'देशमा आगो बल्दा किन बोल्दैनन् तीन खान ?'

रोयटर्स

नयाँ दिल्ली — बलिउडका एक प्रमुख निर्देशकले भारतभरी नागरिकता कानुनलाई लिएर प्रदर्शन र हिंसा भइरहेका बेला बलिउडका तीन प्रमुख सुपरस्टार मौन बसेको भन्दै आलोचना गरेका छन् ।

'देशमा आगो बल्दा किन बोल्दैनन् तीन खान ?'

पछिल्लो समय दलितका विषयमा 'आर्टिकल १५' र अल्पसंख्यक मुलसमानका विषयमा 'मुल्क' बनाएका निर्देशक अनुभव सिन्हाले सुपरस्टारहरु शाहरुख, सलमान र आमिर यस विषयमा चुप लागेकोमा आश्चर्य प्रकट गरेका हुन् ।

'नागरिकता कानुनले देशभर हिंसा भड्किएको छ । दंगाको जस्तो स्थिति सृजना भएको छ । करोडौं फ्यान भएका स्टारले देशको यस्तो अवस्थाबारे बोल्नु पर्दैन ? आफ्ना फ्यानलाई संवोधन गर्नु पर्दैन ?' उनले भनेका छन्, 'हामी अरु सबैले बोल्नु एउटा कुरा तीन खानको कुरा बेग्लै हुन्छ । उनीहरुको फ्यान फलोइङ निकै ठूलो छ । त्यसैले उनीहरुको एक एक शब्दको महत्व छ ।'

बलिउडका सबभन्दा प्रभावशाली मानिएका यी तीनै सुपरस्टार मुलसमान धर्मावलम्बी हुन् । भारतभरी २१ जनाको ज्यान जानेगरी भएको हिंसा र प्रदर्शनबारे उनीहरु अहिलेसम्म मौन छन् । जबकि यो आन्दोलन नै अल्पसंख्यक मुसलमानलाई नागरिकता संशोधन कानुनमा सरकारले विभेद गरेको भनेर भइरहेको छ । यसका साथै सरकारले केही क्षेत्रमा ल्याएको नागरिकताको पुर्नपुष्टि गर्नुपर्ने नियमलाई लिएर पनि ठूलो विरोध भएको छ । खासगरी यो कानुन पूर्वोत्तर भारतमा लागु हुनेछ । यसको विरोधमा असममा ठूलो प्रदर्शन र हिंसा भएपछि कर्फ्यू समेत लगाइएको थियो।

सिन्हा प्रधानमन्त्री मोदीका आलोचक हुन् । उनले शाहरुख खानले निर्माण तथा अभिनय गरेको फिल्म 'रा.वन' को निर्देशन गरेका थिए। उनले रोयटर्सलाई भने, 'उनीहरुको मत मैसँग मिल्नुपर्छ भन्ने छैन । फरक हुन पनि सक्छ । जे भए पनि कम्तिमा बोल न ।' रोयटर्सले सम्पर्क गर्दा तीनै खान स्टारले प्रतिक्रिया दिन मानेनन् ।

बलिउडका केही जानकारहरु उनीहरुको मौनतामा हलिउडभन्दा भारतमा फरक सांस्कृतिक नियमहरुलाई कारक मान्दछन् । हलिउडका ठूला स्टारहरु प्राय: राजनीतिक विषयमा टिप्पणी गर्न र सरकारको आलोचना गर्न अग्रसर हुन्छन् । उनीहरु मुखर रुपमा आफ्ना कुरा राख्छन् ।

'अमेरिकामा राष्ट्रपति ट्रम्पले आफ्नो आलोचना गर्ने कलाकारविरुद्ध राज्य संयन्त्र प्रयोग गर्न सक्दैनन् । भारतमा यस्तो खतरा निकै ज्यादा हुन्छ,' पत्रकार एवं फिल्म समीक्षक राजीव मसन्दले भने । प्रधानमन्त्री मोदी बलिउड र फिल्म स्टारहरुसँग राम्रो सम्बन्ध बनाइराख्छन् । ठूला समारोहहरुमा उनी स्टारहरुसँग उपस्थित हुन्छन् भने बेला बेला जमघटमा उनीहरुलाई निम्त्याउँछन् पनि । आलोचकहरु भन्छन्- यसको बदलामा बलिउडले पनि उनको गुणगान गाउने र उनका राजनीतिक एजेन्डाको प्रचार हुनेगरी फिल्म बनाउने गरेको छ । यस वर्षमात्रै बलिउडमा मोदीको चरित्रलाई मूख्य पात्र लिएर तीन फिल्म बने, जसमध्ये एउटाको नाम 'पिएम नरेन्द्र मोदी' थियो।

दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीहरुले खासगरी शाहरुख खानको मौनतामा घोर आश्चर्य प्रकट गरेका छन् । उनीहरुले यसलाई घातजस्तै ठानेका छन् । शाहरुख कुनै बेला यहाँका विद्यार्थी थिए । नागरिकता कानुनको विरोधमा जामियाका विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेपछि हिंसा भड्किएको थियो । 'शाहरुख पनि यसरी चुप बस्नु हाम्रा लागि असह्य छ,' जामियामा साहित्य पढिरहेकी जोया नदिम आज्मीले भनिन् ।

प्रकाशित : पुस ८, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?