१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट, ५ जनाको मृत्यु

(एजेन्सी)

अकल्यान्ड — न्युजिल्यान्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा ५ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार २० जना घाइते छन् । उनीहरूको शरीर पोलेको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

अकस्मात् भएको ज्वालामुखी विस्फोटपछि कैयौं मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ज्वालामुखी विस्फोट हुनु केही समयअघि उक्त क्षेत्र नजिकै पर्यटकरू हिंडिरहेका थिए ।


प्रहरीका अनुसार हताहत हुने व्यक्तिको सख्या बढ्न सक्ने बताइएको छ । २३ जनाको सकुशल उद्धार गरिएको छ । तर विस्फोटको खतरा कायमै रहेकाले थप उद्धार गर्न निकै जोखिमपूर्ण रहेको अधिकारीहरूको भनाई छ । उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ ।


बीबीसीका अनुसार न्युजिल्यान्डको उत्तरपूर्वी भेगको ह्वाकारी भनिने ‘ह्वाइट आइल्यान्ड’ मा ज्वालामुखी विस्फोट भएको हो । निजी स्वामित्वमा रहेको मुख्य पर्यटकीय गन्तव्य ह्वाइट आइल्यान्डमा ज्वालामुखीहरू सक्रिय छन् ।

प्रहरीका अनुसार ज्वालामुखी विस्फोटका समय उक्त क्षेत्रमा ५० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरू थिए । न्युजिल्यान्डको क्रुज एसोसियसनले विस्फोटका कारण पर्यटक सवार एक डुंगा पनि प्रभावित भएको छ । उद्धार कार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मी परिचालित गरिएको छ । तर प्रहरी उप–कमिस्नर जोन टिम्सले ज्वालामुखी पुनः विस्फोट हुने खतराका कारण सुरक्षाकर्मी उक्त क्षेत्रमा पुग्न नसकेको बताए ।


एक स्थानीय माँझीले विस्फोटपछि उक्त क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धुवाँको मुस्लो देखिएको बताए । सन् २००१ यता ह्वाइट आइल्यान्डमा भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । ह्वाइट आइल्यान्डमा विगतमा पनि कैयौं ज्वालामुखी विस्फोट भए पनि उक्त क्षेत्रमा मानिस रहेका बेला भएको यो पहिलो हो ।


न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले घटनालाई निकै ठूलो भएको र उद्धारका लागि सुरक्षाकर्मीलाई उद्धारका लागि निर्देशन दिइसकिएको बताइन् । उनले ज्वालामुखी विस्फोटपछिको बाक्लो धुवाँ

तथा खरानीका कारण सुरक्षाकर्मीलाई उद्धारका लागि कठिनाइ भइरहेको जनाइन् ।


प्रकाशित : मंसिर २४, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?