ग्रेटाको जलवायु परिवर्तनविरुद्धको आन्दोलन- ‘स्कुल स्ट्राइक फर क्लाइमेट’

अब्दुल्लाह मियाँ

म्याड्रिड (स्पेन) — ग्रेटा थनवर्ग । उमेर १६ वर्ष । चर्चित सानी जलवायु परिवर्तन अभियन्ता । 

शुक्रवार बिहान जब उनी म्याड्रिडको एक रेल स्टेसनमा झरिन्, सयौं क्यामराका लेन्सले उनलाई पछ्याउन थाले, हलिउड स्टारलाई जस्तै ।
 
काठको फल्याक बोकेकी र हुड पहिरिएकी ग्रेटा जब रेलको ढोकाबाट बाहिरिन खुट्टा अघि बढाइन्, सबैले एकै स्वरमामा भने, ओला, ओला (स्पेनी भाषमा स्वागतम्) । भीड नियन्त्रण गर्न रेल स्टेसनमा प्रहरी परिचालित थिए ।

ग्रेटाको जलवायु परिवर्तनविरुद्धको आन्दोलन- ‘स्कुल स्ट्राइक फर क्लाइमेट’

सयौंको भीडलाई पन्छ्याउँदै प्रहरीले उनलाई सुरक्षा दिएर जलवायु सम्मेलन भइरहेको फेरिया दी म्याड्रिडको प्रदर्शनी स्थलमा लग्यो ।


शुक्रबार उनी पोर्चुगलको लिस्बोनबाट म्याड्रिड आएकी हुन् । त्यसअघि उनी अभियानकै क्रममा अमेरिका पुगेकी थिइन् । बेलायत हुँदै पानीजहाजबाट उनी अमेरिका गएकी थिइन् । अमेरिकाबाट एट्लान्टिक महासागर पार गर्दै उनी पानीजहाजबाट लिस्बोन आएकी थिइन् ।


उनी हवाईजहाज चढ्दिनन्, सकेसम्म गाडी पनि चढ्दिनन् । हवाईजहाजले कार्बन उत्सर्जन गर्ने भएकाले उनले त्यसलाई त्यागेकी हुन् ।


म्याड्रिड आएलगत्तै उनी युवाहरुले आयोजना गरेको ‘फ्राइडे फर फ्युचर’ नाम दिइएको प्रदर्शन तथा र्‍यालीमा भाग लिन पुगिन् । उक्त अभियान जलवायु परिवर्तनको असरविरुद्ध थियो । ५ लाखजनाको उपस्थित रहने दाबी गरिएको उक्त प्रदर्शनमा विश्वभरबाट आएका युवाहरु सहभागी थिए । तर, धेरैको धोको भने ग्रेटालाई हेर्ने र सुन्ने नै थियो ।


‘फ्राइडे फर फ्युचर’ अभियान उनले नै एक वर्ष अघि शुरु गरेकी थिइन्, आफ्नै देश स्वीडेनबाट । यो अभियानले विश्वभर चर्चा बटुलिरहेको छ । नेपालमा पनि केही समय अघि युवाहरुले उक्त अभियानमा साथ दिँदै प्रदर्शन गरेका थिए ।


विश्वका धेरै देशहरुमा युवाहरुले यो अभियानलाई साथ दिइरहेका छन् । जुन देशका युवाले जहाँ आयोजना गरे पनि यसको एउटै उद्देश्य छ, ‘भविष्य सुनिश्चित गराउन जलवायु न्याय’ । पृथ्वीमा जलवायु परिवर्तनका कारण देखापरेको असर न्यून गर्नतर्फ ध्यानाकर्षण गराउनु यसको अर्को उद्देश्य ।


ग्रेटाले उक्त अभियान सन् २०१८ स्वीडेनको संसद भवनको प्रांगणबाट सुरु गरेकी थिइन् । त्यतिबेला उनले विद्यालय जान छोडिदिइन् र हातमा लठ्ठी लिएर धर्ना दिन थालिन् । उनको नारा हुन्थ्यो, जलवायुका लागि विद्यालय हड्ताल अर्थात् ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’ ।


सुनिश्चित भविष्यको माग गर्दै उनले उक्त अभियान शुभारम्भ गरेकी थिइन् । विश्वभरका विद्यालयस्तरमा पढ्ने भावी पीढिलाई लक्षित गरी यो अभियान घोषणा गरिएको थियो । भविष्यका पुस्ताको भविष्य सुनिश्चित गर्न अहिले देखिएका जलवायुजन्य जोखिम र असर न्यून गर्ने तत्परता देखाउन ध्यानाकर्षण गराउनु यसको उद्देश्य हो ।


जलवायु न्यायका पक्षमा गत वर्ष पोल्याण्डको क्याटावीसमा भएको २४ औं सम्मेलन (कोप २४) मा मन्तव्य दिएपछि एकाएक उनी चर्चामा आएकी हुन् । उनले त्यतिबेला जलवायु परिवर्तनले निम्त्याएका समस्या र भविष्यमा आफूजस्ता करोडौं बालबालिकाहरुले भोग्नुपर्ने समस्याबारे तार्किक र मन छुने भाषण गरेकी थिइन् ।

...

