जोन्सन जोस

(एएफपी)

लन्डन — सन् १९६४ को जुन १९ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका जोन्सनका बाबु कूटनीतिज्ञ र आमा कलाकार हुन् । 

जोन्सन जोस

बेलायत फर्किनुअघि उनको परिवार केहिसमय बेल्जियममा समेत बसेको थियो । सम्भ्रान्तहरूको मात्र पहुँच पुग्ने इटन स्कुलमा विद्यालय स्तरको अध्ययन गरेका जोन्सनले त्यहीं सन्की व्यवहार सिकेको बताइन्छ ।


बेलायतको अक्सफोर्डमा विश्वविद्यालयस्तरको शिक्षा लिएका जोन्सन सन् १९८६ मा अक्सफोर्ड युनियनका अध्यक्ष भएका थिए । टाइम म्यागाजिनबाट आफ्नो पत्रकारिता करिअर सुरु गरेका जोन्सनले एउटा उद्धरण गलत उद्धृत गरेका कारण जागिरबाट हात धुनुपर्‍यो ।


त्यसलगत्तै सन् १९९४ देखि १९९९ सम्म कन्जरभेटिभ विचारप्रति ढल्केको पत्रिका द डेली टेलिग्राफको ब्रसेल्स संवाददाताका रूपमा काम गरे । त्यसलगत्तै उनले केही समय द स्पेक्टेटर पत्रिकाको सम्पादकका रूपमा समेत काम गरे ।


‘द टाइम्स’ बाट हटाइएका जोन्सनको डेली टेलिग्राफ र द स्पेक्टेटरमा भने कार्यकाल सफल नै रर्‍यो । अफ्रिकी र एकल महिलाका सन्तानलाई व्याख्या गर्न ‘नराम्ररी हुर्काइएका, अज्ञानी, क्रूद्ध र अवैध’ जस्ता अपमानजनक शब्द प्रयोग गरेका कारण उनी विवादित भए पनि स्पेक्टेटर पत्रिकाको वितरण भने बढ्यो । त्यसको केही समयपछि बीबीसीको टेलिभिजन कार्यक्रम ‘ह्याभ आई गट न्युज फर यु ?’ मा नियमित देखिन थालेपछि उनी बेलायतीमाझ परिचित भए । जसका कारण उनी राजनीतिको मैदानमा उत्रे र सफल पनि भए ।


अक्सफोर्डनजिकैको कन्जरभेटिभ पकड क्षेत्रबाट सन् २००१ मा सांसद चुनिएका जोन्सन त्यसको ६ वर्षपछि लन्डनको मेयर भए । मेयरको दुई कार्यकाल बिताएका जोन्सन सन् २०१२ को ओलिम्पिक खेलका कारण थप परिचत भए । सन् २०१५ को आमनिर्वाचनमार्फत पुन: संसद्मा फर्किएका उनले केही समय ब्रेक्जिटबारे आलटाने नीति अपनाए ।


तर सन् २०१६ को ब्रेक्जिटसम्बन्धी जनमत संग्रहमा पार्टीका नेता तथा प्रधानमन्त्री डेभिड क्यामरुनविरुद्ध उभिएर जोन्सनले बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा अडान लिए ।


बहिर्गमन पक्षधरले जितेपछि उनी पार्टीभित्र शक्तिशाली भए । आफ्नो मुद्दा पराजित भएको भन्दै क्यामरुनले राजीनामा दिएपछिको चुनावमा भने टेरेजा मे दलकी नेतृ छानिइन् ।


बहिर्गमन अभियानमा ठूलो योगदान पुर्‍याएका जोन्सनलाई मेले विदेशमन्त्री बनाइन् । निकै हक्की स्वभावका जोन्सनले ईयूसँग वार्ता गर्न प्रधानमन्त्रीले हिम्मत नदेखाएको भन्दै मन्त्रीबाट राजीनामा दिए ।


ब्रेक्जिट पार लगाउन नसकेपछि मेले दलबाट राजीनामा दिएसँगै जोन्सन सन् २०१९ को जुलाई २३ मा दलको नेता छानिए । दलको नेतासँगै प्रधानमन्त्री बनेका जोन्सनले संसद्बाट ब्रेक्जिट प्रस्ताव पारित गराउन नसकेपछि मध्यावधि चुनाव घोषणा गरेका थिए ।


आफ्नो दलका कतिपय नेताले चुनावी कार्ड घातक हुने दाबी गरिरहेका बेला जोन्सनको नेतृत्वमा कन्जरभेटिभ दलले सन् १९८७ यताकै बढी सिट जितेपछि भने आलोचकको मुख थुनिएको छ ।


प्रकाशित : मंसिर २८, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?