कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुटिनलाई प्रश्न सोध्दा पत्रकारको जागिर गुम्यो

एजेन्सीहरू

मस्को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको १५ औं वार्षिक पत्रकार सम्मेलनमा प्रश्न सोधेको भन्दै एक जना सञ्चारकर्मीले जागिरबाटै बाहिरिनुपरेको छ । यामल क्षेत्रको एक सरकारी टीभी च्यानलमा कार्यरत अलिसा यारोभस्कायले जागिर छाड्नुपरेको बीबीसीले जनाएको छ । यसबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । उत्तर–पश्चिम साइबेरियाको आर्कटिक यामल क्षेत्रमा अधिकारीहरूले राष्ट्रपति पुटिनलाई अलिसाले प्रश्न सोधेकोमा खुसी नभएको त्यहाँबाट प्राप्त समाचारहरूमा उल्लेख छन् । 

पुटिनलाई प्रश्न सोध्दा पत्रकारको जागिर गुम्यो

राष्ट्रपति पुटिनलाई पत्रकार सम्मेलनमा प्रश्न सोधेको भोलिपल्टै अलिसाले जागिरबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामाको कारण भने ‘व्यक्तिगत’ भएको भनेकी छन् । तर, रूसका वेबसाइटहरूले पत्रकार अलिसालाई राजीनामा दिन बाध्य पारिएको उल्लेख गरेका छन् । रूसी पत्रकारमाथि अधिकारीहरू कुन रूपमा प्रस्तुत हुने गर्छन्, यो घटनाले त्यसको पुष्टि गरेको छ ।


गत १९ डिसेम्बरमा लगभग तीन घन्टासम्म चलेको पुटिनको वार्षिक प्रेस कन्फरेन्समा यमल क्षेत्रका पत्रकारलाई पनि माइक्रोफोन हस्तान्तरण गरिएको थियो । अलिसाले ओभरटेक गरी माइक्रोफोन लिएको आरोप लागेको छ । उक्त माइक्रोफोन पुटिनका प्रवक्ता दमित्री पेस्कोभले अर्कै पत्रकारलाई दिन खोजेका थिए । पेस्कोभले पत्रकार सम्मेलनमा बोल्नका लागि यमल क्षेत्रका अर्का टीभी पत्रकारलाई छनोट गरेका थिए । तर माइक्रोफोन अलिसाले लिएकी थिइन् । उनले आफ्नो क्षेत्रमा ग्लोबल वार्मिङको प्रभावबारे बोलेकी थिइन् । अलिसाले आर्कटिक समुद्री मार्ग पग्लिरहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘रेलसहित स्थानीय आधारभूत संरचना निर्माण भइरहेको छ तर ओ नदीमाथिको पुल निर्माण किन रोकियो ? जब कि यो पुलले दुई सहरहरू सेलखार्ड र लाब्तनाङ्गीलाई जोड्नका लागि महत्त्वपूर्ण छ ।’


अलिसाले राष्ट्रपतिलाई सुनाइन्, ‘हाम्रो गभर्नर दमित्री आक्रियोखोभले यसबारे खासै चासो देखाएर स्थानीयको सपनालाई वास्तविकतामा परिवर्तन गर्न कुनै प्रयास गर्नुभएन । संघीय स्तरमा पनि यो योजनाले कमै चर्चा पाएको सुनेका छौं । त्यसैले प्रश्न यो छ कि के संघीय स्तरबाट यसमा केही पहल गर्न सकिन्छ ?’ यसको जवाफमा राष्ट्रपति पुटिनले भनेका थिए, ‘चेरी–पिकिङ एउटा विशेष परियोजना संघीय सरकारका लागि अयोग्य थियो । तर पनि मैले ओब पुललाई यो क्षेत्रको परिवहनका लागि आधारभूत संचरनाको एउटा महत्त्वपूर्ण कडीको रूपमा मैले लिएको छु किनभने आर्कटिक बन्दरगाहहरूलाई खोल्न यो एउटा महत्त्वपूर्ण पहल थियो जसलाई कार्गो सिपिङमा वृद्धिका लागि सिक्रोनाइज्ड गर्नु थियो ।’ उनले यसबारे सरकारलाई जानकारी भएकाले आफूले त्यसमा ध्यान दिने बताएका थिए ।


‘युरा डट रु’ वेबसाइटका अनुसार यामल–नेनेट्स जिल्लाका वरिष्ठ अधिकारीहरू पत्रकार अलिसाको हस्तक्षेपबाट खुसी थिएनन् । उनको यो कदमबाट टीभी च्यानल पनि रिसाएका थिए । ‘उसले आफूभन्दा टाढा रहेको एक सहयोगीबाट माइक्रोफोन लिनु नै समस्याको जड थियो,’ एक रिपोर्टमा उल्लेख छ । स्थानीय प्रशासनले सञ्चालन गरेको टीभीमा काम गर्ने तर गभर्नरको प्रशंसा गर्नुको साटो अर्कै विषय रेल लिंकबारे जिज्ञासा राखेकोप्रति पनि अधिकारीहरू रुष्ट रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै ‘उरा डट रु’ ले जनाएको छ । यसो त पत्रकारहरूका लागि प्रेस कन्फरेन्स सधैं एउटा संर्घष (स्क्र्याम्बल) जस्तै हो । बीबीसीका स्टिभ रोसेन्बर्गले पनि अलिसाजस्तै गरेका थिए । एक कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग प्रश्न सोध्ने क्रममा उनले उस्तै व्यवहार प्रदर्शन गरेका थिए ।


अलिसाले विभिन्न रूसी आउटलेट्ससँग भनेकी छन्, ‘मैले काम गर्ने च्यानलले मलाई निकाल्नुअघि नै राजीनामा सुम्पेकी हुँ । तर म भन्दिनँ कि यो पुटिनलाई प्रश्न सोध्नुसँग सम्बन्धित छ ।’ एक अर्को रिपोर्टमा यो घटनालाई फेसबुक पोस्टसँग जोडेर पुष्टि गर्न खोजिएको छ । जसमा उनले कथित रूपमा पुटिनको उपस्थितिबारे प्रेस कन्फरेन्सका क्रममा लिएको तस्बिरमा केही क्याप्सन लेलेर आफ्नो जागिरको अनिश्चिताबारे लेखेकी थिइन् । पछि त्यो स्टाटस् हटाइएको थियो । त्यसपछि उनले भनेकी थिइन्, ‘आफ्नो उक्त टिप्पणीलाई सत्य सावित गर्न सकिन्न किनभने त्यो पोस्ट हटाइएको छ ।’ उनी राज्यका कठोर अधिकारीहरूबाट डराएको स्पष्ट छ ।


‘इजभेस्टिया’ बेबसाईटले पुटिनको प्रवक्तालाई मंगलबार उद्धृत गर्दै लेखेको छ, ‘उनी यही कारणले बाहिरिने सम्बन्धमा आफूहरूलाई जानकारी थिएन, उनले राजीनामा दिएकी हुन या च्यानलको सम्पादकले उनलाई बर्खास्त गरेका हुन् त्यसबारे पनि आफूलाई थाहा छैन ।’

प्रकाशित : पुस १०, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?