कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अस्ट्रेलियामा किन फैलिन्छ डढेलो ?

नारायण खड्का

अस्ट्रेलिया — सेप्टेम्बर ५ देखि फैलिएको डढेलो घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण अनियन्त्रित भएको हो । त्यसका साथै, अत्यधिक गर्मी र बढ्दो तापक्रम पनि डढेलो फैलिनुका प्रमुख कारण हुन् ।

अस्ट्रेलियामा किन फैलिन्छ डढेलो ?

गत अगस्टदेखि सुरु भएको डढेलोले अस्ट्रेलियाका अधिकांश राज्यहरुमा जनजीवन प्रभावित बनाएको छ । सेप्टेम्बर ५ देखि फैलिएको आगलागीका कारण अस्ट्रेलियामा दुईजना अग्नि नियन्त्रकसहित १० जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये न्यु साउथ वेल्समा ८ र दक्षिण अस्ट्रेलियामा दुईको मृत्यु भएको हो ।

न्यु साउथ वेल्सको रुरल फायर सर्भिसका अनुसार यस राज्यमा मात्र आगलागीका कारण ३० लाख हेक्टर बढी क्षेत्रफलमा क्षति पुगिसकेको छ । ८ सय ७३ घरहरु जलेका छन् भने २ हजार ३ सय ५३ बढी भौतिक संरचनामा क्षति पुगेको छ । त्यसबाहेक दक्षिण अस्ट्रेलिया, भिक्टोरिया, क्विन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया, तास्मानियालगायत राज्यमा समेत घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।


गर्मीयाम सुरु भएदेखि तापक्रम बढ्ने क्रममा निरन्तरता आएपछि डढेलो नियन्त्रणमा आउनुको साटो झन् फैलिएको छ । डढेलो अनियन्त्रित बन्दै गएपछि उच्च गर्मीको समयमा झन् ठूलो विपद आउन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

अस्ट्रेलियामा करिब १ सय ५० वर्षदेखि डढेलोले दुःख दिँदै आएको छ । तर पनि यस वर्षको आगलागी अन्य वर्षहरुको भन्दा फरक र डरलाग्दो भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हाल डढेलो नियन्त्रणका लागि विभिन्न राज्यमा हजारौं अग्नि नियन्त्रक खटिएका भए पनि उनीहरुको प्रयास विफल देखिएको छ ।


सरकारी तथ्यांकअनुसार अस्ट्रेलियामा १ सय ३४ मिलियन हेक्टर जंगल छ, त्यसमध्ये करिब २ मिलियन हेक्टर व्यावसायिक रूपमा लगाइएको जंगल हो । सरकारको जियोसाइन्स विभागका अनुसार ढडेलो फैलन त्यस्तो जंगलले सहयोग पुर्‍याउने गरेको छ ।

त्यसबाहेक मानवीय लापरबाहीका कारण ढडेलो फैलिने गरेको छ । रूखबाट झरेका पात, हाँगा र सुकेका रुखले डढलो थप फैलिने गरेको छ । त्यसैगरी, तीव्र गतिको हावाले सल्केको आगोलाई थप फैल्याउने गरेको छ ।

खडेरी तथा सुक्खा, बढ्दो तापक्रमसमेत आगालागी फैलिन सहयोग पुर्‍याउने गरेको छ । भिरालो क्षेत्रका आगलागी छिटो फैलिने तथा अग्नि नियन्त्रकलाई नियन्त्रणमा लिन गाह्रो हुने भएकाले समेत समयमै डढेलो निभाउन नसकिएको हो । अत्यधिक गर्मी, सुक्खा मौसम आगलागीका मुख्य कारण हुन् । बीबीसीका अनुसार अस्ट्रेलियाको तापक्रम करिब १ सय वर्षको अवधिमा १ डिग्री सेल्सियसले बढिसकेको छ भने दुई साताअघि अहिलेसम्मकै औसत तापक्रम ४१.९ डिग्री मापन गरिएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।


वैज्ञानिकहरुले डढेलोका कारण उत्पन्न कार्बनडाइअक्साइडलाई पूर्णरूपमा ग्रहण गर्न यहाँका जंगल असमर्थ हुन सक्नेतर्फ सचेत गराएका छन् । त्यसैगरी, उनीहरुले लगातारको आगलागीका कारण यहाँ सुक्खा अझ बढ्न सक्नेतर्फ समेत चिन्ता व्यक्त गरेका छन् ।

युनिभर्सिटी अफ तास्मानियाको फायर सेन्टरका निर्देशक डेभिड ब्राउनले भौगोलिक अवस्था र सबै डढेलो प्रायः एकै समयमा लाग्नुले आगलागी अभुतपूर्व भएको बताएका छन् । उनले आगलागीका कारण जनजीवन प्रभावित त छ नै मुख्य कुरा यसबाट सृजना हुन सक्ने र भइरहेको समस्यालाई स्विकार्नुपर्ने जनाएका छन् ।


