२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बेलायतमा बायोमेट्रिक भुक्तानी

नवीन पोखरेल

(लन्डन) — डेबिट क्रेडिट कार्ड र इन्टरनेटले भुक्तानी सहज हुँदै जाँदा बेलायतको एउटा बैंकले नयाँ बायोमेट्रिक प्रविधि विकास गरेको छ । 

रोयल बैंक अफ स्कटल्यान्डले एक सय पाउन्डसम्मको कारोबारका लागि कार्ड वा मोबाइल फोन नचाहिने गरी बायोमेट्रिक प्रविधि विकास गरेको हो । बैंकले ग्राहकको औंला छाप (फिंगर प्रिन्ट) ले कारोबार प्रमाणित हुने गरी बायोमेट्रिक फोब (सानो डब्बा) को सफल परीक्षण गरेको छ । उक्त फोब साँचोको झुप्पामा हाल्न सकिन्छ र चाहेका बेला भुक्तानी दिन फिंगर प्रिन्ट हाल्न मिल्ने गरी डिजाइन गरिएको छ । यस प्रविधिको विकासले बढ्दो रूपमा भइरहेको चोरी तथा अनैतिक गतिविधि (फ्रड) नियन्त्रण हुने विश्वास गरिएको छ ।


रोयल बैंक अफ स्कटल्यान्डले यस प्रविधिको सफल परीक्षण भएको जनाए पनि कहिलेदेखि आमग्राहकले सुविधा पाउने हुन् भन्नेबारे केही बताएको छैन । जर्मनीमा अवस्थित जिसेक डिभिरेन्ट मोबाइल सेक्युरिटी कम्पनीले यस प्रणालीबारे काम गरिरहेको छ ।


हाल भइरहेको कन्ट्याक्ट लेस तथा पिन नम्बर भुक्तानी प्रणालीको दुरुपयोग अत्यधिक भइरहँदा फिंगर प्रिन्ट प्रविधिले निकै सुधार गर्ने अपेक्षा बैंकले गरेको छ । प्रत्येक मानिसको फिंगर प्रिन्ट अलग हुने र यस्तो प्रविधिले आपराधिक क्रियाकलाप कम हुने लन्डनका अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बताउँछन् ।


बढ्दो बैंकिङ प्रविधिले गर्दा पश्चिमी देशहरूमा नगद कारोबार घट्ने क्रममा छ । पहिलो भुक्तानी कार्ड सन् १९५० मा अमेरिकामा डाइनर्स क्लबको नामबाट सुरु भएको थियो । पछि सन् १९५८ मा अमेरिकन एक्सप्रेस आयो । यी दुवै चार्ज कार्ड थिए जहाँ महिनाको अन्तिममा ग्राहकले पूरा रकम भुक्तानी गर्नुपर्थ्यो तर यो कार्डलाई त्यसबेला क्रेडिट कार्ड भनेर चिनिन्थ्यो । सन् १९७३ मा पहिलो इलेक्ट्रोनिक कारोबारको प्रमाणीकरण अमेरिकाको क्यालिफोर्नियास्थित भिजा डेटा सेन्टरमा भएको थियो ।


सन् १९७५ मा फ्रेन्च आविष्कारक रोनाल्ड मोरेनोले चिप कार्डको विकास गरेका थिए, जसलाई स्मार्ट कार्ड भनेर पनि चिनिन्छ । यसले बैंकिङ क्षेक्रमा माइत्रोप्रेसेसर गर्न ठूलो परिवर्तन ल्यायो । फ्रान्समा सन् १९९२ मा यस्तो प्रविधि डेबिटकार्ड प्रयोगका लागि अनिवार्य बनाइयो । बेलायतमा भुक्तानीका लागि चिप र पिन कार्ड सन् २००४ मा सुरुवात गरी सन् २००६ देखि अनिवार्य बनाइएको थियो । यस्तो प्रविधिले ग्राहकको हस्ताक्षर सजिलै नक्कल गरी दुरुपयोग हुने जोखिम धेरै कम गरेको छ तर न्यून भए पनि सजिलै दुरुपयोग पनि भइरहेको छ । इन्टरनेट विकासले गर्दा कार्ड भुक्तानीमा वायरलेस तथा कन्ट्याक्ट लेस सिस्टम विकास भएको थियो ।


प्रकाशित : पुस २०, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?