३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्याम्पसमा ४ हजार पेट्रोल बम

(एजेन्सी)

हङकङ — हङकङ प्रहरीले पोलिटेक्निकल युर्निभर्सिटि क्याम्पस (पीयूसी) बाट शुक्रबार करिब ४ हजार पेट्रोल बम बरामद गरेको छ । 

क्याम्पसमा ४ हजार पेट्रोल बम

प्रहरीका अनुसार शुक्रबार बरामद गरिएका ३ हजार ९८९ वटा पेट्रोल बममध्ये १ हजार ३३९ वटा निकै विस्फोटक छन् । प्रहरीले क्याम्पस क्षेत्रमा सरसफाई गरि विश्वविद्यालय व्यवस्थापनलाई बुझाइएको जनाएको छ । हङकङमा लोकतन्त्रको मागसहित ६ महिनादेखि आन्दोलन गरिरहेका प्रदर्शनकारीले केही सातादेखि पीयूसीलाई मुख्य अखडा बनाएका थिए । विरोध प्रदर्शनका क्रममा गतसाता उक्त क्याम्पसमा प्रहरी तथा आन्दोलनकारीबीच हिंसात्मक झडपहरू भएका थिए ।


पीयूसी क्षेत्रमा भएको आन्दोलनका क्रममा प्रहरीले १ हजार ३७७ लाई पक्राउ गरेको थियो । तीमध्ये ८१० जनालाई पीयूसी परिसरबाट बाहिरिने क्रममा र ५६७ नजिकैबाट नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकामध्ये ३१८ जना १८ वर्षमुनिका छन् । हङकङमा लोकतन्त्रको माग गर्दै गत जुनदेखि हरेक सप्ताहन्तमा विरोध प्रदर्शन गरिंदै आएको छ । विरोध चर्किंदै गएपछि प्रदर्शनकारीले बेइजिङ पक्षधर भनिएका व्यापारिक प्रतिष्ठानलाई ताकेर पेट्रोल बम प्रहार गरेका थिए ।


गत जुनमा विवादास्पद सुपुदर्गी विधेयक पारित गराउने सरकारी योजनाको विरोधमा प्रदर्शन सुरु भएको विरोध प्रदर्शन पछिल्ला दिनमा विधेयकको खारेजी तथा हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामामा केन्द्रित छ ।


प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विहीबार हस्ताक्षर गरेपछि चीन र अमेरिकाबीच जारी तनाव थप उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको ‘हङकङ मानव अधिकार र लोकतन्त्र ऐन’ मा हङकङले चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे/नगरेकोबारे अमेरिकाले वार्षिक समीक्षा गर्ने व्यवस्था छ ।


ट्रम्पको कदमले चिढिएको बेइजिङले अमेरिकालाई ‘जवाफी कदम चाल्ने’ चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयले ‘अमेरिकाले तथ्यलाई वेवास्था गरेको र सत्यलाई बंग्याएको तथा हिंसात्मक अपराधीलाई खुलमखुला समर्थन गरेको’ आरोप समेत लगाएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?