चरा हेर्न नेपालमा स्वागत

बसाइसराई गर्ने एसिया क्षेत्रका चराबारे बहस
अब्दुल्लाह मियाँ

मुम्बई — जब संरक्षणविज्ञ हुमबहादुर गुरुङले नेपालका संरक्षण क्षेत्र र चरा पर्यटनबारे प्रस्तुति दिदै चरा हेर्न नेपालमा स्वागत गरे, हलमा सहभागी विभिन्न देशका सहभागीले तरर..ताली बजाए ।

चरा हेर्न नेपालमा स्वागत

‘आगामी वर्ष सन् २०२० लाई नेपालले भ्रमण वर्ष घोषणा गरेको छ,’ बसाइसराई गर्ने एसिया क्षेत्रका चराबारे बहस गर्न मुम्बईको पर्यटकीय क्षेत्र लोनाभ्लाको रिसोर्टमा भेला भएका विशेषज्ञ, अनुसन्धानकर्ता माझ गुरुङले भने, ‘प्रकृतिले भरिपूर्ण सुन्दर देश नेपालमा तपाइँहरुले चरा मात्र होइन अद्वितीय सुन्दरता देख्न सक्नुहुनेछ ।’ नेपालमा झण्डै नौ सय प्रजातिका चरा पाइन्छन् । तराईदेखि हिमालसम्मै विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । संरक्षण क्षेत्र र बाहिरका सिमसार क्षेत्रमा चरा हेर्न सकिन्छ ।


नेपालका निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र समुदायले संचालन गरेका होमस्टे मुख्य पर्यटकीय केन्द्र बन्दै गएको बताउदै गुरुङले त्यसको आनन्द लिन एक पटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरे । ‘चरा हेर्ने कि, सुन्दर हिमाल या विविधतायुक्त समुदाय ? त्यो सबै नेपालमा सम्भव छ,’ उनले वर्णन गरे, ‘भ्रमण वर्षको मौकामा तपाइँहरुलाई एकपटक सुन्दर देश नेपालमा स्वागत छ, आउनुस् प्रकृतिमा रमाउनुस् ।’ सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन मन्त्रालयले अलग्गै पर्यटन वर्ष सचिवालय खोलेर पर्यटन वर्षको तयारी गरिरहेको छ ।


बर्डलाइफ इन्टरनेसनलको एसियाली सचिवालय, सिंगापुरका क्षेत्रीय कार्यक्रम व्यवस्थापक गुरुङले नेपालमा प्रकृति संरक्षणसँगै समुदायमार्फत संचालन भइरहेका होमस्टे र समुदायमा आधारित संरक्षण कार्यक्रम सफल नमुना भएकोसमेत उल्लेख गरे । कार्यक्रममा आफ्नो भनाइ राखेपछि संवाददातासँगको भेटमा उनले अब नेपालमा चरा अवलोकनमा आधारित पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । ‘नेपाल भ्रमण गर्ने १० प्रतिशत पर्यटकको उद्देश्य चरा अवलोकन गर्नुहुन्छ,’ उनले भने । नेपाल भ्रमण गर्ने पर्यटकमध्ये ६० देखि ७० प्रतिशत पर्यटकले निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र भ्रमण गर्ने गरेको उल्लेख गर्दै गुरुङले समुदायले संचालन गरेका होमस्टे र अन्य पर्यावरणमैत्री पर्यटनमार्फत पनि पर्यटकलाई आकर्षित गर्न सकिने तर्क गरे ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपाल भित्रिएका १० लाख पर्यटकमध्ये ७ लाखले निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र घुमेका थिए । जलवायु परिवर्तनको सूचक चरालाई समेत मान्ने गरिन्छ । तापक्रम वृद्धिका कारण आहारामा फेरबदल हुने भएकाले चराको वासस्थानमा समेत बदलाब आइरहेको अध्ययनले देखाएको छ । ‘त्यसैले चरा र जैविक विविधताका लागि महत्वपूर्ण मानिएका क्षेत्र (आईबीए) को व्यवस्थित संरक्षण र व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ,’ गुरुङले भने । नेपाल पंछी संरक्षण संघ (बीसीएन) का अनुसार नेपालमा ३७ स्थानलाई आइबीए पहिचान गरिएको छ ।


सम्मेलनका दौरान नेपालमा गिद्धको संरक्षण, अनुसन्धान र पुनर्वास कार्यक्रममार्फत् सरकारलाई सघाइरहेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन) ले समेत प्रस्तुति दिएको छ । बीसीएनकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले सामुदायिक वनका उपभोक्ताका कारण गिद्ध संरक्षणमा सहयोग पुगेको बताइन् । संकटमा परेका गिद्धको संरक्षण गर्ने, गिद्ध सुरक्षित क्षेत्र (भल्चर सेभ जोन) प्रवर्द्धन गर्ने र तिनलाई पुनर्वासमा फर्काउने कार्यमा नेपाल विश्वमै उदाहरणीय छ । नेपालको सिको गर्दै युरोप र अफ्रिकी मुलुकहरुले पनि पछ्याइरहेका छन् ।