अस्ट्रेलियामा अनियन्त्रित भइरहेको डढेलोको मुख्य कारण जलवायु परिवर्तन भएको चर्चा चलिरहेको समयमा अस्ट्रेलियाली सरकारले समेत यसलाई स्वीकार गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले जलवायु परिवर्तनले डढेलो लाग्नुमा केही भूमिका खेलेको भए पनि पूर्णरूपमा जलवायु परिवर्तन नै जिम्मेवार भने नभएको बताएका छन् । तर विपक्षी दल लेबरका नेता एन्थोनी अल्बानिजले भने सरकारले जिम्मेवार भएर जलवायु परिवर्तनको नीति ल्याउन नसकेको बताएका छन् । यता जलवायु परिवर्तनलाई कम प्रभावकारी नीति ल्याउनुपर्ने भन्दै समयसमयमा प्रदर्शनसमेत भइरहेका छन् ।

अस्ट्रेलियास्थित वातावरणीय संस्था ‘क्याइमेट काउन्सिल’ ले एक महिनाअघि सार्वजनिक गरेको एक अध्ययनमा जलवायु परिवर्तन अहिले भइरहेको डढेलोको कारण भएको जनाएको छ । उसले अस्ट्रेलियाको डढेलोको खतरालाई यहाँको खडेरी, अत्यन्तै सुक्खा माटो र अत्यधिक बढी तापक्रमले प्रोत्साहित गरेको जनाएको छ । काउन्सिलले पानी पर्ने क्रम न्यून भएको, वनस्पतिहरु अत्यन्तै सुक्खा भएको, खडेरी परेकोलगायतका घटनाहरुले डढेलोलाई प्रोत्साहित गरेको उल्लेख गरेको छ ।


ठूला आगलागी र क्षति

अस्ट्रेलियाले सन् १८५१ देखि नै डढेलोका कारण ज्यान गुमाउनुपरेको तथ्यांक छ । उपलब्ध तथ्यांकअनुसार डढेलोका कारण धनजनको क्षति मुख्य गरेर डिसेम्बरदेखि फेब्रुअरी महिनामा भएका छन् । यसैका कारण अस्ट्रेलियाले हरेक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नुपरिरहेको छ । अस्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा डरलाग्दो आगलागीको घटनालाई ‘ब्ल्याक स्याटर्डे’ को नामले चिनिन्छ । २००९ को ७ फेब्रुअरीदेखि १४ मार्चमा फैलिएको आगलागीमा १ सय ७३ जनाले ज्यान गुमाएका थिए भने ४ सय बढी घाइते भएका थिए । जसमा २ हजार बढी घर जलेर नष्ट भएका थिए । सोही संख्यामा अन्य भौतिक संरचना क्षतिग्रस्त बने ।


अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार विश्वमा अहिलेसम्मका ५ भयानक डढेलो यस्ता थिए ।

१. द मिरामिची फायर : सन् १८२५ मा क्यानाडाको न्यु ब्रन्सविकमा लागेको आगलागीमा परेर १ सय ६० जनाले ज्यान गुमाएका थिए भने ३० लाख हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो । उक्त आगलागीमा परी १५ हजार सर्वसाधारण घरवारविहीन बनेका थिए । यस आगलागीमा परी न्यु ब्रन्सविक क्षेत्रको करिब २० प्रतिशत जंगल जलेको थियो ।


२. द पेस्टिगो फायर : यस डढेलाले अमेरिकाको विस्किन्सिन र मिचिगन क्षेत्रको करिब ३७ लाख हेक्टर जमिनमा क्षति पुर्‍याएको थियो भने आगलागीमा परी १ हजार ५ सय जनाले ज्यान गुमाएका थिए । सन् १८७१ मा लागेको यस आगलागीले हजारौं सर्वसाधारणलाई घरवारविहीन बनाएको थियो ।

३. ब्ल्याक फ्राइडे बुस फायर : अस्ट्रेलियोको भिक्टोरियामा सन् १९३८ को डिसेम्बर र १९३९ को जनवरीसम्म लागेको डढेलोमा परी ७१ जनाले ज्यान गुमाएका थिए । यस घटनालाई अस्ट्रेलियामा ‘ब्ल्याक फ्राइडे बुस फायर’ ले जानिन्छ । यस आगलागीमा ३ हजार ७ सय भौतिक संरचना तथा घरहरु क्षतिग्रस्त बनेका थिए भने करिब ५० लाख हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो ।


४. ग्रिक फेरस्ट फायर : सन् २००७ मा ग्रिकमा करिब ३ महिनासम्म लागेको आगलागीले ८४ जनाको ज्यान लिएको थियो भने ६ लाख ७० हजार हेक्टर क्षेत्रफललाई क्षति पुर्‍याएको थियो । यो आगलागी जुनदेखि सेप्टेम्बरसम्म लागेको थियो ।

५. ब्ल्याक स्याटर्डे बुस फायर : अस्ट्रेलियाको इतिहासमै अहिलेसम्मको खराब डढेलोको नामले चिनिने यो आगलागीमा परी १ सय ७३ जनाले ज्यान गुमाएका थिए । सन् २००९ को फेब्रुअरीदेखि मार्चसम्म करिब १ महिना लागेको यस आगलागीले ४ लाख ५० हजार क्षेत्रफलमा क्षति पुगेको थियो । २ हजार बढी घर जलेर नष्ट भएका थिए भने करिब सोही संख्यामा भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित : पुस ११, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?