१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फिलिपिन्समा ज्वालामुखीको त्रास

 ८ हजार मानिस विस्थापित,  दुई म्याग्निच्युडमाथिका ३२ कम्पन, सुनामीको चेतावनी
एजेन्सी

मनिला — फिलिपिन्सको सक्रिय ज्वालामुखी तालबाट लाभा निस्किन थालेपछि अधिकारीहरूले ‘केही घण्टा वा दिनभित्र डरलाग्दो विस्फोट’ हुन सक्ने चेतावनी दिएका छन् ।राजधानी मनिलाबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको तालबाट सोमबार बिहान लाभा निस्किन थालेको हो । अधिकारीका अनुसार ज्वालामुखीको जोखिम बढेसँगै ८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

फिलिपिन्समा ज्वालामुखीको त्रास

ताल फिलिपिन्सको दोस्रो बढी सक्रिय ज्वालामुखी हो । तालको बीचमा रहेको द्वीपमा अवस्थित यो विश्वकै साना ज्वालामुखीमध्येको एक हो । ४५० वर्षयता ताल ज्वालामुखी कम्तीमा ३४ पटक विस्फोट भइसकेको छ ।


ताल ज्वालामुखी २३० वर्गकिलोमिटर क्षेत्र भएको विशाल तालको बीचमा रहेका छ । यसअघि यो सन् १९७७ मा विस्फोट भएको थियो । सन् १९११ मा यसको विस्फोटका कारण एक हजार पाँच सय मानिसको ज्यान गएको थियो ।

ताल ज्वालामुखी नजिकैको बतांगस प्रान्तमा अधिकारीहरूले ‘संकटकालीन अवस्था’ को घोषणा गरेका छन् । आइतबार उक्त ज्वालामुखीबाट निकै ठूलो मात्रामा खरानीको थुप्रो निस्केको थियो । त्यस क्रममा निरन्तर आवाज आउनुका साथै कम्पनहरू गएका बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीका अनुसार सोमबार बिहानदेखि ७५ वटा कम्पन गएका र तीमध्ये ३२ वटा दुई म्याग्निच्युडभन्दा माथिका थिए । ज्वालामुखी र भूकम्पसम्बन्तधी सरकारी निकायका अनुसार स्थानीय समयअनुसार ज्वालामुखीका कारण करिब दुई घण्टासम्म चट्याङ पर्नुका साथै बिजुली चम्किएको थियो । निकायका निर्देशक रेनाटो सोलिडमले ‘धुवाँको मुस्लो, खरानीको थुप्रो, चट्टानका ससाना टुक्रा र ग्यास ६० किलोमिटरभन्दा बढीको गतिमा निस्केको जनाए ।


त्यसलगत्तै अधिकारीले विस्फोटको चेतावनीको तह तीनबाट बढाएर चारमा पुर्‍याएका छन् । चेतावनीको अधिकतम तह पाँच हुन्छ । त्यसका साथै अधिकारीले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका बीबीसीले उल्लेख गरको छ । रिङ अफ

फायर भनिने भूकम्पीय जोखिम रहेको क्षेत्रमा पर्ने फिलिपिन्समा भूकम्प र ज्वालामुखीका घटना सामान्य मानिन्छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार ताल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा ४ लाख ५० हजार मानिस बसोबास गर्छन् । नजिकैका क्षेत्रमा ज्वालामुखीको खरानी टाढासम्म पुगेर खसेपछि मानिसलाई मास्क लगाउन सुझाव दिइएको छ । मनिलामा मास्कको अभाव हुन थालेको एक स्थानीयवासीले बताए ।

‘जब म मेरो कार भएको स्थानमा पुगेँ, यो खरानीले ढाकिएको देखेँ । म हतारहतार मास्क किन्न पसलमा गएँ तर सकिएको रहेछ,’ एक स्थानीय एन्जेल बउतिस्ताले भने । सरकारले मास्कका खुद्रा बिक्रेतालाई मूल्य नबढाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार सबै उडानहरू स्थगित भएका थिए ।

सोमबार भने केही विमान सेवाले उडान सुचारु गरेका थिए । यद्यपि, अधिकारीले ज्वालामुखीबाट उडेका चट्टानका टुक्रा तथा खरानीका कारण विमानमा क्षति पुग्न सक्ने चेतावनी दिएका जनाइएको छ । राष्ट्रपति रोड्रिगो डुर्टेटेले मनिलामा सबै सरकारी कामकारबाही बन्द गर्न निर्देशन दिएका छन् । त्यहाँका सबै विद्यालय पनि बन्द भएका छन् ।

प्रकाशित : पुस २९, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?