ट्रम्पलाई महाअभियोग : के हुँदैछ राजनीति ?

निक्सन जसरी ट्रम्पले राजीनामा देलान् ?
दिनेशजंग शाह्

न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगको सामना गर्दैछन् । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्ति (युक्रेन) माथि आफ्ना संभावित चुनावी प्रत्यासी जोन वाईडेनविरुद्ध भष्ट्राचारको छानबिन गर्न दिएको आरोप ट्रम्पमाथि छ । 

ट्रम्पलाई महाअभियोग : के हुँदैछ राजनीति ?

अधिकारको दुरुपयोग र न्यायिक प्रक्रियामा अवरोध गरेको आरोपमा संभवतः राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लाग्ने छ । यद्यपि ट्रम्पमाथि महाअभियोगको चर्चा त उनको चुनावी अभियान ताकादेखि नै शुरु भएको थियो ।


ट्रम्प रिचर्ड निक्सनजस्ता

गैरराजनीतिक पृष्ठभूमिबाट आएका उनको आक्रामक रवैया एवं पदीय मूल्य मान्यताविरुद्धका हर्कत र अभिव्यक्तिहरुले ट्रम्पमाथि महाअभियोगको बादल जहिले पनि मडारिरह्यो । महाअभियोगको यसै प्रसंगका कारण ट्रम्पलाई पूर्व राष्ट्रपति रिचर्ड निक्सनसँग दाँजेर हेर्ने गरिन्छ । ‘वाटरगेट’ काण्डमा महाअभियोगको डरले पहिले नै राजीनामा दिएका निक्सनको झोंकी रवैया ट्रम्पमा देख्नेहरु पनि प्रशस्त छन् । विपक्षीलाई पराजित होईन, नष्ट नै गर्नुपर्छ ‘निक्सन डक्ट्रिन’मा उनीविरुद्ध लाग्ने जो कोहिलाई शत्रुको सुचीमा पर्थे, जुन ट्रम्प शैली पनि हो ।


महिला र मिडियाको सर्न्दभमा पनि निक्सन र ट्रम्पबीच पनि एकरुपता देखिन्छ । सन् १९५० को सिनेट चुनावमा, क्यालिफोर्निया राज्यबाट निर्वाचित हुने क्रममा निक्सनले सार्वजनिकरुपमै डेमोक्रयाटिक पार्टी प्रत्यासी महिला उम्मेदवार हेलेन डगलसको भित्री वस्त्रको बारेमा गरेको टिप्पणी र महिलाका संवेदनशील अङ्ग समात्ने ट्रम्पको ‘हलिउड टेप’ प्रकरण, महिलाप्रतिको एकै मानसिकताबाट निर्देशित थियो भन्ने एकथरिको दावी छ ।


निक्सनले बन्द कोठाभित्र मिडियालाई ‘जनताका दुश्मन’ भन्थ्ये । ट्रम्प सार्वजनिकरुपमै मिडियाको खेदो खन्छन् । यसका बाबजुत निक्सनले भोग्नु परेको महाअभियोगको नियतिभन्दा भिन्न स्थितिमा छन्, ट्रम्प ।


महाअभियोग आयो भने के होला ?

२ सय ३० बर्षअघि अमेरिकी संविधान लेखिँदा शासक वा नेता निरंकुश बन्नसक्ने खतरालाई निस्तेज पार्ने योजनाबाट प्रेरित भएर महाअभियोगको व्यवस्था गरिएको थियो । यो कानुनी पक्ष भए पनि व्यवहारमा चुरो पक्ष भने राजनीतिमै अड्किएको छ ।


ट्रम्पकै सर्न्दभमा, एक पक्षका लागि महाअभियोग कानुनी बिषय हो तर अर्को पक्ष ठान्छ यो राजनीतिक दाउपेच हो ।


यो साताको अन्त्यसम्म ट्रम्प संभवतः दुई सय ४० बर्षको इतिहासमा महाअभियोग लाग्ने तेस्रो बहालवाला अमेरिकी राष्ट्रपति बन्नेछन् । अमेरिकी तल्लो सदन ‘हाउस’ को सामान्य बहुमतले राष्ट्रपतिलाई महाअभियोग लाउने व्यवस्था छ । यद्यपि, यसको अनुमोदन माथिल्लो सदन सिनेटको दई तिहाईले मात्र गर्न सक्छ । अर्थात् पदमुक्तिका लागि सिनेटको दुई तिहाइ बहुमत आवश्यक छ ।

तल्लो सदनमा विपक्षी डेमोक्रयाटको बहुमत भए पनि सिनेट ट्रम्पका लागि अनुकुल छ ।


निक्सन जसरी ट्रम्पले राजीनामा देलान् ?

जिज्ञासा उठ्छ, निक्सन झैं महाअभियोगको लाजले ट्रम्पले राजीनामा देलान् ? अहिलेसम्म महाअभियोग लागेर कोही पनि पदच्युत नभएको पृष्ठभूमिमा, ट्रम्पको बर्हिगमन अहिले असंभव प्रायः नै छभन्दा फरक पर्दैन ।


बिश्लेषकहरु ठान्छन्, निक्सनको पालामा, अहिलेजस्तो राजनीति विभाजित थिएन । राजनीतिमा नैतिक मूल्यमान्यताको बिशेष अर्थ थियो । अहिले त्यस्तो छैन ।


सन् १९७३ मा जब निक्सनमाथि महाअभियोगबारे कंग्रेसमा तयारी चल्दै थियो, लन्डन न्युजपेपरको एउटा समाचारमा लेखियो, ‘१७८९ मा जर्ज वासिङ्टटनले कहिलै असत्य बोल्ने छैन भनेर सपथ लिएको पद, अहिले सधै सत्य नबोल्ने पदमा रुपान्तरित भएको छ ।’


कुन राष्ट्रपतिलाई लागेको थियो यसअघि महाअभियोग ?

