१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दिल्लीमा फेरि आगलागी, नौजनाको मृत्यु

नयाँदिल्ली — भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । उत्तरपूर्वी दिल्लीको किरारी क्षेत्रमा रहेको तीन तले भवनको भुँइतलामा रहेको कपडा गोदाममा आइतबार राति करीब साढे बाह्र बजे आगो सल्केको थियो ।

दिल्लीमा फेरि आगलागी, नौजनाको मृत्यु

आगलागीमा दशजनाभन्दा बढी घाइते भएका छन् । आगलागी भएको भवनमा सुरक्षाको प्रबन्ध अत्यन्त कमजोर रहेको र एउटा मात्रै साँघुरो भर्‍याङ रहेको बताइएको छ । मृत्यु हुनेमा एउटै परिवारका सदस्यहरु रहेको बताइएको छ । आगलागी खाना पकाउने ग्यास सिलिण्डर पड्केर भएको प्रारम्भिक अनुमान छ ।


दुई साताभित्रै नयाँदिल्लीमा आगलागीको यो दोस्रो घटना हो । यसअघि ८ डिसेम्बरमा दिल्लीकै रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजारमा रहेको एउटा झोला र खेलौना कारखाना रहेको भवनमा बिजुलीको तार सट भएर आगालागी हुँदा ४३ जनाको ज्यान गएको थियो भने १५ भन्दा बढी घाइते भएका थिए । दिल्लीको अति नै व्यस्त बजारको साँघुरो गल्लीमा रहेको चारतले भवनमा पनि सुरक्षाका कुनै पनि प्रबन्ध थिएन ।


दिल्लीमा आगलागी घटना बढ्दै गएपछि भवनहरुको सुरक्षा प्रबन्धलाई लिएर प्रश्न उठ्न थालेको छ । आइतबार राति आगलागी भएको भवनले पनि सुरक्षा मापदण्ड पुरा नगरेको आशंका गरिएको छ ।


प्रकाशित : पुस ७, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?