कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

इराकमा रोकिएन प्रदर्शन

(एजेन्सी)

बग्दाद — इराकमा रोजगारी र भ्रष्टाचार निवारणको माग गर्दै केही सातादेखि जारी प्रदर्शन थप चर्केको छ । राजधानी बग्दादमा भएको प्रदर्शनका क्रममा कम्तीमा १६ जना आन्दोलनकारीको ज्यान गएको छ । 

इराकमा रोकिएन प्रदर्शन

अधिकारीका अनुसार शुक्रबार साँझ अपरिचित केही बन्दुकधारीले प्रहार गरेको गोली लागी ४७ जना घाइते भएका छन् । सुरक्षा अधिकारीहरूका अनुसार बग्दादको मध्यभागमा पर्ने अल खलानी स्क्वायरमा घटना भएको हो ।


‘हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार घटनामा १६ प्रदर्शनकारीको मृत्यु भएको छ, भने ४७ घाइते छन्,’ एक सरकारी अधिकारीले भने । उनका अनुसार घाइतेको अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अधिकारीहरूले सुरुमा १० जनाको मृत्यु तथा ३५ घाइते भएको बताएका थिए । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीहरूले हस्तक्षेप नगर्दासम्म बन्दुकधारीले धेरै घरमा लगातार गोली हानेका थिए । सरकारको पुनर्संरचना, भ्रष्टाचारको अन्त्य, सार्वजनिक सेवामा सुधार, रोजगारी सृजनालगायतका माग राख्दै इराकमा गत अक्टोबर सुरुदेखि सरकार विरोध प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा सहभागीमध्ये अधिकांश युवा तथा बेरोजगार रहेका बीबीसीले जनाएको छ ।


आन्दोलनकारीले ताहिर स्क्वायरलाई प्रदर्शनको मुख्य केन्द्र बनाएका छन् । आन्दोलनले हिंसात्मक रूप लिएपछि यसअघि इराकी प्रधानमन्त्री प्रधानमन्त्री अदेल अब्देल मेहदीले आफ्नो पदबाट राजीनामा दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिया समुदायका धर्मगुरु ग्रान्ड आयातोल्लाह अली सिस्तानीले दबाब दिएपछि प्रधानमन्त्री मेहदी राजीनामा दिन बाध्य भएका हुन् ।


इराकमा भएका प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको एक सरकारी प्रतिवेदनमा उल्लेख छ । सरकारद्वारा गठित अनुसन्धान समितिका अनुसार अक्टोबर पहिलो साता भएका विरोध प्रदर्शनमा मात्रै १ सय ५० भन्दा बढीको ज्यान गएको थियो । समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरे पनि सरकारले बेवास्ता गर्दै आएको छ ।


प्रकाशित : मंसिर २२, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?