यसअघि दुई राष्ट्रपतिले महाअभियोग सामाना गरेका थिए । अब्राहम लिंकनको हत्यापछि उनका उत्तराधिकारी बनेका राष्ट्रपति एन्ड्रयु जोन्हसनलाई लिंकनको पथमा हिँड्न नसकेको, रंगभेदी नीति निर्मुल अर्न्तगत पुर्ननिमार्णलाई वेवास्ता गरेको अभियोगमा तल्लो सदनले महाअभियोग लगाएको थियो । उनी थोरै मतले मात्र सिनेटमा जोगिएका थिए ।


दोस्रो महाअभियोग बिल क्लिन्टनमाथि प्रशिक्षार्थी कर्मचारी मोनिका लेवेन्स्की माथिको यौनकाण्डमा झुट बोलेको आरोपमा लागेको थयो । तल्लो सदनले सन् १९९८ मा क्लिन्टनलाई महाअभियोग लगायो ।

लगातार सात महिनासम्म, उनले यौन सम्बन्धबारे ढाँटिरहे । यद्यपि निक्सनजस्तो, लाजका खातिर क्लिन्टनले राजीनामा दिएनन् । माथिल्लो सदनले उनलाई चोख्यायो ।


रिपब्लिकनको हकमा महाअभियोग कानुनी पक्षबाट निर्देशित थियो तर डेमोक्रयाट्हरुले यो राजनीतिक खेल भन्दै क्लिन्टनको रक्षा गरे । निक्सन बाहिरिए तर क्लिन्टन जोगिए । किन ? जानकारहरुका अनुसार निक्सन घटनापछि जन्मिएको अमेरिकी पुस्ता सरकारमाथि त्यति विश्वास गर्दैनथे, जति पहिले गर्थे । यो पृष्ठभूमिमा जनमत एवं राजनीतिक विभाजनले चर्को रुप लिँदै गयो । मूलतः महाअभियोग कानुनीभन्दा राजनीतिक दाउपेच बन्यो ।


महाअभियोगबाट कुनै बहालवाला राष्ट्रपति पदच्यूत नभए पनि यसले राजनीतिक जोड घटाउमा उत्प्रेरक भूमिका भने खेल्दै आएको छ । जस्तो कि महाअभियोगको फन्दामा परेर निक्सनले राजीनामा नदिएको भए, सन् १९७६ मा डेमोक्रयाटिक उम्मेदवार जिमी कार्टर राष्ट्रपति बन्ने नै थिएनन् । अन्तत, कार्टर एक कार्यकालमा मात्र सिमित रहेनन्, इतिहासमै असफल बने ।


क्लिन्टनको आठ बर्षे कार्यकाल, आर्थिक वृद्धिका लागि बेजोड थियो । उनका उपराष्ट्रपति एल गोरले सन् २००० को प्रतिस्पर्धामा आफ्नो चुनावी अभियानमा धेरै जसो क्लिन्टनको नामै नलिएर आठ बर्षेको आर्थिक प्रगतिको चर्चा गरिरहे । रिपब्लिकन उम्मेदवार जर्ज डब्ल्यु बुसले बारम्बार एकै बिषयको उठान गरिरहे ‘ओभल अफिसको गुमेको साख र अविश्वासलाई पुर्नस्थापना गर्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले त्यो भनाई के प्रति लक्षित थियो, स्पष्ट थियो । चुनाव बुसले जिते ।


सन् २००० मा मात्र होईन, क्लिन्टनको त्यो सेक्स स्याक्डण्लले सन् २०१६ निर्वाचनमा ठूलो भुमिका खेलेको विश्वास गरिन्छ । २०१८ मा प्रकाशित चर्चित पत्रकार बब उडवार्डको किताब ‘फिएर, ट्रम्प ईन द हृवाईट हाउस’ मा उल्लेख भएअनुसार सन् २०१६ को निर्वाचन ठीक एक महिनाअघि ट्रम्पको हलिउड टेप सार्वजनिक भएपछि, प्राय सल्लाहकारहरुले उनलाई उम्मेदवारी छोड्न सल्लाह दिएका थिए ।


तर मुख्य रणनितीकार स्टिभ बेननले ट्रम्पलाई बिल क्लिन्टनको यौन काण्डलाई मुख्य हतियार बनाउँदै क्लिन्टन पत्नी हिलारीमाथि आक्रमण गर्न सल्लाह दिए । फलत, दोस्रो राष्ट्रपति बहसमा ट्रम्प, बिल क्लिन्टनमाथि यौन हिंसाका आरोप लगाउने तीन महिलालाई लिएर हिलारीसँग बहस गर्न पुगे । जसले उनलाई फाईदा पुर्‍याएको बताइन्छ । अहिलेको ट्रम्पमाथि महाअभियोगले सन २०२० को निर्वाचनमा डेमोक्रयाटिक पार्टीलाई फाईदा नपुग्ला भन्न सकिदैंन ।

प्रकाशित : मंसिर २९, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?