कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

लन्डनमा छुरा प्रहारका घटना बढे

नवीन पोखरेल

लन्डन — पछिल्ला दिनमा बेलायतको राजधानी लन्डनमा छुरा प्रहारका घटनामा निकै वृद्धि भएको छ । गत शनिबार न्युहाममा छुरा प्रहारबाट २९ वर्षीय एक युवाको मृत्यु भएको थियो ।

उनी ७ दिनयता भएका छुरा प्रहारका घटनामा मारिने ७ औं व्यक्ति हुन् । युवाबीचको झगडाका क्रममा उनी सिल्भर टाउनमा मारिएका थिए । प्रहरीले एक जनालाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको छ ।

द इन्डिपेन्डेन्टका अनुसार सन् २०१९ मा लन्डनमा यो १४६ औं हत्या हो । अधिकारीका अनुसार लन्डनमा सन् २००८ पछि यस वर्ष छुरा प्रहारका घटनामा सबैभन्दा बढी मारिएका हुन् । छुरा प्रहारबाट गत वर्ष १३६ जनाको ज्यान गएको थियो ।

होम अफिसको तथ्यांकअनुसार, सन् २०१८ र ०१९ को अवधिमा बेलायतमा १५ हजार ४ सयवटा आपराधिक आक्रमण भए । छुरा अपराध राजधानीका अन्यत्र सहरभन्दा पूर्वी लन्डनमा बढी भइरहेको पाइएको छ ।

गत बिहीबार करिब चार घण्टाको बीचमा ३ जनाको हत्या त्यही क्षेत्रमा भएको थियो । त्यसबाहेक ब्रेन्ट, डेगेनहाम, क्रोयडन, हन्स्लो, वाल्थमस्टो र बार्नेटमा हत्या भए । लन्डनमा हत्या शृंखला बढिरहँदा लन्डन मेयर सादिक खान भने सन् २०१९ मा लन्डनलाई सुरक्षित बनाएको दाबी गर्छन् । पब्लिक हेल्थजस्ता युवा लक्षित कार्यक्रमले युवाबाट हुने अपराध ३० प्रतिशत कमी भएको लन्डन मेयरको दाबी छ । मेयर प्रश्नोत्तर कार्यक्रममा खानले छुरा अपराध नियन्त्रण आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

लन्डन मेट्रोपोलिटन प्रहरी प्रमुख क्रेसिडा डिकले यस वर्षको सुरुतिर रोकेर खानतलासी गर्ने क्रम बढेपछि अपराध घट्दै गएको दाबी गरे पनि झन् वृद्धि भएको छ । उनले सन् २०१० यता झन्डै २० हजार प्रहरी कटौती गरिएपछि अपराधका घटना बढिरहेको बताएकी थिइन् ।

निवर्तमान प्रधानमन्त्री टेरेजा मे गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसँगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको थियो । सरकारी अधिकारीहरू प्रहरी संख्या कटौती र छुरा प्रहारका घटना वृद्धिबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले आगामी तीन वर्षभित्र २० हजार प्रहरी अधिकृत थपिने र रोकेर खानतलासी गर्ने कार्य थप तीव्र पारिने वाचा गरेका छन् ।

प्रकाशित : पुस ७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?