२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विपक्षीले भ्रमको खेती गरे, नागरिकता कानुन भारतीय मुसलमान विरुद्ध होइन : मोदी

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता कानुनका सम्बन्धमा विपक्षीहरुले भ्रमको खेती गरेको बताएका छन् । नागरिकता ऐनको विरोधमा मुलकभर नै आन्दोलन चर्किएका बेला माेदीले त्यसकाे बचाउ गर्दै विपक्षीले भ्रमकाे खेती गरेकाे बताएका हुन ।

विपक्षीले भ्रमको खेती गरे, नागरिकता कानुन भारतीय मुसलमान विरुद्ध होइन : मोदी

भारतीय जनता पार्टी (भाजपा) को मूल नारा नै 'सबका साथ सबका विकास' भएको भन्दै मोदीले कसैलाई पनि विभेद नगरेको दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित रामलिला मैदानमा आइतबार पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै मोदीले नगरिकता कानुन र राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को विरोधमा मुस्लिम समुदाय आन्दोलित भएको तर्फ संकेत गर्दै भारतीय मुसलमानहरुलाई चिन्ता नगर्न आग्रह गरे ।


‘नागरिकता कानुन र एनआरसी भारतका मुसलमानहरु विरुद्ध लक्षित होइन । यो ठाडो झूट हो,’ मोदीले भने ।

नागरिकता संशोधन ऐनविरुद्ध भारतमा विगत दुई सातादेखि जारी आन्दोलनमा २० जनाको ज्यान गइसकेको छ । सयौं गिरफ्तार भएका छन् । प्रदर्शनका क्रममा ठूलो मात्रामा सार्वजनिक सम्पत्तीमा क्षति पुगेको छ । विवादित नागरिकता संशोधन ऐनको विरुद्धमा पूर्वोत्तर भारतको आसाम र त्रिपुराबाट दुई साताअघि शुरु भएको आन्दोलन देशव्यापी बन्दै गएपछि विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भएका छन् ।

नागरिकता ऐनको विरुद्ध विपक्षी दलहरुले भ्रम सिर्जना गरेर भोटको राजनीति गरेको आरोप मोदीको छ । नागरिकता कानुन विगत कैयौं वर्षदेखि भारतमा बस्दै आएका शरणार्थीहरुका लागि मात्र लागू हुने र नयाँ शरणार्थीले यसबाट लाभ नपाउने मोदीको भनाई छ । कसैको पनि नागरिकता नगुम्ने प्रतिबद्धता मोदीले व्यक्त गरे ।


‘दिल्लीको जनतालेभन्दा बढी शरणार्थीको पीडा कसले बढी बुझ्न सक्छ । नागरिकता कानुनले यथार्थमा पाकिस्तान, अफगानिस्तान र बंग्लादेशबाट धार्मिक आस्थाका कारण प्रताडित अल्पसंख्यकहरुलाई नागरिकता दिन बाटो खोलेको छ,’ मोदीले भने ।

मोदीले शरणार्थी र अवैध प्रवासीबीच आधारभूत भिन्नता रहेको बताए । ‘शरणार्थीले आफूलाई आस्थाका कारणले देश छाड्नु परेको बताउँछ । जबकी अवैध प्रवासीहरुले त्यो बताउँदैन,’ मोदीले भने ।


विरोधीहरुले नियत बस यसलाई मिसाएको दावी मोदीको छ । उनले हातमा तिरगां (भारतको झण्डा) लिनेहरुले शान्ति बहालीका लागि हिंसात्मक प्रदर्शहरुकारीको विरोधमा आवाज उठाउने विश्वास व्यक्त गरे ।

मोदीले महात्मा गान्धीले नै पाकिस्तान छाडेर आउने शिख र हिन्दुलाई भारतमा जहिले पनि स्वागत गरिने भनेको र पछिल्लो कानुन पनि सन् १९४७ मा तत्कालिन भारत सरकारले गरेको वाचा अनुरुप भएको बताए । ‘हामीहरुले दशकौं लामो वाचालाई पुरा गरिरहेका छौं, किन उनीहरु यसको विरोध गरिरहेका छन् ?’ मोदीले भने ।


मोदीले नागरिकता कानुन र एनआरसीको विषयमा विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको भ्रम सिर्जना गरेको आरोप समेत लगाए । ‘कांग्रेस र उनका सहरी नक्सली साथीहरुले मुसलमानहरुलाई बन्दीगृहमा राखिने भनेर भ्रम फैलाएका छन् । आफ्नो शिक्षाको सम्मान गर्नुस, नागरिकता कानुन र एनआरसीमा के लेखेको छ त्यो पढ्नुस,’ मोदीले भने । एनआरसी कांग्रेसकै पालामा आएको मोदीको भनाई छ ।

केही राज्यका मुख्यमन्त्रीहरुले संशोधित नागरिकता कानुन लागू नगर्ने भनेकोमा मोदीले आश्चर्य व्यक्त गरेका छन् । नागकिरता कानुनलाई लिएर आन्दोलन चर्किँदै गए पछि पश्चिम बंगाल, उडिसा, केरलालगायतका एक दर्जनभन्दा बढी राज्यका मुख्यमन्त्रीहरुले आफ्ना राज्यमा नागरिकता ऐन र एनआरसी लागू नगर्ने घोषणा गरेका थिए । ‘एउटै झण्डा, एउटै राष्ट्रिय गान अनि त्यस्तो अभिव्यक्ति दिन मिल्छ । कम्तीमा पनि कानुनका जानकारहरुलाई सोध्नुस् के त्यसो गर्न सम्भव छ ?’ मोदीको भनाई थियो ।

केहीले कानुन गरिबको विरुद्ध भन्ने किसिमको समेत भ्रम छरेकोमा समेत आश्चर्य लागेको मोदीले बताए । ‘भारतका १३० करोड जनतालाई नागरिकता कानुनसँग कुनै सम्बन्ध छैन । एनआरसीका सम्बन्धमा पनि त्यस्तै भ्रम सिर्जना गरिएको छ,’ मोदीले भने ।


उनले कांग्रेसलगायतका विपक्षीहरुमाथि देशका जनताले अस्विकृत गरेपछि अब केही नपाएर पुरानै विभाजन गर र शासन गर भन्ने उपायहरु खोज्न थालेको आरोप लगाए ।


प्रकाशित : पुस ६, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?