एक वर्षदेखि उनी व्यस्त छिन् । भविष्यका करोडौं कर्णधारहरुलाई जलवायु न्यायको विषय अवगत गराउन ।

म्याड्रिडमा जारी ‘कोप–२५’ मा ग्रेटा आउने खबरले सबै उत्साही भएका थिए । दुईसय देशका करिब २९ हजार मानिसहरु यहाँ छन्, तर सबैभन्दा आकर्षणको केन्द्र भने ग्रेटा नै हुन् ।


शुक्रबार बेलुकी भएको प्रदर्शनीमा लाखौंले सहभागीता जनाए, जहाँ उनी पनि थिइन् । उनले बोकेकी थिइन्, ‘स्कुल स्ट्राइक फर क्लाइमेट’ लेखिएको काठको फल्याक ।


उनले सयौं पत्रकारसामु जलवायु मुद्दामा आफ्नो धारणा व्यक्त गरिन् ।


‘विश्वका करोडौं युवा र बालबालिकाको भविष्य सुनिश्चित गर्न जलवायुजन्य जोखिम न्यूनीकरणमा तपाईं ठूला नेताहरु काम गर्नुस्, कुरा मात्र होइन,’ उनले भनिन्, ‘मलाई आशा छ यो सम्मेलनले केही ठोस र सर्वसाधारणलाई खुशी तुल्याउने निर्णय गर्नेछ ।’


एक वर्षसम्म विश्वभर जलवायु न्यायको पक्षमा विद्यालय हड्ताल अभियान भए पनि विश्वभरका नेताहरुले त्यसलाई खासै महत्व नदिएको र आफूले सोचेअनुसार प्रगती नभएकामा उनी केही खिन्न थिइन् ।


उनले पेरिस सम्झौताअनुसार काम गर्न मुलुकहरु चुकेको, सम्झौतामा भएको प्रावधान कार्यान्वयनमा ढिलाई गर्न नहुनेमा जोड दिइन् । उनले धनी राष्ट्रहरूले गरिब देशहरूलाई कसरी क्षतिपूर्ति दिने भन्ने कुरामा यो सम्मेलनले सहमति जुटाउने आशासमेत व्यक्त गरिन् ।


‘जलवायु परितर्वनको मारमा परेका मुलुकहरुलाई विकसित र हरित गृह ग्यास उत्सर्जन गर्ने मुलुकहरुले निसर्त सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘विश्वभरबाट यहाँ भेला भएका नेता र शक्तिमा रहेका मानिसहरूले जलवायु संकटको महत्वलाई बुझ्नेछन् भन्ने विश्वास अझै पनि मलाई लागेको छ ।’


गत सेप्टेम्बरमा राष्ट्रसंघले न्यूयोर्कमा गरेको जलवायु परिवर्तन एक्सन सम्मेलनमा पनि ग्रेटाले जलवायु परिवर्तनसम्बन्धी मन्तव्य दिने अवसर पाएकी थिइन् । त्यहाँ पनि उनले विकसित देशहरु, जसले हरित गृह र बढी मात्रामा खनिजको उपयोग गर्छन् तिनलाई पृथ्वी, प्रकृती र मानवको भविष्यमा चिन्ता गर्न ध्यानाकर्षण गराएकी थिइन् ।


उनको भाषणलाई धेरै नेता र जलवायु वार्ताकारहरुले घत मानेर हेर्ने गरेका छन् । कतिपय देशका प्रमुख र नेताहरुले त उनको विरोधसमेत गर्ने गरेका छन् ।


सन् २००३ को जनवरीमा स्टकहोममा जन्मिएकी ग्रेटा सामाजिक संजालमा पनि चर्चित छिन् । ट्वीटरमा उनलाई ३१ लाखले पछ्याएका छन् । उनलाई विश्वभरका प्रशिद्ध टेलिभिजन र पत्रिकाले अन्तर्वार्ता लिएका छन् । उनी जहाँ जान्छिन्, सधैं हजारौंको घेरामा हुन्छिन् ।


टाइम म्यागजिनले अर्को पुस्ताकी रोलमोडल नेता भन्दै कभर स्टोरीसमेत तयार गरेको थियो । साकाहारी ग्रेटाको मुख्य ध्येय हो, पृथ्वी, प्रकृती र मानिसको भविष्य सुनिश्चित गर्नु । त्यसका लागि जतिसक्दो चाँडो हरित गृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा उनी दृढ छिन् ।



त्यसो त पेरिस सम्झौतामा विश्वको तापक्रम १.५ डिग्रीभन्दा बढ्न नदिइने उल्लेख छ । त्यसका लागि विकसित मुलुकहरुले हरित गृह ग्यास कटौती गर्नुपर्ने हुन्छ । त्यसमा विकसित मुलुकहरु सबभन्दा बढी दोषी छन् ।

त्यसबारे ग्रेटाले विभिन्न देशका राष्ट्र प्रमुख र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतलाई भेटेर पेरिस सम्झौता अक्षरस कार्यान्वयन गराउन झक्झक्याएकी छन् ।

यूएनएफसीसीसीका सबै सदस्य मुलुकहरुले राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) तयार गर्नुपर्ने हुन्छ । त्यसमा राष्ट्रिय उत्सर्जन घटाउने र जलवायु परिवर्तनको प्रभावलाई अनुकूलन गर्न प्रशस्त प्रयास गर्ने उल्लेख छन् ।

जारी २५ औं सम्मेलनले अहिलेसम्म संसारलाई खुशी तुल्याउने त्यस्तो ठूलो निष्कर्ष निकालेको छैन । तर आशा छ, ग्रेटाले भनेजस्तै विश्वको तापक्रम बढ्न नदिन हरित गृह ग्यास कटौती गर्ने ठोस प्रतिवद्धता जनाए भने त्यो एउटा खुशीकै सन्देश हुनेछ ।

तस्बिरहरु : रोयटर्स

प्रकाशित : मंसिर २२, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?