२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बेलायतलाई गैरकानुनी आप्रवासीले पिरलो

नवीन पोखरेल

लन्डन — क्रिसमस बिदाको मौका छोपेर डुंगामार्फत समुद्री बाटोबाट बेलायत प्रवेश गर्न खोज्ने ६० जना गैरकानुनी आप्रवासी गतसाता समातिए । यूके बोर्डर फोर्सले ४ डुंगामा आएका ४९ जना तथा फ्रेन्च अधिकारीले ११ जना गैरकानुनी आप्रवासी गिरफ्तार गरेका हुन् । 

बेलायतलाई गैरकानुनी आप्रवासीले पिरलो

बेलायतको गृह मन्त्रालयले युरोप हुँदै प्रवेश गरेका गैरकानुनी आप्रवासीलाई फिर्ता पठाउने तयारी गरिरहेको जनाएको छ । अघिल्लो महिना दक्षिण पूर्वी इंग्ल्यान्डको इसेक्सस्थित औद्योगिक क्षेत्र नजिक एउटा लरी (ट्रक) मा ३९ गैरकानुनी भियतनामी आप्रवासी मृत भेटिए । उक्त लरी बेल्जियन बन्दरगाह जीब्रुजबाट बेलायतको परफ्लिट आइपुगेको थियो । कम व्यस्त रहने जीब्रुज पछिल्लो समय मानव तस्करीका लागि बढी प्रयोग हुन थालेको छ । यता, बेलायतको परफ्लिट पनि कम व्यस्त बन्दरगाहमध्येमा पर्छ ।

मानव तस्करीको आरोपमा प्रहरीले २३ वर्षीय क्रिस्टोफर केनेडीलाई गिरफ्तार गरी मुद्दा चलाइएको छ । लरी चालक मरिस रबिन्सन पनि गैरकानुनी रूपमा दोस्रो देशका नागरिक ओसारपसारमा संलग्न भएकामा दोषी ठहरिइसकेका छन् ।

आपराधिक समूहले मानव तस्करीका लागि सजिलो र व्यस्त नहुने रुट पहिल्याउने गर्छन् । परिणामतः लरी सहजै बेलायत भित्रियो । नेसनल क्राइम एजेन्सी इसेक्सकै टिलबरी र हल बन्दरगाह पनि मानव तस्करीका लागि सहज भएको बताउँछ । सुन्दर भविष्यको खोजीमा जोखिम लिएरै बेलायत प्रवेश गर्न खोज्दा भएका कारुणिक घटना कैयौं छन् । सन् २०१४ देखि तथ्यांक संकलन थालिएयता लरीमा मृत भेटिनेको संख्या करिब ४ दर्जन छ । यसअघि सन् २००० मा पनि निसास्सिएर डोभरमा ५८ चिनियाँ आप्रवासी मरेका थिए ।

मुटुको धड्कन र कार्बनडाइअक्साइड डिटेक्ट गर्ने प्रविधि एवं स्क्यानरले लरीका कन्टेनरभित्र लुकेर आएका आप्रवासी समातिने गरे पनि तस्करहरूले फरक उपाए पहिल्याउँदै आएका छन् । बेलायतका ससाना ६२ पूर्वी सामुद्रिक बन्दरगाह तथा आगमनस्थलमा जाँच गर्ने कर्मचारी प्रायः नबस्ने बताइन्छ ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सीले सन् २०१८ मा जोखिम लिएर लरीका कन्टेनर वा रेफ्रिजेरेटरयुक्त सवारी साधनभित्र लुकेर आउने गैरकानुनी आप्रवासीको संख्या बढेको जनाएको छ तर गैरकानुनी रूपमा बेलायत प्रवेश गर्ने आप्रवासीको यकिन संख्या भने राष्ट्रिय तथ्यांक कार्यालयसँग पनि छैन ।


बीबीसीले गरेको एक अध्ययनमा सन् २०१३ देखि अप्रिल ०१६ सम्म गैरकानुनी रूपमा प्रवेश गरेका २७ हजार ८६० जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । सोही अवधिमा प्रवेशाज्ञाबिना बेलायत छिराउन सहयोग गर्ने २ हजार ४८२ जना समातिएका थिए । बेलायतमा गैरकानुनी बसिरहेका आप्रवासीको संख्या ३ देखि ९ लाखसम्म रहेको अनुमान छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ को प्रारम्भयता मध्यपूर्वबाट युरोप छिर्ने क्रममा ४९१ जनाको मृत्यु भयो वा ती बेपत्ता भए ।

बेलायती गृह मन्त्रालय, बोर्डर फोर्स, प्रहरी, क्राउन प्रोसिक्युसन सर्भिस र ईयू ल इन्फोर्समेन्टसँग निकट रहेर काम गरिरहेको निकाय नेसनल क्राइम एजेन्सीले मानव तस्करी ‘बहुराष्ट्रिय व्यापार’ भएको टिप्पणी गरेको छ । नेसनल रिफरल मेकानिजमको एक प्रतिवेदनमा गत वर्ष बेलायतमा मानव तस्करपीडित र आधुनिक दास बनाइएको संख्या ६ हजार ९९३ थियो, जुन सन् २०१७ को तुलनामा ३६ प्रतिशत बढी हो ।

नोभेम्बर दोस्रो साता बेलायती र रोमानियाली प्रहरीले अन्तर्राष्ट्रिय मानव तस्कर समूहमध्येका १७ जनालाई समात्यो । मेट्रोपोलिटन प्रहरीका अनुसार प्रहरीले छापा मारेर उनीहरूलाई समात्ने क्रममा २० देखि ४० वर्ष उमेरका २९ जनालाई उद्धारसमेत गरेको थियो ।

बेलायत प्रायः आप्रवासीका लागि रोजाइमा पर्ने गरेको छ । सन् २०१० देखि २०१६ को बीचमा ईयू र ईयूबाहिरका झन्डै ५ लाख मानिस बेलायत बसाइँ सरेको तथ्यांक छ ।

प्रकाशित : पुस १४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?