कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा हिंसात्मक प्रदर्शन : १७ मारिए

एजेन्सी

नयाँ दिल्ली — नागरिकता संशोधन कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा शुक्रबार भारतको उत्तर प्रदेशमा ९ जना नागरिकको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतमा हिंसात्मक प्रदर्शन : १७ मारिए

उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहका अनुसार मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने छ । उनका अनुसार उत्तर प्रदेशका विभिन्न स्थानबाट २१८ जनालाई गिरफ्तार गरिएको छ ।

शुक्रबार भएको प्रदर्शनमा मेरठमा तीन जना र बिजनोरमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै वाराणसीमा, फिरोजाबाद, सम्भल र कानपुरमा एक-एक जनाको ज्यान गएको छ ।

त्यस्तै बिहीबार कर्नाटकको मेंग्लोरमा तीन जनाको ज्यान गएको थियो । त्यस्तै गएको हप्ता असममा ५ जना प्रदर्शनकारीको ज्यान गएको थियो ।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले विवादित नागरिकता संशोधन कानुन बनाएपछि भएका विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १७ जनाले ज्यान गुमाएका छन् ।

नागरिकता संशोधन कानुनको विरोधमा विगत दुई सातादेखि भारतभरि प्रदर्शन भइरहेको छ । पूर्वोत्तर भारतको असम र त्रिपुराबाट सुरु भएको उक्त आन्दोलन अहिले देशव्यापी बनेको छ । यसबीच पक्राउ पर्नेको संख्या हजारौं पुगेको छ ।

सरकारले प्रदर्शनलाई निस्तेज पार्न निषेधाज्ञा लागू गर्नेदेखि मोबाइल, इन्टरनेट सेवा बन्द गर्नेसम्मका रणनीति अपनाउँदै आएको छ । तर, आन्दोलन मथ्थर हुनुको साटो चर्किंदै गएको देखिन्छ । सुरुमा निश्चित समुदाय र भेगका मानिसहरूले आन्दोलन थालेकामा केही दिनयता विद्यार्थी, राजनीतिज्ञ, कलाकार, अधिकारकर्मी र आम मानिसको समेत त्यसमा उल्लेख्य उपस्थिति देखिँदै छ ।

शनिबार बिहार बन्द

बिहारको मुख्य विपक्षी दल राष्ट्रिय जनता दलले नागरिकता कानुन र एनआरसीको विरोधमा शनिबार बिहार बन्दको आह्वान गरेको छ । राज्यका सबै राजमार्ग बन्द गरिएको छ । रेल्वेको लिकमा समेत बसेर प्रदर्शन भइरहेको छ ।


याे पनि पढ्नुहाेस्

किन चर्किंदै छ भारतमा आन्दोलन ?

प्रकाशित : पुस ५, २०७६ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?