२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सोचेजस्तो सहज छैन कोरिया

४८ जनाले गरे आत्महत्या, ४७ ले दुर्घटनामा ज्यान गुमाए
गोकुल थोकर

(सोल) — दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएका पाल्पाका कुशबहादुर थापाले दुई साताअघि आत्महत्या गरे । दिनभर कम्पनीमा काम गरेका उनी बेलुकी ओभरटाइम नगरी सबैभन्दा पहिले कोठा फर्किएका थिए । उनीसँगै काम गर्ने नेपालीहरू आफ्नो काम सकेर फर्कंदा उनी कोठामा भेटिएनन् । राति अबेरसम्म कोठामा नआएपछि सोधीखोजी गर्दा उनी शौचालयनजिकै मृत अवस्थामा भेटिए । 

सोचेजस्तो सहज छैन कोरिया

कोरियन भाषामा दख्खल राख्ने थापा आफ्नो काममा निकै दक्ष थिए । त्यसैले उनले कम्पनीमा नेपाली कामदारको टिम लिडरको जिम्मेवारी पाएका थिए । पहिलो कार्यावधि सकेर उनी क्षमताकै कारण दोस्रोपटक कोरिया आएका थिए । ‘अर्काको देशमा काम खोज्दै आएपछि मिलेर काम गर्नुपर्छ’ भनेर उनी अरूलाई सम्झाइरहेका हुन्थे ।


घटनाको अवस्था हेर्दा उनले आत्महत्या गरेको भन्नै गाह्रो थियो । तरकारी काट्ने चक्कुले घाँटीमा प्रहार गरेको चोट थियो । ‘घटना शंकास्पद देखिएकाले कम्पनीका सबै नेपालीलाई प्रहरीले लिएर गएका रहेछन् । धन्न, सीसीटीभी फुटेज हेर्दा आत्महत्या भन्ने पुष्टि भयो,’ पोछन क्षेत्रमा भाषा अनुवादक काम गर्दै आएका मुक्त गुरुङले भने, ‘कम्पनीमा सबै स्थिति राम्रै देखियो, तलब र सुविधा पनि नियमित रहेछ । उनले किन आत्महत्या गरे, बुझ्नै सकिएन ।’


सुर्खेतको पञ्चपुरीका २३ वर्षीय थीरबहादुर दर्लामी पनि थापा जसरी नै अनेकौं सपना बोकेर दक्षिण कोरिया आएका थिए । तर उनले आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परेर ज्यान गुमाए । थेजन सहरमा रहेको पानीजहाजको डाई बन्ने कम्पनीमा उनले जम्मा ११ दिनमात्रै काम गरे । गत अक्टोबर ११ का दिन दुर्घटनामा परेका उनको उपचारको दोस्रो दिन मृत्यु भयो । ‘कम्पनीमा सहकर्मीको असावधानीका कारण दुर्घटना भएको देखिन्छ । भुइँमा बसेर काम गरिरहेका दर्लामी फोरक्लिप (सामान उचाल्ने गाडी) ले तयार भएको डाई निकाल्दा अर्को डाइमा ठोक्किएर च्यापिएका थिए,’ सुर्खेत समाजका अध्यक्ष लोकेश खत्रीले भने, ‘कम्पनी र फोरक्लिप चलाउनेको गल्ती हुँदाहुँदै पनि यसमा कुनै कारबाही भएन ।’ नेपाली राजदूतावासले पनि घटनालाई गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेपछि सजिलो काम र राम्रो दाम पाइने भन्दै वैदेशिक रोजगारीमा कोरिया आकर्षक मानिन्छ तर यहाँ कामदारका अनेक दु:ख छन् । दैनिक कार्य अवधि १२ घण्टाभन्दा बढी नै हुन्छ । भाषा समस्या उस्तै छ । सन् २००७ मा सुरु भएको ईपीएस खुलेसँगै कोरिया आएर काम गर्ने नेपालीको संख्या बढेको हो । यस अवधिमा ६२ हजार २ सय २७ जना नेपाली कोरिया आएका छन् । हाल यहाँ कार्यरत नेपालीको संख्या ३५ हजार ५ सय ८१ छ । यिनमा महिलाको संख्या २ हजार १ सय ७६ छ ।


संख्या बढेसँगै विभिन्न कारणले ज्यान गुमाउने नेपाली पनि बढेका छन् । ईपीएस सुरु भएपछि अहिलेसम्म १ सय ८१ जना नेपालीले ज्यान गुमाएको रेकर्ड नेपाली दूतावासमा छ । भिन्न रोग र सुतेकै अवस्थामा ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । औद्योगिक र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ भने आत्महत्या गर्ने ४८ जना पुगेका छन् । दुई जनाको हत्या भएको दूतावासको तथ्यांकमा छ ।


‘हामीसँग भएको तथ्यांकअनुसार औद्योगिक दुर्घटनाभन्दा बढी आत्महत्याका कारण नेपाली कामदारले ज्यान गुमाइरहेका छन्,’ दक्षिण कोरियास्थित नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोला भन्छन् ।


दक्षिण कोरियाले १६ वटा देशबाट ईपीएस पद्धतिमा कामदार ल्याउने गरेको छ तर आत्महत्या गर्नेमा सर्वाधिक संख्या नेपालीको छ । ‘अरू देशका कामदारभन्दा नेपालीले अलिक बढी आशा राख्ने भएर यस्तो नतिजा आएको हुन सक्छ,’ श्रम सहचारी बाँस्तोला भन्छन् । विशेषगरी परिश्रम गर्ने अभ्यासभन्दा पनि केही पढेको र भाषा सिकेका भरमा नेपाली कामदार कोरिया आउने भएकाले समस्या देखिएको उनले बताए । ‘विदेशमा कमाइ गर्न निस्किएपछि घरपरिवारबाट सधैं पैसा पैसा मात्रै भन्ने गरेबाट पनि डिप्रेसनको स्थिति बढेको हुन सक्छ,’ उनले भने । नेपाली कामदारमाझ आइपर्ने अनेक खालका समस्या सुल्झाउन दूतावासमा एकजना मात्रै श्रम सहचारी छन् । कोरियामा ईपीएस पद्धतिबाट आउने बंगलादेशी कामदारको संख्या १३ हजार छ । तिनको मामिला हेर्न बंगलादेश सरकारले छुट्टै ईपीएस शाखा राखेर कर्मचारी खटाएको छ ।


दक्षिण कोरिया आएका नेपाली कामदार धेरैजसो कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्छन् । कोरियाली श्रम मन्त्रालयको रिपोर्टअनुसार सन् २०१३ देखि २०१८ सम्मको औद्योगिक दुर्घटना अघिल्लो पाँच वर्षको तुलनामा ६० प्रतिशतले बढेको देखिन्छ । गत वर्ष मात्रै १ सय ३६ विदेशी श्रमिकको औद्योगिक दुर्घटनामा मृत्यु भएको थियो भने १० जना नेपालीले ज्यान गुमाएका थिए । विगत ५ वर्षमा औद्योगिक दुर्घटनामा परी मृत्यु हुने विदेशीको संख्या ६ सय ५ छ ।


८६.४५ प्रतिशत दुर्घटना उत्पादन र निर्माण क्षेत्रसँग सम्बन्धित छ । कृषि, साना कम्पनी र बिमा दर्ता नभएकाको संख्यासमेत जोड्ने हो भने दुर्घटना तथ्यांक अझै धेरै हुन सक्ने प्रवासी मजदुर युनियन एमटीयूका महासचिव मधुसूदन ओझाको भनाइ छ ।


प्रकाशित : पुस १२, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?