कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतले पाम तेल आयात रोकेपछि महाथिरले भने : देशलाई घाटा भए पनि गलत चिजविरुद्ध बोलिरहन्छु 

एजेन्सी

क्‍वालालम्पुर — मलेसियाले कुटनीतिक तनावका कारण भारतले अघोषित रुपमा पाम तेलको आयात रोकेकोमा चिन्ता व्यक्त गरेको छ । तर मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले देशले आर्थिक समस्या झेल्ने नै भए पनि ‘गलत चिज’ विरुद्ध बोलिरहने बताएका छन् ।

भारतले पाम तेल आयात रोकेपछि महाथिरले भने : देशलाई घाटा भए पनि गलत चिजविरुद्ध बोलिरहन्छु 

भारतले गएको हप्तादेखि मलेसियाबाट हुने पाम तेल आयातमा अघाेषित रुपमा रोक लगाएको छ । भारत विश्वमै सबैभन्दा बढी पाम तेल आयात गर्ने देश हो । त्यस्तै इन्डोनेसियापछि मलेसियाले विश्वमै सबैभन्दा बढी पाम तेल उत्पादन गर्छ ।


मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले ल्याएको विवादिन नयाँ नागरिकता कानुनमा आपत्ति जनाएपछि दुई देशबीच कुटनीतिक तनाव सिर्जना भएको हो । महाथिरको अभिव्यक्तिका कारण केही महिनादेखि भारत र साउदी अरबसँग मलेसियाको सम्बन्ध चिसिएको छ । महाथिरले संयुक्त राष्ट्र संघको महासभामा पत्रकारहरुसँग कुरा गर्दै भारतले आक्रमण गरी कश्मीर कब्जामा लिएको बताएका थिए ।



भारतले आयात रोकेपछि मलेसियाका पाम तेल उत्पादकले ठूलो घाटा बेहोर्नु परेको छ । प्रधानमन्त्री महाथिरले भने यो समस्याको समाधान खोजिने बताएका छन् । ‘हामी निश्चित रुपमा चिन्तित नै छौँ । किनभने हामीले भारतमा ठूलो परिणाममा पाम तेल पठाउछौँ । तर कहीँ गलत भइरहेको छ भने त्यसमा पनि हामीले निर्धक्क बोल्नुपर्छ,’ उनले पत्रकारहरुसँग भने, ‘हामीले पैसा मात्रै सोच्ने अनि गलत क्रियाकलाप पनि भइरहने हो भने मलाई लाग्छ हामीबाट धेरै नै गलत काम भइसकेको हुन्छ ।’


भारत सरकारले अनौपचारिक रुपमा व्यापारीहरुलाई मलेसियाको पाम तेल नकिन्न भनेको छ । भारतीय व्यापारीले भने इन्डोनेसियाबाट पाम तेल आयात गरिरहेका छन् ।


बिहीबार नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका सचिव रविश कुमारले भारतले देश हेरेर पाम तेल आयात नगर्ने बताएका थिए ।


सन् २०१९ मा भारतले मलेसियाबाट ४४ लाख टन पाम तेल आयात गरेको छ । मलेसियासँगको सम्बन्ध सुधार नभए यसवर्ष मलेसियाबाट पाम तेलको आयातमा १० लाख टन कम हुने भारतीय व्यापारीले बताएका छन् ।


मलेसियाले भने भारतको विकल्पको रुपमा पाकिस्तान, फिलिपिन्स, म्यानमार, भियतनाम, इथियोपिया, साउदी अरब, इजिप्ट, अल्जेरिया र जोर्डनमा पाम तेल निर्यात गर्ने योजना बनाएको छ । मलेसियाका उद्योग मन्त्रीले पनि पाम तेल निर्यातमा देखिएको समस्या समाधानका लागि भारतीय समकक्षीसँग पहल गरिरहेको बताएका छन् ।


पछिल्लो महिना नेपालबाट पनि निर्यातको १ नम्बरमा रहेको पाम तेललाई भारतले रोक लगाएको छ । नेपाल सरकारले पाम तेलकाे निर्यात खुलाउन भारतसँग अनौपचारिक वार्ता सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार अनौपचारिक छलफलमा भारतले समाधान गर्ने संकेत दिएको छ ।

सम्बन्धित समाचार

पाम तेलको निर्यात खुलाउन अनौपचारिक वार्ता

प्रकाशित : पुस २९, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?