नेतान्याहुमाथि भ्रष्टाचार मुद्दा

रोयटर्स

जेरुसेलम — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचार, जालसाजी र धोखाधडीको गरेको आरोप निर्धारण गरिएको छ । 

नेतान्याहुमाथि भ्रष्टाचार मुद्दा

उनी पदमै रहेका बेला भ्रष्टाचार र धोखाधडीलगायत मुद्दाको सामना गर्ने इजरायलका पहिलो प्रधानमन्त्री हुन् । नेतान्याहु इजरायका सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने नेता पनि हुन् । नेतान्याहुमाथि तीन छुट्टाछुट्टै आपराधिक मुद्दा जालसाजी, घुसखोरी र विश्वाघात गरेको आरोप निर्धारण भएको हो । यी मुद्दाको नाम ‘इजरायलविरुद्ध बेन्यामिन नेतान्याहु’ दिइएको छ ।


नेतान्याहुका प्रतिस्पर्धी तथा ब्लु एन्ड ह्वाइट पार्टीका प्रमुख बेन्नी गान्जले उनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उक्त दलले हालै भएको संसदीय चुनावमा नेतान्याहुको दलले भन्दा एक सिट बढी जितेको छ । नेतान्याहुको दल लिकुडको ३२ सिट छ ।


नेतान्याहुविरुद्धका आरोप पहिले नै निर्धारण हुनुपर्ने भए पनि चुनावका कारण रोकिएको थियो । इजरायलका महान्यायाधिवक्ता अभिचाई म्याडलब्लिटले प्रधानमन्त्रीको पक्ष लिँदै उनीमाथि लगाइएका सबै आरोप झूटा र राजनीतिले प्रेरित रहेको बताएका छन् । उनले भनेका छन्, ‘यो प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने प्रयास हो ।’ म्यान्डलब्लिट यसअघि नेतान्याहुको सरकारमा मन्त्रिपरिषद्का सचिव रहेका थिए । इजरायली अखबारहरूमा विपक्षी पार्टीहरूले विज्ञापन प्रकाशित गरी नेतान्याहुलाई पद छाड्न अपिल गरेका छन् । अपिलमा भनिएको छ, ‘नेतान्याहुले धोखा दिएकाले पदमा रहने अधिकार छैन ।’


इजरायली सञ्चार माध्यम ‘हारेत्स’ का अनुसार नेतान्याहुमाथि ‘केस–१०००’, ‘केस–२०००’ र ‘केस–४०००’ मा आरोप निर्धारण गरिएको छ । तीनै मुद्दाको जाँच ३ वर्षयता जारी थियो । उनीविरुद्ध आरोप निर्धारण गर्ने कार्य अप्रिलमा चुनाव हुनुअघि नै सुरु भएको थियो । सन् २०१८ मा सार्वजनिक दुइटा प्रहरी रिपोर्टमा उनीमाथि आरोप निर्धारण गर्ने निश्चित भएको थियो । ‘केस–१०००’ मा उनीमाथि जालसाजी र विश्वासघातको आरोप लगाउने निश्चित छ । यो मुद्दामा नेतान्याहु र उनकी पत्नी साराले लोकप्रिय फिल्म प्रोड्युसर अर्नन मिल्सेन र अस्ट्रेलियाली व्यापारी जेम्स प्याकरबाट २ लाख ८० हजार डलरको महँगो उपहार लिएका थिए । यो उपहार पाएबापत उनले सन् २००७ देखि २०१६ सम्म राजनीतिक सहयोग गरेका थिए । नेतान्याहुले उपहार लिएको आरोप स्वीकार गर्दै यो एउटा मित्रले दिएको गिफ्ट भएको प्रतिक्रिया दिएका थिए । ‘केस २०००’ मा नेतान्याहुमाथि धोखाधडी र विश्वासघातकै आरोप छ ।


यसमा उनले सन् २०१५ को निर्वाचनका क्रममा इजरायलको सबैभन्दा ठूलो हिब्रु भाषामा प्रकाशित हुने अखबारलाई आफ्ना पक्षमा कभरेज गर्ने सहमति गरेका थिए । यसको साटो उनले उक्त अखबारको प्रतिद्वन्द्वी पत्रिकालाई हानि पुर्‍याउने सम्झौता गर्ने प्रयास गरेका थिए ।

प्रकाशित : मंसिर ९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?