१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विवादमा तानिए भारतीय सेना प्रमुख

हिंसा र आगजनीका लागि नेताले उक्साएको दाबी

नयाँदिल्ली — भारतका भावी ‘चिफ अफ डिफेन्स स्टाफ’ का रूपमा हेरिएका सेना प्रमुख विपिन रावत राजनीतिक अभिव्यक्तिका कारण फेरि विवादमा तानिएका छन् ।

विवादमा तानिए भारतीय सेना प्रमुख

यही डिसेम्बर ३१ मा अवकाश पाउन लागेका रावत बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रमा विवादास्पद नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) का सम्बन्धमा गरेको टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनको पछिल्लो टिप्पणी पदीय मर्यादाको खिलाफमा भएको भन्दै सार्वजनिक रूपमा आलोचना भएको छ ।

रावतले बिहीबार ‘नागरिकता संशोधन ऐन र एआरसीलाई लिएर भइरहेको देशव्यापी विरोध प्रदर्शनप्रति संकेत गर्दै आगजनी र हिंसा फैलाउने भीडको नेतृत्व गर्ने नेता हुन नसक्ने’ बताएका हुन् । ‘जनतालाई सही बाटोमा डोर्‍याउने मात्र नेता हुन् । गलत बाटोमा डोर्‍याउने नेता होइनन्, जुन विश्वविद्यालय र कलेजका विद्यार्थीलाई हेर्दा देखिन्छ । जुन तरिकाले भीडलाई उनीहरुले सहर र गाउँमा हिंसा र आगजनीका गर्न उक्साएका छन् त्यो नेतृत्व होइन,’ रावतले भनेका छन् ।


रावतको भनाइ नागरिकता संशोधन ऐन र एनआरसीको विरोधमा विगत तीन सातादेखि देशव्यापी रूपमा भइरहेको प्रदर्शनप्रति लक्षित रहेको थियो ।

प्रदर्शनका क्रममा हालसम्म २५ भन्दा बढीको ज्यान गइसकेको छ भने ठूलो मात्रामा सार्वजनिक सम्पत्तिको क्षति भएको छ । खासगरी, उत्तरप्रदेशमा गत शनिबार र आइतबार भएको प्रदर्शनमा चर्को हिंसा भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती दुई दिनमा प्रदर्शकारी र प्रहरीबीचको भिडन्तमा उत्तरप्रदेशमा मात्र २० भन्दा बढीको मृत्यु भएको छ ।

आन्दोलनकारी र विपक्षी दलले प्रहरीमाथि अमानवीय ढंगले प्रदर्शनकारी र सर्वसाधारणमाथि कारबाही गरेको समेत आरोप लगाएका छन् । तर, सरकारी पक्षले भने प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको र प्रदर्शनकारीले कानुन हात लिएर हिंसाजन्य कार्य गरेको आरोप लगाएको छ ।


आफ्नो सार्वजनिक अभिव्यक्तिका कारण रावत विवादमा आएको यो पहिलो घटना भने होइन । आफ्नो तीनवर्षे कार्यकालमा बेलाबखत राजनीतिक र अन्य विवादित अभिव्यक्तिका कारण रावतले सार्वजनिक आलोचना खेप्नुपरेको थियो ।

एक वर्षअघि महिलाहरु सेनामा फौजी भूमिकाका लागि योग्य नभएको टिप्पणी गरेपछि रावतको सार्वजनिक सञ्जालमा चर्को आलोचना भएको थियो । एक टेलिभिजन अन्तरवार्तामा रावतले सेनाहरु प्रायः साना गाउँहरुबाट आउने गरेको र उनीहरुले महिलालाई आफ्नो कमान्डर मान्न नसक्ने बताएका थिए ।

साथै उनले यदि लडाइँमा महिला सैनिक मारिएको खण्डमा भारतीय समाजले अझै पनि लडाइँको क्षेत्रबाट महिलाहरुको शव फर्केको दृश्यलाई सामान्य रूपमा लिन नसक्ने बताएका थिए । रावतको उक्त टिप्पणीलाई लैंगिक विभेदको संज्ञा दिएर सामाजिक सञ्जालमा चर्को विरोध गरिएको थियो ।

प्रकाशित : पुस १०, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?