३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फ्रान्समा १० दिनदेखिको आमहड्तालले जनजीवन कष्टकर

ददी सापकोटा

(पेरिस) — सरकारले प्रस्ताव गरेको वृद्धभत्ता कटौती र निवृत्तिभरणमा असहमति जनाउँदै विभिन्न मजदुर युनियनले गरेको १० दिन लामो आमहड्तालका कारण फ्रान्सको जनजीवन कष्टकर बनेको छ ।

मजदुर युनियनहरूले हड्ताल लम्ब्याउँदै जाँदा बस, रेल र मेट्रो सेवामा ९० प्रतिशतसम्म कटौती गरेका छन् । आमहड्तालका कारण देशका अधिकांस स्थानमा इन्धन तथा अन्य दैनिक उपभोग्य सामानको समेत अभाव देखिएको छ । विश्वमै सबैभन्दा बढी पर्यटक भित्रिने फ्रान्समा पर्यटक विचल्लीमा परेका छन् ।


फ्रान्सबाट युरोपका अन्य मुलुक जाने बस र रेल सेवासमेत बन्द हुँदा फ्रान्स भित्रिसकेका पर्यटक फर्किन पाएका छैनन् । बाहिरबाट फ्रान्स आउने पर्यटकले सबै रद्द गरेका छन् । राजधानी पेरिसलगायत बोर्दो, मासेई, लिल, लियोंलगायत ठूला सहरका हजारौं रेस्टुरेन्ट र होटेल बन्द भएका छन् । पेट्रोल पम्पमा इन्धन सक्किएको छ । सुपरमार्केटमा सामानको अभाव हुन थालेको छ । यातायातको कठिनाइले गर्दा बिरामी अस्पताल जान पाएका छैनन् ।


अस्पतालका बिरामीलाई डिस्चार्ज गर्न गाह्रो परेको छ । यातायातको कठिनाइले गर्दा उद्योग, कलकारखाना बन्द गरिएका छन् ।


क्रिसमस र नयाँ वर्ष आउनै लागेकाले डिसेम्बर सबैभन्दा बढी व्यापार हुने महिना हो तर हड्तालका कारण अहिले पसलहरू खाली छन् । कर्मचारीहरू काममा जान नपाएकाले खुलेका पसल र उद्योगमा पनि कामदारको समस्या छ । सार्वजनिक यातायात बन्द भएकाले निजी सवारी साधनको संख्या बढ्दा घण्टौं सडक जाम हुने गरेको छ ।


‘द लोकल एफ आर’ पत्रिकाका अनुसार हड्तालका कारण सरकारी वायुसेवा कम्पनी एयर फासलाई ३० करोड युरो घाटा पर्ने देखिएको छ । हड्तालको मारले थुप्रै पसल घाटामा गएपछि बन्द भएका छन् भने कपितय व्यापारीले बैंकको कर्जा बुझाउन नसकेको ‘ल पारिजियाँ’ दैनिकले जनाएको छ । प्राविधिक सामग्री बिक्री गर्ने डार्टी सुपरमार्केटलाई मात्रै हडतालका कारण साढे चार करोड युरो घाटा परेको पत्रिकाले जनाएको छ ।



यसैबीच, फ्रान्सका यातायातमन्त्री एलिजावेथ बोर्न, प्रधानमन्त्री फिलिप एडुवार्ड र राष्ट्रपति इम्यानुयल म्याक्रों र मजदुर युनियनबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएका छन् । मजदुर युनियनहरूले सरकारले प्रस्ताव गरेको वृद्धभत्ता र निवृत्तिभरण रद्द गर्नुपर्ने सर्त राखेका छन् । सरकारले भने यसमा एकरूपता ल्याउन खोजेकाले सुधार्नुपर्ने तर्क अगाडि सारेको छ । मजदुर युनियनहरूले यदि यो मुद्दा फिर्ता नलिए जनवरी महिनासम्म हड्ताल लम्ब्याउने चेतावनी दिएका छन् ।

प्रकाशित : मंसिर २९, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?