३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लन्डनब्रिज चक्कु प्रहार, जेलबाट छुटेका थिए आक्रमणकारी

एजेन्सी

लन्डन — बेलायतको राजधानी लन्डनमा चक्कु प्रहार गर्ने व्यक्तिले यसअघि आतंकवादसँग सम्बन्धित अपराधमा जेल सजाय भुक्तान गरेका प्रहरीले जनाएको छ  । लन्डन ब्रिजमा शुक्रबार भएको चक्कु आक्रमणमा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो  ।

लन्डनब्रिज चक्कु प्रहार, जेलबाट छुटेका थिए आक्रमणकारी

आक्रमणमा तीन जना घाइते भएका थिए । आक्रमणकारीलाई भने प्रहरीले गोली हानी मारिदिएको थियो ।

बेलायत प्रहरीका अनुसार आक्रमणकारी २८ वर्षीय उस्मान खान हुन् । उनी गतवर्ष ससर्त जेलमुक्त भएका थिए । लन्डन ब्रिजमा चक्कु प्रहार भइरहेको देखेपछि सर्वसाधारणले उनलाई नियन्त्रणमा लिएका भए पनि प्रहरीले गोली चलाउँदा उनको ज्यान गएको थियो ।

आक्रमणको समय घटनास्थलमा केहीबेर भागाभाग भएको थियो । घाइते हुने तीन जनामा एक पुरुष र दुई महिला छन् । उपचारका लागि अस्पताल पुर्‍याइएका उनीहरूको परिचय खुलाइएको छैन ।

घाइतेमध्ये एक जनाको स्थिति गम्भीर तर स्थिर भएको स्वास्थ्य सेवा एनएचएसका प्रमुखले शुक्रबार बताएका थिए । अरू दुई जनामध्ये एक जना स्थिर अवस्थामा भएका र अर्का व्यक्तिलाई सामान्य पटक लागेको बताइएको छ । प्रहरीका अनुसार खान सन् २०१२ मा आतंवादसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । लन्डन प्रहरीले उक्त आक्रमणलाई ‘आतंकवादी घटना’ भएको बताएको छ । लन्डन महानगरीय प्रहरीका आयुक्त नील वसुले एक विज्ञप्ति प्रकाशित गर्दै खान सन् २०१८ को डिसेम्बरमा कारागारबाट सर्तसहित बाहिर आएको बताएका छन् ।

बेलायती सञ्चारमाध्यमका अुनसार ‘शरीरमा विद्युतीय उपकरण लगाउने र आफ्ना गतिविधि प्रहरीले निगरानीमा राख्ने सहमति गर्दै खान जेलमुक्त भएका’ थिए ।

बसुका अनुसार ‘खानले यस्तो आक्रमण किन गरे भन्नेबारे प्रहरीले छानबिन सुरु गरेको’ छ । प्रहरीले स्याफोर्डसरस्थित खान निवासमा खानतलासी गरेको जनाइएको छ । प्रहरीले आक्रमणमा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।

शुक्रबार दिउँसो १ बजेर ५८ मिनेटमा लन्डनको व्यस्थ पर्यटकीय स्थान लन्डनब्रिजको उत्तरी भागमा आक्रमण भएको थियो । आक्रमणकारी क्याम्ब्रिज विश्वविद्यालयले कैदीहरूको पुनर्बासका विषयमा गरेको एक कार्यक्रमबाट निस्केका थिए ।

प्रहरी आयुक्त वसुका अनुसार खानले कार्यक्रमको आयोजना गरिएको भवनमा नै आक्रमण गरेका थिए । त्यसको केहीबेरमा लन्डन ब्रिजमा पुगेपछि एक पैदलयात्रीले उनलाई नियन्त्रणमा लिएका थिए । तर तत्कालै पुगेको प्रहरीले गोली चलाएपछि उनको ज्यान गएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत नेताले आक्रमणकारीलाई नियन्त्रणमा लिने पैदलयात्रीको प्रशंसा गरेका छन् । विपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले पनि उनले ‘निकै साहस देखाएका’ बताएका छन् ।

प्रकाशित : मंसिर १५, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?