रोहिंग्याविरुद्ध नरसंहार भएको छैन : सुची

म्यान्मारविरुद्धको मुद्दा ‘अधुरो र गलत’
(एजेन्सी)

लन्डन — म्यान्मारकी नेतृ आङ सान सुचीले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुलुकविरुद्ध लागेको नरसंहार आरोपको खण्डन गरेकी छन् । उनी आफ्नो मुलुकको बचाउ पक्ष उभिएकी छन् ।

रोहिंग्याविरुद्ध नरसंहार भएको छैन : सुची

नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी उनले म्यान्मार (पूर्व बर्मा) मा रोहिंग्या मुस्लिमविरुद्ध अत्याचार गरिएको भन्ने प्रत्यक्षदर्शीको दाबीलाई ठाडै अस्वीकार गर्दै मुलुकको पक्ष लिएको बीबीसीले जनाएको छ । उनले अदालतमा आफ्नो भनाइ राख्दै म्यान्मारविरुद्धको मुद्दालाई ‘अधुरो र गलत’ भएको बताइन् । नेतृ सुचीले भनिन्, ‘राखिनमा धेरै रोहिंग्या बसोबास गर्थे । तर, उनीहरूमाथि अत्याचार भएको छैन ।’


सन् २०१७ मा बौद्ध बहुल म्यान्मारमा सेनाले गरेको आक्रमणका क्रममा हजारौं रोहिंग्या मारिएका थिए । ७ लाखभन्दा बढी रोहिंग्या मुस्लिम छिमेकी मुलुक बंगलादेश पलायन हुन बाध्य भएका थिए । नेतृ सुचीको पछिल्लो भनाइपछि उनीहरू निराश भएका छन् । म्यान्मारले सँधै भन्दै आएको छ, ‘राखिन राज्यमा चरमपन्थी समूहबाट जारी हिंसा र चुनौतीको समाधान मुलुकले गरिरहेको छ ।’ सुचीले आफ्नो मुलुकको उक्त अडानलाई सही भनेकी छन् । उनले म्यान्मारको अडानलाई सही मात्रै भनेकी छैनन्, ‘आन्तरिक सशस्त्र द्वन्द्व’ का क्रममा रोहिंग्या आतंककारीहरूले सरकारी सुरक्षा चौकीहरूमा आक्रमण गरेको प्रतिक्रियासमेत दिएकी छन् । ‘म्यान्मारको सेनाले धेरैपटक असन्तुष्ट पक्षविरुद्ध बल प्रयोग गरेको हुन सक्छन् । तर, नरसंहार भएको छैन,’ उनले भनिन्, ‘यदि सैनिकले साँच्चै युद्धअपराध गरेकै हो भने उनीहरूविरुद्ध मुद्दा चलाउन सकिन्छ । मलाई लाग्छ, त्यसो भएको छैन ।’ नेतृ सुचीले अदालतसमक्ष म्यान्मारमा द्वन्द्व नचर्काउन आग्रहसमेत गरिन् । उनले भनिन्, ‘आफ्नो मुलुकले राखिनका विस्थापितलाई सुरक्षति पुनर्स्थापन गर्न प्रतिबद्ध छ । द्वन्द्व बढाउने कुनै पनि कार्य नगरियोस्, अदालतसँग म अनुरोध गर्छु ।’


सुचीलाई कुनै बेला अन्तर्राष्ट्रियस्तरमा लोकतन्त्र–हिमायतीमध्येकै एक भनेर सम्मान प्राप्त थियो । सन् २०१६ को अप्रिलमा कथित नरसंहार सुरु हुनुअघि उनी म्यान्मारकी वास्तविक नेतृका रूपमा चिनिएकी थिइन् । सेनामाथि उनको नियन्त्रण थिएन । हाल उनको भनाइमा परिवर्तन आएको छ । रोहिंग्या मुस्लिममाथि सैन्य दमनबारे संयुक्त राष्ट्रका जाँचकर्ताहरूले म्यान्मारको सैन्य स्वीकृतिमा ‘जटिलता’ रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रसंघका अधिकारीहरू भन्छन्, ‘पछिल्लो समय सुचीले सेनाको बचाउ गर्दै छिन्, जुन सेनाले उनलाई वर्षौंसम्म नजरबन्दमा राखेको थियो ।’


रोहिंग्या शरणार्थीहरूले नेतृ सुचीको पछिल्लो अभिव्यक्तिप्रति रोष प्रकट गरेका छन् । उनको भनाइलाई झूटो भनेका छन् । बंगलादेशको कोक्स बजारस्थित कुटुपालोङ शरणार्थी शिविरका शरणार्थीले टीभीमा म्यान्मार नेतृको प्रत्यक्ष प्रसारण हेरिरहेका बेला चिच्चाउँदै भने, ‘सुची तिमी झूटो बोलिरहेकी छौ ।’ शिविरस्थित एउटा सामुदायिक केन्द्रमा रहेको ५२ वर्षीय अब्दुर रहिमले भने, ‘सुची झूटो बोलिरहेकी छन् ।’ हेगस्थित अदालतबाहिर रोहिंग्या मुस्लिम र सुची समर्थकले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

प्रकाशित : मंसिर २६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?