कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मजदुर आन्दोलनले फ्रान्स अस्तव्यस्त, खटाइयो सेना 

ददी सापकोटा

(पेरिस) — वृद्धभत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणविरुद्ध विभिन्न मजदुर युनियनले गरेको आमहड्तालका कारण फ्रान्सको जनजीवन अस्तव्यस्त बनेको छ । 

मजदुर आन्दोलनले फ्रान्स अस्तव्यस्त, खटाइयो सेना 

रेल, मेट्रो, फेरी तथा फ्रान्सबाट अन्य मुलुक जोड्ने लामा दूरीका रेल सेवासमेत प्रभावित भएका छन् । सयौं उडान रद्द गरिएछि पर्यटक निकै मारमा परेका छन् । आन्दोलनमा शिक्षक तथा हुलाक सेवाका कर्मचारी तथा रेलसेवा, प्रहरी, स्वास्थ्य, विद्युत् प्रधिकरणलगायतका अधिकांश मजदुर युनियन सहभागी छन् ।


प्रदर्शनकारीले शुक्रबार बिहानै रुवाँ सहरमा ग्रिनेट हानेर सडक अवरुद्ध पारेका छन् । उत्तरी फ्रान्सको बुलोन्यमा प्रदर्शनका कारण सवारीसाधन ठप्प छन् । आन्दोलनकारीले ओर्लेआ सहर नजिक इन्धन बोकेका ट्यांकरलाई नियन्त्रणमा लिएका छन् ।


इन्धन आपूर्तिकर्ताले करिब दुई सय पेट्रोल पम्पमा तेल रित्तिइसकेको र ४ सय पेट्रोलपम्पमा स्टक नरहेको जनाएका छन् । सुरक्षाकै कारण देखाउँदै फ्रान्सको प्रमुख पर्यटकीय आकर्षण आइफल धरहरासमेत बन्द गरिएको छ । आमहड्तालको मौका पारेर जिले जोन (गिलेत्स जौनेस) र ब्ल्याक ब्लक भनिने समूहको समेत सहभागिता देखिएपछि सरकारले सुरक्षा व्यवस्थालाई अझ कडा पारेको छ । सम्भावित आक्रमणलाई ध्यानमा राखेर विभिन्न स्थानमा सेना परिचालन गरिएको छ । पेरिस सहरमा मात्रै ६ हजार सुरक्षाकर्मी थप गरिएको छ । सुरक्षामा खटिएका प्रहरीलाई आवश्यकताअनुसार बल प्रयोगको अधिकार दिइएको छ । पहेंला कोटधारी (जिले जोन) हरू कनै राजनीतिक पार्टीसँग आवद्ध नभए पनि फ्रान्समा गत एक वर्षदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । यही समूहसँगै ब्ल्याक ब्लक भनिने युरोपभरि नै सक्रिय साम्राज्यवादविरोधी उग्रसमूहको समेत संलग्नता देखिएपछि सरकार सशंकित बनेको छ ।


त्यस्ता समूहहरूले शान्तिपूर्ण आन्दोलनमा घुसेर विस्फोट गर्ने, सुरक्षाकरीमाथि आक्रमण गर्ने तथा आन्दोलन चर्काउने गर्छन् । कालो पोसाक र कालै मुकुन्डोमा उपस्थित ब्ल्याक बक समूहले प्रदर्शनीकारीको पहिलो लहरमा बसेर सुरक्षा निकायको प्रतिवाद गर्ने बताइसकेका छन् । आमहड्ताल आह्वान गरेका मजदुरहरूले राजधानी पेरिस, बोर्दो, मासेई, लिल, निस, तुलुजलगायतका मुख्य सहरमा प्रदर्शन जारी राखेका छन् । मेट्रो, रेल, बस र अन्य यातायात सुविधामा आज ९० प्रतिशतसम्म कटौती गर्दा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ ।


फाट्टफुट्ट रूपमा यातायात चले पनि तिनले सर्वसाधारण र पर्यटकको खाँचो धान्न सकेको छैन । जिलेजोन र ब्ल्याक ब्लक समूहसमेत सहभागी हुने भन्ने खबरले गर्दा सर्वसाधारणहरूको आवतजावत कम भएको छ । प्रदर्शनकारीहरूले सरकारले अगाडि सारेको वृद्धभत्ता र निवृत्तिभरण कटौतीको प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने बताएका छन् । उता सरकार पनि यो प्रस्तावबाट पछि नहट्ने देखिन्छ । फ्रान्सको यातायात मन्त्री एलिजाबेथ बर्नले शुक्रबार बिहानै सरकार यो प्रस्तावबाट पछि नहट्ने बताएकी छन् । सरकारको यो भनाइले अन्दोलनकारीहरू झन क्रूद्ध बनेका छन् ।


मन्त्रीको यो भनाइपछि प्रदर्शनकारीहरूले आन्दोलन नयाँ वर्षसम्म लम्ब्याउने चेतावनी दिएका छन् । प्रतिपक्षी दलका नेताहरूले पनि आन्दोलनकारीलाई समर्थन गर्दै सरकारले सरकारले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् । पाख्यी द गोस पार्टीका नेता तथा सांसद जा लुक मेलसोले सरकारको विरोध र प्रदर्शनकारीको समर्थन गर्दै आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।


प्रकाशित : मंसिर २१, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?