ट्रम्प अकस्मात् अफगानिस्तान पुगे : सेनालाई खाना बाँडे

(एजेन्सी)

(काबुल) — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको आकस्मिक भ्रमण गरेका छन् । ‘थ्यांक्स गिभिङ’ का अवसरमा बिनासूचना काबुल पुगेका ट्रम्पले अफगानिस्तानमा खटिएका अमेरिकी सैनिकलाई भेटे । 

ट्रम्प अकस्मात् अफगानिस्तान पुगे : सेनालाई खाना बाँडे

बग्राम हवाई सैन्य अखडामा राष्ट्रपति ट्रम्पले सैनिकहरूलाई आफैंले पस्केर खाना दिए । उनीहरूसँगै बसेर खाए र सामूहिक तस्बिर खिचाए । समाचार संस्था एएफपीका अनुसार सैनिकलाई खाना खुवाउने क्रममा राष्ट्रपति ट्रम्पलाई जर्नेल मार्क मिलीले सहयोग गरेका थिए ।


बीबीसीका अनुसार भ्रमणका क्रममा ट्रम्पले अमेरिका र तालिवान विद्रोहीबीच वार्ता भइरहेको जानकारी गाएका थिए । सेनालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘तालिवान विद्रोहीले वार्तामार्फत् सहमतिको खोजी गर्न चाहिरहेका छन् ।’


भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ घानीसँग पनि भेटघाट गरेका छन् । त्यस क्रममा राष्ट्रपति घानीले ‘अन्तिम बलिदान’ दिएको भन्दै अमेरिकी सेनालाई धन्यवाद दिएका थिए । उनले भने, ‘अफगान फौजले आफ्नो नियन्त्रण कायम गर्दै गइरहेका छन् ।’ हाल अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सैनिक तैनाथ छन् । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैनिक तैनाथ गरेको हो ।


१८ वर्षको अवधिमा तालिवान तथा इस्लामिक स्टेटविरुद्धको कारबाहीका क्रममा करिब २ हजार ४ सय सैनिको ज्यान गइसकेको छ । भ्रमणका क्रमा राष्ट्रपति ट्रम्पले अमेरिकाले अफगानिस्तानमा तैनाथ सैनिकको संख्या ८ हजार ६ सयमा झार्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कहिलेदेखि सैनिक संख्या घटाइनेबारे भने केही उल्लेख गरेका छैनन् ।


शान्तिवार्ताको पहल सुरु भएपछि हालै तालिवान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो । तर औपचारिक वार्ता भने सुरु हुन सकेको छैन । शान्तिवार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिवानबीच गतसाता बन्दी साटासाट गरेका थिए ।


अफगान अधिकारीले लामो समयदेखि तालिवानसँग युद्धविराम माग गर्दै आएका छन् । हाल तालिवानले आफ्नो नियन्त्रण कायम राखेको भू–भाग सन् २००१ यता कै सबैभन्दा ठूलो छ ।


यसअघि गत सेप्टेम्बरमा वासिङ्टननजिकैको क्याम्प डेभिडमा हुने भनिएको तालिवान अमेरिकी वार्ता अन्तिम समयमा स्थगित भएको थियो । ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित वरिष्ठ तालिवान नेतालाई वार्ताका लागि बोलाएका थिए । तर काबुलमा तालिवानले गरेको विस्फोटमा अमेरिकी सेनाको ज्यान गएपछि ट्रम्प क्रुद्ध भएका थिए ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?