१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दिल्लीको पिउने पानी ‘अस्वच्छ’

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — वायु प्रदूषणको अत्यधिक मार खेपिरहेको भारतको राजधानी नयाँदिल्लीमा सार्वजनिक धारामार्फत् वितरण हुने पिउने पानीसमेत अत्यधिक दूषित रहेको पाइएको छ । 

भारतको गुणस्तर विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विभिन्न २१ वटा प्रादेशिक राजधानीमध्ये नयाँदिल्लीको खानेपानी सबैभन्दा प्रदूषित रहेको जनाइएको छ । अन्य विभिन्न सहरमध्ये कालकाता, चेन्नई, बैंग्लोर, जयपुर, लखनउलगायत सहरको पानीको नमुनाले पनि न्यूनतम गुणस्तर पूरा गरेका छैनन् ।


प्रतिवेदनमा भारतका सहरहरूमध्ये मुम्बईको खानेपानी मात्र पिउनयोग्य रहेको जनाइएको छ । परीक्षणका क्रममा विभागले तोकेको विभिन्न २८ वटा मापदण्डमध्ये दिल्लीको पानी १९ वटामा अयोग्य देखिएको थियो । भारतीय सहरहरूमध्ये मुम्बईले मात्र ती सबै मापदण्ड पूरा गरेको छ ।


मापदण्ड परीक्षण गर्दा आर्सेनिक र रेडियोधर्मी पदार्थ, विषालु रसायन, पीएच स्तर, कोलिफर्मजस्ता हानिकारक जीवाणु, गन्ध, क्लोरिनजस्ता रसायन लगायतको मात्रा हेरिएको थियो । जसमध्ये दिल्लीको पानीमा हानिकारक कोलिफर्म पाइनुका साथै एलुमिनियम, एमोनिया, आइरन, सल्फाइडलगायतका पदार्थ पनि भेटिएका थिए ।


अध्ययनमा दिल्लीको पानीमा पीएच स्तर पनि अत्यधिक रहेको देखिएको छ । त्यसैगरी, दिल्लीको सबैजसो नमुनामा धमिलोपन र नराम्रो गन्धसमेत पाइएको छ । जब कि केन्द्र सरकारले जल जीवन मिसनअन्तर्गत सन् २०२४ भित्र सबै घरमा स्वच्छ पिउने पानी पुर्‍याउने घोषणा गरेको छ ।


त्यसै पनि प्रदूषित हावाका कारण कष्टकर दैनिकी भोगिरहेका दिल्लीबासीलाई धारामा आउने पानीसमेत पिउन अयोग्य भएको तथ्यले थप प्रताडित तुल्याएको छ । विगत केही वर्षयता दिल्लीबासीले अत्यधिक प्रदूषणको मार खेप्दै आएका छन् । त्यसमाथि पछिल्लो एक महिनायता त वायुको प्रदूषण स्तर जोखिमपूर्ण स्तर नै नाघेको छ । जसले गर्दा दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरका रूपमा चिनिन पुगेको छ ।

दिल्लीको वायु प्रदूषणका पछाडि स्थानीय कलकारखाना, अत्यधिक सवारीसाधनका अतिक्ति पन्जाब र हरियाणाका खेतमा धानको पराल र ठुटो जलाउँदा निस्केको धुवाँलाई प्रमुख कारण मानिएको छ । त्यसमाथि तिहारलगायतका चाडपर्वमा पड्काइएका पटाकाका कारण पनि वायु प्रदूषण अत्यधिक बढ्न गएको ठानिएको छ ।


विभिन्न निकायले गरेको मापनले यहाँको हावाको प्रदूषण स्तर निकै नै जोखिमपूर्ण देखिएको छ । गत शुक्रबार दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्वूआई) ३९३ थियो ।


प्रकाशित : मंसिर ४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?