कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘प्रकृतिविरुद्धको युद्ध रोकौं’

(एजेन्सी)

मड्रिड — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्धको युद्ध बन्द गर्नुपर्ने बताएका छन् । उनले मड्रिडमा सुरु भएको जलवायु सम्मेलनअघि अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असरबारे सचेत गराएका हुन् । 

‘प्रकृतिविरुद्धको युद्ध रोकौं’

उनले जलवायु परिवर्तनका कारण थप खराब नतिजाहरू देखिँदै गएकाले यसका खतरासामु विश्व समुदाय पछि हट्नै नसक्ने स्थितिमा पुगेको चेतावनीसमेत दिए । स्पेनको राजधानी मड्रिडमा सोमबार जलवायु विश्व सम्मेलन सुरु भएको छ । उनले मड्रिड सम्मेलनमा खासगरी विश्वका सबभन्दा धेरै प्रदूषक देशले जलवायु परिवर्तनका असरसँग जुध्ने पहलका लागि सहयोगको अपेक्षा गरेको बताए ।


उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्न गरिएका प्रयास अपर्याप्त रहेको उनको भनाइ छ । विश्व समुदायले अब नवीकरणीय ऊर्जा प्रयोगमा ध्यान दिनुपर्ने गुटेरेसले बताए ।


यसअघि गतसाता राष्ट्रसंघले विश्वव्यापी तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित राख्न विश्व समुदायले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षा पाँच गुनाले बढाउनुपर्ने बताएको थियो ।


राष्ट्रसंघीय निकायले पेस गरेको वार्षिक उत्सर्जनसम्बन्धी प्रतिवेदनमा सबैले वर्तमान वाचा पूरा गरे भने पनि सन् २१०० सम्म विश्वमा ३ डिग्री सेल्सियसले तापक्रम बढ्ने उल्लेख छ । प्रतिवेदनमा धनी देशले गरिब देशको तुलनामा छिटो उत्सर्जन घटाउनुपर्ने उल्लेख छ । जी–२० समूहका सदस्य राष्ट्रहरू विश्वभरको कार्बन उत्सर्जनको ७८ प्रतिशत भागका लागि जिम्मेवार छन् । ती देशमध्ये इटली, फ्रान्स, यूके र युरोपेली संघले मात्र उत्सर्जन शून्यमा सीमित राख्ने दीर्घकालीन लक्ष्य राखेका छन् ।


प्रकाशित : मंसिर १७, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?