काठमाडौँ — बुधबार इराकमा रहेका अमेरिकी सेनाका अखडामा गरिएको दर्जनभन्दा बढी मिसाइल आक्रमणलाई इरानले अमेरिकाको मुखमा हानेकाे थप्पड भनेको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अल खामेनेइले टेलिभिजन संवोधनमा यो मिसाइल आक्रमणलाई अमेरिकाको गालामा थप्पड लगाएको भनेका छन् ।
उनले मध्यपूर्वमा अमेरिकाको उपस्थिति अनिच्छित र अवान्छित भन्दै अमेरिकालाई लखेट्ने बताएका छन् । उनले बुधाबारका जस्ता सैन्य हमलामात्रै यसका लागि पर्याप्त नहुने पनि बताए । इरानी सेनाका जनरल कासिम सुलेमानीलाई इराकको बगदाद विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमणमा हत्या गरेपछि यस क्षेत्रमा दुई देशबीच तनाव बढेको हो ।
यसैबीच, युरोपियन युनियनले वार्ताद्वारा समस्याको समाधान खोज्न अमेरिका र इरानलाई आग्रह गरेको छ। युरोपियन कमिसनकी अध्यक्ष उर्सुला वोन देर लेइनले बुधबार बेल्जियमको ब्रसेल्सलमा भनिन्, 'वार्ताबाट समाधान खोज्नका लागि हतियारको प्रयोग तुरुन्त रोक्नु आवश्यक छ ।'
प्रकाशित : पुस २३, २०७६ १७:४७