स्विडेनी राजाको शालीनता : नियमित उडानमा नयाँदिल्ली उत्रे- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्विडेनी राजाको शालीनता : नियमित उडानमा नयाँदिल्ली उत्रे

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — नेपाल, भारतलगायतका मुलुकमा उच्च ओहोदामा रहेका विशिष्टहरूले औपचारिक सम्मान खोज्नु सामान्य मानिन्छ । उच्च ओहोदामा रहेका व्यक्तिहरू सार्वजनिक भ्रमणमा जाँदा होस् कुनै पनि कार्यक्रममा तिनका सेवामा अघिपछि लामै लस्कर लाग्ने गर्छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा देखिने त्यस्ता दृश्यका कारण ती विशिष्टहरू आलोचित पनि हुने गरेका छन् । अझ कतिपयले त आफूले भनेजस्तो सम्मान नपाएको भन्दै ती उच्च ओहोदामा रहेकाहरूले कर्मचारीहरूको सातो लिएका घटना पनि बाहिर आएका छन् ।


तर, सोमबार बिहान भारतको राजधानी नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका स्विडेनका राजा कार्ल सोह्रौं गुस्ताफ फोल्क हुबर्टसले भने विशिष्ट पाहुना भएर पनि सरलता र शालीनताको उदाहरण पेस गरेका छन् । त्यसले सामाजिक सञ्जालहरूमा पनि निकै चर्चा बटुलेको छ । राजदम्पतीले देखाएको व्यवहारले अनावश्यक मानका खातिर मान खोज्ने प्रवृत्तिलाई गतिलो जवाफ दिएको ठानिएको छ । राजा कार्ल रानी सिल्भिया रेनेटका साथ भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँदिल्ली आइपुगेका हुन् । यो राजा गुस्ताफको तेस्रो भारत भ्रमण हो । विशिष्ट पाहुनालाई विमानस्थलमा सांसद बाबुल सुप्रियोले स्वागत गरेका थिए । यतिखेर यिनै विशिष्ट पाहुनाका रूपमा भारत आएका राजदम्पतीको सरलताले सार्वजनिक सञ्जालमा निकै चर्चा बटुलेको छ ।


चर्चा नहोस् पनि कसरी ? पहिलो त उनीहरूले आफ्नो कुनै विशेष चार्टर विमान रोजेनन् । उनीहरूले भारतको ध्वजाबाहक एअर इन्डियाको स्टकहोम–नयाँदिल्लीको नियमति उडान नै रोजे ।


एअर इन्डियाकी स्विडेनस्थित कन्ट्री म्यानेजर संगीता सन्यालले राजदम्पतीलाई जहाजबाट बाहिर निस्कनासाथ स्वागत गरेकी थिइन् । नयाँदिल्लीस्थित विमानस्थलमा ओर्ले पनि उनीहरूले स्वागतका नाममा गरिने तामझामहरू रोजेनन् । आमयात्रुझैं राजा गुस्ताफ सुटकेस र ब्याग आफैं बोकेर निस्के । त्यो दृश्यले त्यहाँ रहेका सबैलाई आश्चर्यमा पार्‍यो । राजदम्पती आफैं सामान डोर्‍याएर आफ्नो कारसम्म पुगे ।


एअर इन्डियाले ट्वीटरमार्फत् स्विडिस राजदम्पती आफैंले सामान डोर्‍याएका सार्वजनिक गरेपछि त्यसको चर्चा चुलिएको छ । कतिपयले ती तस्बिरमा टिप्पणी गर्दै स्विडिस राजदम्पतीले देखाएको आफ्नो सामान आफैं बोक्ने, कुनै भीआईपी स्वागत नखोज्ने संस्कार भारतका उच्च ओहोदा रहेकाहरूले कहिले सिक्ने हुन् भन्दै व्यंग्यसमेत गरेका छन् ।


अझै केहीले त राजादम्पतीले अर्काको मुलुकको हवाई कम्पनीबाट यात्रा गर्नुलाई प्रेरणादायी भन्दै आर्थिक मन्दीतर्फ मुलुक सोझिएका बेला भारतका राजनीतिज्ञले कहिल्यै यस किसिमको आर्थिक मितव्ययीता देखाउनु सक्दैनन् भनेर प्रश्नसमेत गरेका छन् ।


स्विडिस राजा गुस्ताफ आफ्नै देशमा आर्थिक मितव्ययीता र सरलताका लागि निकै लोकप्रिय मानिन्छन् । केही महिनाअघि मात्र राजा गुस्ताफले आफ्ना पाँचजना नाति तथा नातिनालाई राजपरिवारको सुविधाबाट वञ्चित गर्ने निर्णय गरेका थिए । स्विडेनमा राजसंस्था अझै पनि निकै लोकप्रिय रहनुमा यस किसिमका निर्णयहरूको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ ।


जेहोस्, आफ्नै छिमेकमा आएका विश्वकै सबैभन्दा सम्पन्न मुलुक स्विडेनका राजदम्पतीले देखाएको सरलता र शालीनताबाट नेपालका उच्च ओहोदामा रहेकाले पनि थोरै मात्र पनि अनुकरण गर्न सके जनताको नजरमा उनीहरूप्रतिको सम्मान पक्कै पनि बढ्ने थियो ।


प्रकाशित : मंसिर १७, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रकृतिविरुद्धको युद्ध रोकौं’

(एजेन्सी)

मड्रिड — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्धको युद्ध बन्द गर्नुपर्ने बताएका छन् । उनले मड्रिडमा सुरु भएको जलवायु सम्मेलनअघि अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असरबारे सचेत गराएका हुन् । 

उनले जलवायु परिवर्तनका कारण थप खराब नतिजाहरू देखिँदै गएकाले यसका खतरासामु विश्व समुदाय पछि हट्नै नसक्ने स्थितिमा पुगेको चेतावनीसमेत दिए । स्पेनको राजधानी मड्रिडमा सोमबार जलवायु विश्व सम्मेलन सुरु भएको छ । उनले मड्रिड सम्मेलनमा खासगरी विश्वका सबभन्दा धेरै प्रदूषक देशले जलवायु परिवर्तनका असरसँग जुध्ने पहलका लागि सहयोगको अपेक्षा गरेको बताए ।

उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्न गरिएका प्रयास अपर्याप्त रहेको उनको भनाइ छ । विश्व समुदायले अब नवीकरणीय ऊर्जा प्रयोगमा ध्यान दिनुपर्ने गुटेरेसले बताए ।

यसअघि गतसाता राष्ट्रसंघले विश्वव्यापी तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित राख्न विश्व समुदायले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षा पाँच गुनाले बढाउनुपर्ने बताएको थियो ।

राष्ट्रसंघीय निकायले पेस गरेको वार्षिक उत्सर्जनसम्बन्धी प्रतिवेदनमा सबैले वर्तमान वाचा पूरा गरे भने पनि सन् २१०० सम्म विश्वमा ३ डिग्री सेल्सियसले तापक्रम बढ्ने उल्लेख छ । प्रतिवेदनमा धनी देशले गरिब देशको तुलनामा छिटो उत्सर्जन घटाउनुपर्ने उल्लेख छ । जी–२० समूहका सदस्य राष्ट्रहरू विश्वभरको कार्बन उत्सर्जनको ७८ प्रतिशत भागका लागि जिम्मेवार छन् । ती देशमध्ये इटली, फ्रान्स, यूके र युरोपेली संघले मात्र उत्सर्जन शून्यमा सीमित राख्ने दीर्घकालीन लक्ष्य राखेका छन् ।

प्रकाशित : मंसिर १७, २०७६ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×