२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

काठमाडौंमा चिनियाँ गायन

लक्ष्मी लम्साल

काठमाडौँ — राजधानीमा चलिरहेको चिनियाँ गायन प्रतियोगिता अन्तर्गत बुधबार साँझ सेमिफाइनल अन्तर्गत उत्कृष्ट १० प्रतिभा छनोट भएका छन्। नेपाल चीन सांस्कृतिक आदान प्रदानमा टेवा पुर्‍याउने ध्येयले सञ्चालित गायन स्पर्धामा कुल ३२६ जनाबाट छानिँदै दश प्रतिस्पर्धीले ‘टप टेन’को यात्रा तय गरेका हुन्।

काठमाडौंमा चिनियाँ गायन

चिनियाँ भाषाको यो गायन प्रतियोगिता नेपालमा सञ्चालित हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो। चाइना मिडिया ग्रुप, रे मिडिया ग्रुप, जेजी प्रोडक्सन लगायत नेपाल चीन सम्बन्धित संस्थाहरूले संयुक्त रूपमा चिनियाँ गायन प्रतियोगिता आयोजना गरेका हुन्। यसअघि कन्फ्युसियस इन्स्टिच्युटले केही सानो परिमाणमा यस्ता कार्यक्रम गरेको थियो।


बुधबार तेस्रो चरणमा ३० बाट छानिएर १० जना प्रतिभाले अगाडिको बाटो तय गरे। आयोजक र सहभागीहरूले नेपाल र चीनबीचको सांगितिक आयाम फराकिलो पार्न यस्ता खालका सांगितिक गतिविधिले टेवा पुग्ने विश्वास गरेका छन्।


चाइना मिडिया ग्रुप, सिआरआई नेपाली सेवाकी प्रमुख चाङ युए (वर्षा)ले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोज अन्तिम साता भएको नेपाल भ्रमणको बेलामा व्यक्त अन्तरदेशीय सांस्कृतिक सम्बन्ध विस्तार गर्ने इच्छा बमोजिम यो पनि एउटा गतिविधि भएको बताइन्। चिनियाँ गायनको प्रभावबारे उनले भनिन्, ‘एउटा त चीन नेपाल सांस्कृतिक सम्बन्धमा बढोत्तरी हुनेछ भने अर्को चिनियाँ संस्कृतिबारे धेरै नेपालीहरू जानकार हुनसक्नेछन्।’


चिनियाँ गायन प्रतियोगितामा सञ्चालकको भूमिका निर्वाह गरिरहेका रोशन केसीले नेपाल र चीन भौगोलिक रूपमा नजीक भएपनि भावनात्मक दूरी टाढा भएकाले संगीतले दुवै देशबीचको घनिष्ठता बढाउने बताउँछन्। ‘युवा पुस्तामाझ संगीतका माध्यमबाट आत्मीयता जगाउन सकिन्छ,’ उनले भने, ‘दुई छिमेकीबीच इतिहास र संस्कृतिको विकास र मित्रता गहन पार्न संगीतको योगदान हुन्छ।’


प्रतियोगितामा चिनियाँ भाषा नजाने पनि संगीतप्रेमीका नाताले केही प्रतिभाले सहभागिता जनाएका छन्। कतिपय युवा भने चीनमा अध्ययन गरेर सामान्य चिनियाँ पनि सिकेका छन्। चीनको हपै प्रान्तमा २ वर्ष अध्ययन गरेका काभ्रे धुलिखेलका रोवस तिमल्सिना आफ्नो चिनियाँ भाषा स्तरीय नभएपनि रूचिका कारण प्रतियोगितामा सामेल भएको बताउँछन्। संगीतको कुनै सीमा नहुने भएकाले नेपालीमाझ चिनियाँ संगीत पनि विस्तारै लोकप्रिय हुँदै जाने उनको अपेक्षा छ।


डिएभी स्कुलमा चिनियाँ सिक्दै गरेकी १५ वर्षीया सिमसिम लिम्बुले भाषा पनि सिक्दै, गीत पनि गाउँदै गर्दा सिकाइको गति अलि छिटो हुने अपेक्षा गरिन्।


प्रतियोगितामा सहभागीहरूको उच्चारण, प्रस्तुती र गायन शैलीका आधारमा मूल्यांकन गरिएको निर्णायकहरूको बताएका छन्। निर्णायकमा दुई जना चिनियाँका साथै नेपाल टेलिभिजनको नेपाली तारा दोस्रो संस्करणका विजेता सन्तोष लामा छन्।


प्रतियोगिताको फाइनल आगामी १६ तारिख हुनेछ। प्रथम र दोस्रो बिजेताले आकर्षक नगद पुरस्कारका साथै चीन भ्रमणको अवसर पनि पाउने जनाइएको छ।

प्रकाशित : मंसिर २६, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?