कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चीनमा मोबाइल प्रयोगकर्तामाथि कडाइ

सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने
एजेन्सी

बेइजिङ — चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार अबदेखि मोबाइल फोन सेवा लिन चाहने नागरिकले आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।

चीनमा मोबाइल प्रयोगकर्तामाथि कडाइ

अधिकारीहरूले देशका करोडौं इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्न नयाँ नियम लागू गरिएको जनाएका छन् । सेप्टेम्बरमा घोषणा गरिएको नियम यसै सातादेखि कार्यान्वयनमा आएको हो ।


गत सेप्टेम्बरमा चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रीले एक सूचना जारी गर्दै ‘इन्टरनेटमा नागरिकको वैधानिक अधिकार तथा स्वार्थ रक्षाका लागि’ नयाँ नियम कार्यान्वयनमा ल्याइएको बताएका थिए । उनका अनुसार टेलिफोन सेवा प्रदायकहरूले मोबाइल प्रयोगकर्ताको परिचय पुष्टि गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्राविधिक उपायहरू’ प्रयोगमा ल्याउनेछन् ।

चीनले आफ्ना नागरिकलाई निगरानी गर्न अनुहार पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा ल्याइसकेको छ । यस्तो प्रकृतिको प्रविधि प्रयोग गर्ने देशहरूमा चीन अग्रपंक्तिमा रहेको छ ।


चीनले देशभर अनुहार पहिचान गर्ने प्रविधि विस्तार गरेपछि त्यसको पक्ष/विपक्षमा बहस हुँदै आएका छन् । सरकारले अनुहार स्क्यान गर्ने नियमको घोषणा गरेपछि हजारौं मानिसले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । तीमध्ये अधिकांशले आफ्ना तथ्यांकको गोपनीयता र सुरक्षाबारे प्रश्न उठाएका थिए भने कतिपयले आफूहरूमाथि निगरानी गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गत आइतबार कार्यान्वयनमा ल्याइएको व्यवस्थाअनुसार स्क्यान गरिएका सेवाप्रदायकका अनुहारका तस्बिर चीन सरकारको केन्द्रीय तथ्यांक भण्डारमा राखिएका व्यक्तिगत परिचयपत्रसँग भिडाएर हेरिनेछ ।


चीनमा यसअघि मोबाइल सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र र तस्बिर आवश्यक थियो । नयाँ नियमपछि स्क्यान गरिएको अनुहार र परिचयपत्रसम्बन्धी तथ्यांक मिलेको खण्डमा मात्र पहिले लिएको सेवा निरन्तर हुने जनाइएको छ ।

चीनले वर्षौंदेखि मानिसले आफ्नो ‘वास्तविक परिचय’ प्रयोग गरी इन्टरनेट प्रयोग गर्ने सुनिश्चित गर्ने गरी नियम ल्याउने प्रयास गर्दै आएको छ । चीनले सन् २०१७ मा इन्टरनेटमा कुनै सामग्री पोस्ट गर्नका लागि नयाँ नियम लागू गरेको थियो । नियमअनुसार वेबसाइटहरूले कुनै पनि व्यक्तिलाई अनलाइनमा कुनै सामग्री राख्न स्वीकृति दिनुअघि प्रयोगकर्ताको परिचय प्रमाणित गर्नुपर्छ ।


चीनलाई आफ्ना नागरिकको चर्को निगरानी गर्ने देशका रूपमा परिचित छ । चीन सरकारले सन् २०१७ मा देशका विभिन्न स्थानमा १७ करोड सीसीटीभी क्यामेरा जडान गरेको थियो । सरकारी अधिकारीका अनुसार चीन सरकारले सन् २०२० सम्म थप ४० करोड त्यस्ता क्यामेरा जडान गर्ने तयारी गरेको छ ।


सुरक्षा अधिकारीका अनुसार त्यस्ता सीसीटीभीका सहयोगले खोजीको सूचीमा रहेको तथा भगौडालाई पक्रन सहयोग पुगेको जनाउने गरेका छन् । गत वर्ष सुरक्षाकर्मीबाट भागेका एक व्यक्तिलाई ६० हजार दर्शक सहभागी भएको एक सांगीतिक कार्यक्रमबाट पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए ।


अधिकांश चिनियाँले आफ्नो मोबाइल फोनबाट इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता जेफरी डिङका अनुसार ‘पहिचान लुकाइएका फोन नम्बर तथा इन्टरनेट अकाउन्टबाट उन्मुक्ति खोज्न’ चीनले नयाँ नियम कार्यान्वयमा ल्याएको हो । उनका अनुसार नयाँ नियमले साइबर असुरक्षा घट्ने तथा इन्टरनेटबाट हुने ठगी नियन्त्रण हुने चीनको अपेक्षा छ ।

प्रकाशित : मंसिर १९, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?