पशुचिकित्सक हत्या : हैदराबादमा चर्कियो प्रदर्शन

(एजेन्सी)

हैदराबाद — भारतमा दक्षिणी सहर हैदराबादमा एक महिला पशुचिकित्सकको बलात्कार र हत्या भएपछि सुरु भएको प्रदर्शन चर्केको छ । 

पशुचिकित्सक हत्या : हैदराबादमा चर्कियो प्रदर्शन

सहरको एक प्रहरी चौकीवरपर भेला भएका हजारौं मानिसले कानुनी राज्य र जवाफदेहिता माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले तीन अधिकारीलाई निलम्बन गरेको छ । पीडित महिलाको परिवारले उनी हराइरहेको उजुरी दिए पनि बेवास्था गरेको भन्दै तीन प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । ती महिलाका आफन्तहरूले राष्ट्रिय महिला आयोगलाई बताएअनुसार प्रहरी अधिकारीले महिला कसैसँग भागेकी हुन सक्ने भन्दै बेवास्था गरेका थिए ।


पीडित महिलाको परिवारका सदस्यले आफूतहरूलाई भेट्न आएका राजनीतिज्ञ एवं प्रहरी अधिकारीलाई फर्काइदिएका छन् । उनीहरूले घटनाको सत्यतथ्य अनुसन्धान र दोषीउपर छिटो कारबाही हुनुपर्ने माग गरेका बीबीसीले जनाएको छ ।


घटनाको अधिकांश भारतीय राजनीतिज्ञले भर्त्सना गरेका छन् । मुख्य विपक्षी दल कंग्रेस महासचिव प्रियंका गान्धी बाड्राले यस्ता घटनाबाट आममानिसको सोच परिवर्तित हुनुपर्ने बताएकी छन् । भारतमा पछिल्लो समय महिलामाथि बर्बर हिंसा भइरहेका उल्लेख गर्दै उनले यसलाई सहज स्वीकार्न गर्न नहुने बताइन् ।


राज्य सभा सांसद तथा पूर्व बलिउडकर्मी जया बच्चनले ‘महिलामाथि हुने बलात्कार तथा हत्याका दोषीलाई कडा कारबाही नगरेसम्म घटना नरोकिने’ बताएकी छन् । संसद्‌मा बोल्दै बच्चनले भनिन्, ‘सुन्दा कठोर लाग्छ, तर यस्ता मानिसलाई आममानिसका अगाडि मृत्युदण्ड दिनुपर्छ ।’


मानव अधिकारका विषयमा आफ्नो प्रस्ट भनाइ राख्दै आएकी बच्चनले पीडितलाई न्याय दिलाउने पक्षमा सांसदहरूको नेतृत्व गरेकी बीबीसीले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।


के हो घटना ?

गत बुधबार साँझ ६ बजेतिर पीडित पशुचिकित्सक आफ्नो स्कुटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बाटोमा आफ्नो स्कुटर पन्चर भएपछि उनले एक लरी ड्राइभरले मद्दत गर्छु भनेको जनाउँदै परिवारसँग टेलिफोन गरेकी थिइन् ।


परिवारका अनुसार टेलिफोन सम्पर्कका क्रममा उनले आफू टल प्लाजा (सडकमा आवतजावतका लागि पैसा तिर्ने ठाउँ) मा पर्खिरहेको बताएकी थिइन् । त्यसको केही समयपछि भने उनको फोनमा सम्पर्क हुन नसकेको परिवारका सदस्यले जनाएका थिए ।


त्यसको भोलिपल्ट उनको मृत शरीर सडकको ‘फ्लाइओभर’ मुनि भेटिएको थियो । बिहीबार बिहान एक दूध व्यापारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भारतको कानुनबमोजिम मृत्युपश्चात् पनि बलात्कारको पीडितको नाम खुलाउन नपाइने भए पनि शुक्रबार दसौं हजार मानिसले न्यायको मागसहित आक्रोशपूर्ण ट्वीट गरेपछि ती महिलाको नाम ट्वीटर ट्रेन्डिङको टपमा थियो । महिलाको बलात्कार तथा अन्य हिंसाका घटनापछि जनताहरू निकै आक्रोशित देखिए पनि भारतमा त्यस्ता घटनामा कुनै कमी आएको छैन ।


कस्तो छ जनआक्रोश ?

घटनापछि हैदराबादको बाहिरी क्षेत्रमा रहेको एक प्रहरी चौकीबाहिर दैनिक भेला भएका हजारौं मानिसले दोषीलाई मृत्युदण्डको माग गर्दै आएका छन् । हैदराबाद घटनालाई लिएर भारतीय राजधानीमा समेत मानिसले विरोध प्रदर्शन गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार देशका अन्य स्थानमा पनि पीडितलाई न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएका छन् ।


महिलाको बसोबास रहेको शम्शबादका स्थानीयले टोलमा प्रवेशमा समेत रोक लगाएका छन् । निकै आक्रोशित देखिएका उनीहरूले बोकेका प्लेकार्डमा लेखिएको छ, ‘सञ्चारमाध्यम, प्रहरी केही आउनु पर्दैन, बाहिरिया पर्दैन, कुनै सहानुभूति चाहिँदैन, केवल कारबाही, न्याय चाहिन्छ ।’


सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौनहिंसा तथा बलात्कारका घटना चर्चाका केन्द्रमा रहँदै आएका छन् ।

प्रकाशित : मंसिर १७, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?