२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

२०१९ मा अमेरिकामा आमहत्या : २११ ले ज्यान गुमाए

एजेन्सी

वासिङटन — अमेरिकामा सन् २०१९ हालसम्मकै सबभन्दा धेरै आमहत्या काण्ड भएका छन् । एसोसिएटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार यसवर्ष अमेरिकामा भएका ४१ वटा आमहत्या काण्ड भएका र २११ जनाको ज्यान गएको देखिएको छ । 

२०१९ मा अमेरिकामा आमहत्या : २११ ले ज्यान गुमाए

हत्या गर्ने मानिससहति ४ वा ४ भन्दा बढी मानिसको कुनै एक घटनामा मृत्यु भएमा त्यसलाई आमहत्या मानिन्छ । अध्ययनअनुसार मे महिनामा भर्जिनिया राज्यको समुद्री किनार र अगस्टमा एल पासोमा भएका घटनालाई सन् २०१९ कै सबैभन्दा घातक हत्याकाण्ड मानिएको छ । ती घटनामा ३४ जना मारिएका थिए ।


अनुसन्धानकर्ताहरूका अनुसार सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको थियो । सबैभन्दा बढी घटना भने क्यालिफोर्निया राज्यमा भएका थिए । उक्त राज्यमा एक वर्षको अवधिमा ८ वटा आमहत्याका घटना भएका हुन् । सन् १९७० देखि यताका तथ्यांकअनुसार यसवर्ष सबैभन्दा बढी हत्याकाण्ड भएका समाचार संस्था एपीले जनाएको छ ।


सन् २००६ मा दोस्रो धेरै अर्थात ३८ वटा आमहत्याका काण्ड भएका थिए । यद्यपि, सन् २०१७ मा भएका त्यस्ता घटनामा मृत्यु हुने मानिसको संख्या अहिलेसम्मकै धेरै छ । २०१७ मा भएका आमहत्या काण्डमा २२४ जनाले ज्यान गुमाएका थिए । सन् २०१७ मा अमेरिकाको लस भेगसमा भएको आमहत्या काण्डमा ५९ जनाको ज्यान गएको थियो । अमेरिकामा भएका यस्ता आमहत्याका कारण लागुऔषध प्रयोग, पारिवारिक झगडा तथा गुन्डा समूहहरूको संलग्नता मुख्य कारक रहेका अनुसन्धानकर्ताहरूको भनाइ छ ।


मिनेसोटास्थित मेट्रोपोलिटन स्टेट युनिभर्सिटीका प्राध्यापक तथा अपराधशास्त्री जेम्स डेन्सलीले आत्महत्याका घटना कम भए पनि मारिनेको संख्या बढेका बताए । ‘यस्ता आमहत्याका काण्डले मृत्यु हुनेको संख्या बढाएको छ,’ उनले भने । आमहत्याका संख्या बढ्नुमा ‘अमेरिकाको आक्रोशपूर्ण र निराशाजनक समय’ आंशिक रूपमा कारक भएको उनको भनाइ छ । यद्यपि, यस्ता अपराध लहरका रूपमा आउने डेन्सलीले बताए ।


अमेरिकी संविधानको दोस्रो संशोधनमार्फत बन्दुक राख्न पाउने अधिकार सुनिश्चित भएका कारण पनि यस्ता घटना रोकिएका छैनन् । आमहत्याका घटना वृद्धि भए पनि अमेरिकी विधायकहरूबीच बन्दुकको प्रयोग नियन्त्रण गर्नेबारे खासै छलफल भएको छैन ।


गत अगस्टमा डेटन, ओहायो र टेक्ससमा भएका आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेस नेताबीच ‘गम्भीर छलफल हुने’ र बन्दुक राख्ने व्यक्तिहरूको पृष्ठभूमि परीक्षण गरिने बताएका थिए तर ट्रम्पले उक्त प्रतिबद्धता पूरा गर्नतर्फ भने गम्भीरता देखाएका छैनन् ।

प्रकाशित : पुस १४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?