बीसीएनले सरकारसंग मिलेर ७० जिल्लालाई गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरेको उनले उल्लेख गरिन् । सरकारसंग मिलेर बीसीएनले गिद्ध प्रजातिको अनुसन्धान र प्रजनन क्षमता बढाउने खालका कार्यक्रममा समेत जोड दिएको छ । पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको प्रतिबन्धसंगै गिद्धको मृत्युदरमै कमी आयो र जसले गर्दा संकटमा पर्दै गएका गिद्ध प्रजातिको संख्या विस्तार हुन पुगेको उनले उल्लेख गरिन् । यसै सफलतालाई विश्वभर उदाहरणीय मान्दै छिमकी मुलुकहरु भारत, बंगलादेश र अफ्रिकी मुलुकहरुले पनि पछ्याएका छन् ।


नेपालले विश्वमै पहिलोपटक प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक वासस्थानमा गिद्ध पुनःस्थापना गरेकोसमेत उनले चर्चा गरिन् । ‘अहिलेसम्म ३० वटा प्राकृतिक बासस्थानबाट संकलन गरी हुर्काइएका र ३१ वटा प्रजनन् केन्द्रका गरी ६१ गिद्धलाई पखेटामा रेडियो कलर जडान गरेर प्राकृतिक वासस्थानमै छोडेका छौं,’ उनले भनिन् । रेडियो कलर जडान गरेर प्राकृतिक वासस्थानमा छाडिएको गिद्ध नेपालको नवलपरासीको पिठौलीबाट ११ सय किलोमिटर यात्रा गर्दै पाकिस्तानसम्म पुगेको थापाले चर्चा गरिन् । समुदायले संचालन गरेका गिद्ध रेस्टुरेन्टका कारण उक्त पंछीको संरक्षणसँगै त्यसबारे सबैस्तरमा जनचेतनास्तर बढेकोसमेत उनले उल्लेख गरिन् ।


बसाइसराई गर्ने चराको सम्मेलनमा प्रस्तुति दिंदै रुसका विशेषज्ञ इभग्ने सिरिचोस्कोभीले जलवायु परिवर्तन, मासुका लागि हुने अवैध सिकार र चोरी, वासस्थानको ह्राससँगै हुने आहारको कमी विश्वभर बसाइसराई गर्ने चराका मुख्य चुनौंती रहेको उल्लेख गरे । अवैध शिकार र आहार व्यवस्थापन गर्ने हो भने मात्र यिनको भविष्य सुरक्षित हुने तर्क गरे । उनले भने, ‘पहिला चरा बचाउ, अनि तिनको वासस्थान अनि आहार ।’


बसाइसराई गर्ने चराले उडानका क्रममा प्रयोग गर्ने बाटो (फ्लाई वे), वासस्थान, चरन क्षेत्र, तिनका चुनौती र उत्पन्न संकटबारे बहस गर्न एसियाली देशका चरा विशेषज्ञ, अनुसन्धानकर्ता, चरा प्रजातिमा काम गर्ने संघसंस्था र संरक्षणकर्मी सोमवारदेखि यहाँ भेला भएका हुन् । बम्बई नेचुरल हिस्ट्री सोसाइटी (बीएनएचएस) को आयोजनामा भएको सम्मेलनमा चरा संरक्षण र अनुसन्धानमा कार्यरत विशेषज्ञ, चरामा काम गर्ने संस्थाका प्रतिनिधि गरी करिब २ सय ५० जना सहभागी छन् । एसियाली ३० मुलुकका विशेषज्ञ यहाँ सहभागी छन् । विश्वभर १ सय १५ वटा संस्थामार्फत चराको संरक्षण र अनुसन्धानमा सघाइरहेको बर्डलाईफ इन्टरनेशनल, युकेकी प्रमुख कार्यकारी अधिकृत प्याट्रिसिया जुरिटा र त्यहाँ कार्यरत वैज्ञानिकले समेत यहाँ प्रस्तुति दिएका छन् ।


शुक्रवारसम्म जारी रहने सम्मेलनमा बसाइसराई गर्ने चरा प्रजातिको विश्वव्यापी अवस्था, सुरक्षा चुनौती, वासस्थानको अवस्था रसंरक्षणमा भए गरेका काम, अनुभवबारे ज्ञान साटासाट हुनेछ । यस्तै, चराको सिकार, वासस्थानमा क्षयीकरण, वातावरणमा आएको विनाश, बढ्दो प्रदूषण र प्राकृतिक हिसाबले आकाश वायुमण्डलमा देखापरेको फेरबदलबारे बहस गर्दै चराको सुरक्षित वासस्थान र आहारको उपलव्धताबारे पनि छलफल हुने आयोजकले बताएको छ ।

प्रकाशित : मंसिर ४, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?