३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सान्ना विश्वकै कान्छी प्रधानमन्त्री

(एजेन्सी)

हेलसिन्की — फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । 

सान्ना विश्वकै कान्छी प्रधानमन्त्री

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिनेछिन् । उनले गत जुनयता यातायात तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।


प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदमा आसीन प्रधानमन्त्री बन्नेछिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुकको उमेर हाल ३५ वर्ष भयो भने न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्ष पुगिन् ।


बीबीसीका अनुसार गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका हुन् । सबै दलको नेतृत्व महिलाले गर्नेछन् । तीमध्ये ४ दलका नेतृ ३५ वर्षभन्दा कम उमेरका छन् । हुलाक सेवामा भएको हडतालको विषयमा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै फिनल्यान्डको संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको हो ।


प्रधानमन्त्री चयनका लागि भएको मतदानमा झिनो अन्तरले विजयी भएपछि संवाददाताहरूसँगै प्रतिक्रिया दिँदै उनले ‘नवीन काममार्फत जनताको विश्वास जित्न आफू क्रियाशील रहने’ बताइन् ।


यद्यपि, उमेरबारे पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा भने उनी मुस्कुराइन् । त्यसलगत्तै केही गम्भीर बन्दै उनले भनिन्, ‘मैले मेरो उमेर वा लिंगबारे कहिल्यै केही सोचेकी छैन ।’ मरिन नोर्डिक देशमा प्रधानमन्त्री हुने तेस्रो महिला हुन् । उनले आफू राजनीतिमा आउनुको कारण र विश्वास पाएको कारणबारे सोचविचार गरेर अघि बढ्ने बताइन् । फिनल्यान्डमा गत अप्रिलमा भएको निर्वाचनमा पहिलो बनेका कारण सोसल डेमोक्र्याटिक दलकी नेता रहेकी मरिन प्रधानमन्त्री चयन भएकी हुन् ।


स्थानीय सञ्चारमाध्यमका अनुसार मरिनलाई उनकी आमाले एक्लै हुर्काएकी थिइन् । सन् २०१५ मा मरिनले आफू आफ्नो परिवारबाट विश्वविद्यालय जाने पहिलो व्यक्ति रहेको बताएकी थिइन् । सन् २०१५ मा सांसद बनेकी मरिन २७ वर्षकै उमेरमा टम्परे सरहको प्रशासन प्रमुखमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : मंसिर २४, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?