२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

डढेलोको चपेटामा अस्ट्रेलिया, पानी बाँड्दै नेपालीभाषी

सेप्टेम्बरदेखिको अनियन्त्रित डढेलोका कारण हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । ७ सयभन्दा बढी घर जलेर नष्ट भएका छन् भने करिब १६ सय भौतिक संरचनामा क्षति पुगेको छ । 
नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियामा विगत केही महिनादेखि फैलिएको डढेलोका कारण सिड्नी, ब्रिसबनलगायत क्षेत्र निकै प्रभावित भएका छन् । यो साता देशका प्रमुख सहरमा अत्यधिक गर्मी भएको छ । अनियन्त्रित डढेलोसँगैको गर्मी बढेपछि न्यु साउथ वेल्स सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । 

डढेलोको चपेटामा अस्ट्रेलिया, पानी बाँड्दै नेपालीभाषी

दक्षिण अस्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरियालगायत क्षेत्रमा बुधबारयताको तापक्रम ४० डिग्रीभन्दा बढी छ । मौसम विभागको पूर्वानुमानसँगै स्थानीय थप त्रसित बनेका छन् । ती क्षेत्रमा तापक्रम ४४ डिग्रीसम्म पुग्ने मौसम विभागको अनुमानपछि उच्च सतर्कता अपनाइएको सरकारको भनाई छ ।


अस्ट्रेलियाको सिड्नीमा गत सेप्टेम्बरमा सल्केको डढेलोले अहिलेसम्म २७ लाख हेक्टर क्षेत्रमा क्षति पुर्‍याइसकेको छ । केही महिनाअघि ब्राजिलको अमाजन जंगलको डढेलोले भन्दा अस्ट्रेलियाको डढेलोले बढी क्षति पुर्‍याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हाल अस्ट्रेलियाका सिड्नीलगायत क्षेत्रका सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ । यसको नियन्त्रणका लागि भइरहेका सरकारी प्रयास खासै प्रभावकारी देखिएका छैनन ।


अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार अनियन्त्रित डढेलोका कारण हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । ७ सयभन्दा बढी घर जलेर नष्ट भइसकेको छन् भने करिब १६ सय भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि सिड्नीमा मात्र १ हजार ५ सय अग्निनियन्त्रकले अहोरात्र खटेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । विज्ञहरूले गर्मीको सिजनको सुरुवातमै ठूलो क्षति बेहोर्नुपरेकाले अबका दिनमा आउने अत्यधिक गर्मीको तापक्रममा यो क्रम अझ बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।


सरकारले आगलागीको जोखिम तथा त्यसबाट हुन सक्ने वायु प्रदूषण नियन्त्रण गर्ने तयारी गरिरहेको जनाएको छ । यसका साथै केन्द्र तथा राज्य सरकारले समेत आगलागी र अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन् । गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्याप्रति सजग रहन चेतावनीसमेत जारी गरिएको छ ।


विगत केही दिनअघिदेखि सिड्नीको आकाशमा प्रदूषित वायु फैलिएको छ । केही दिनअघि सिड्नीमा वायु न्यूनतम गुणस्तरभन्दा १२ गुणा बढी प्रदूषित रहेको जनाइएको थियो । अस्ट्रेलियाली मौसम विज्ञान विभागका अनुसार उक्त अवस्थमा केही सुधार देखिए पनि प्रदूषण मात्रा अस्वस्थकर नै छ । अत्यधिक वायुप्रदूषणसँगै सिड्नीमा यात्रुका लागि चलाइएको फेरी सेवासमेत केही दिन बन्द गरिएको थियो ।


धुवाँका कारण पर्यटकीय गन्तव्य हार्बर ब्रिज, ओपेरा हाउसलगायतका स्थान तुवाँलोले ढाकेको थियो भने यस अवधिमा पर्यटकको संख्यामा समेत कमी आएको थियो । सिड्नी सहरमा फैलिएको प्रदूषण तथा तुवाँलो तुलनात्मक रूपमा कम भइसकेको भए पनि अझै मानिसको प्रत्यक्ष दैनिकीमा असर पुर्‍याइरहेको छ ।


अस्ट्रेलियाको सिड्नीस्थित ‘रुरल फायर सर्भिस’ ले तापक्रमको वृद्धिसँगै आगलागी हुने उच्च खतरा रहेको उल्लेख गर्दै डढेलोबाट निस्किएको धुवाँले सिड्नीको केही क्षेत्रलाई प्रभावित पार्न सक्ने बताएको छ ।


यसैगरी, आगलागीको जोखिम न्यून गर्न तथा सर्वसाधारणको सुरक्षा गर्न कटिबद्ध र क्रियाशील रहेको सरकारको दाबी छ । तापक्रम उच्च भएका सबै क्षेत्रमा आगलागीको उच्च जोखिम हुने भएकाले खुला आगोको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।


डढेलोकै कारण सिड्नीका केही क्षेत्रका नागरिकलाई सीमित पानी प्रयोग गर्नका लागि बाध्यकारी नियम लगाइएको छ । घरको फूलबारी तथा अन्य क्षेत्रमा पानी हाल्न, गाडी सफा गर्न बिहान १० बजेअघि तथा साँझ ४ बजेपछि मात्र अनुमति दिइएको छ भने पानी प्रयोग गर्नका लागि भाँडाको प्रयोग गर्नुपर्नेछ ।


पानी बाँड्दै नेपालीभाषी

तापक्रम लगातार ४० डिग्रीभन्दा माथि पुगेपछि दक्षिण अस्ट्रेलियास्थित सामाजिक संस्था पुण्य फाउन्डेसनले नि:शुल्क पानीको वितरण गरेको छ ।


संस्थाले यहाँको सालिसबरी, इलिजावेथलगायतका क्षेत्रहरूमा स्वयंसेवीहरूले दिनभरिजसो नै यात्रु तथा सर्वसाधारणलाई पानी बाँडेका हुन् । उनीहरूको यो सामाजिक अभियानमा बिहीबार प्लेफोर्ड काउन्सिलका मेयर ग्लेन डोहर्टी, काउन्सिलरहरू सर्ली हल्स र स्टिभ कपिन्सले समेत सघाएका थिए । ‘हामीले अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको समयमा चिसो पानी उपलब्ध गराएर थोरै मात्रामा भए पनि राहत दिने कोसिस गरेका हौं,’ फाउन्डेसनका काशी अधिकारीले भने ।


अधिकारीका अनुसार दर्जनौं स्वयंसेवीहरूले ३ हजार बढी पानीका बोतल सर्वसाधारणलाई वितरण गरेका थिए । दक्षिण अस्ट्रेलियामा विगत ४ दिनदेखि तापक्रम ४० डिग्रीभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको छ ।


मौसम विज्ञान विभागले बिहीबार यहाँको तापक्रम ४९.९ डिग्रीसम्म पुगेको र शुक्रबार केही क्षेत्रमा तापक्रम ४९ डिग्रीसम्म पुग्ने जनाएको छ । गर्मीकै कारण सडकमा लगाइएको कालोपत्रेसमेत पग्लिएको समाचारमाध्यमहरूले जनाएका छन् ।


प्रकाशित : पुस ५, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?