सकिएको थियो ।


मंगलबार एक विज्ञप्ति निकाल्दै रिचार्डले भनेका छन्, 'पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौँ तर यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन् । हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ ।'


रिचार्डले ऊँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए । पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन् ।


लामोसमयसम्म खडेरी हुँदा रैथाने जीवहरुलाई मात्रै नभएर ऊँटहरुसमेत प्रभावित हुँदा जथाभावी मरेका र रोगी ऊँटहरु फेला पर्ने गरेका थिए । ऊँटले त्यहाँका रैथाने वनस्पति तथा बिरुवाहरुलाई खाइदिने गर्दा विभिन्न समस्याहरु निम्त्याउने गरेको एपीआईले जनाएको छ । त्यहाँका मानिसहरुले यसअघि आउने ऊँटलाई बेच्ने तथा व्यवस्थापन गरेपनि पछिल्लो समय संख्या धेरै हुँदा वातवरणमा असर परेको त्यहाँको वातावरण विभागले जनाएको छ ।


सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खाना र पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमा छिर्न थालेका छन् । कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु मरेका छन् । पानीमा मुहानहरुमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो ।


ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन । यो त्यहाँका लागि बाह्य प्रजाति हो । सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो ।अस्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो ।


अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन् । अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ ।

प्रकाशित : पुस २९, २०७६ १७:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना

रासस

काठमाडौँ — पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू–भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी भू–भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

“सो नयाँ प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा आज बेलुकासम्म कायम रहने छ”, मानन्धरले भनिन् । भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने बताइएको छ ।

हाल पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भू–भागका धेरैजसो स्थानमा हल्का वर्र्षा र हिमपात भइरहेको जनाएको छ । राति देशका पश्चिमी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशकको पहाडी भू–भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बिहीबार देशको पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम १९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दाङ, दिपालय र नेपालगञ्जको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

प्रकाशित : पुस २९, २०७६ १७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×