१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डढेलोले सिड्नी प्रदूषित

भीषण डढेलोसँगै फैलिएको बाक्लो धुवाँका कारण वायु प्रदूषण ‘जोखिमयुक्त’ स्तरमा
(एजेन्सी)

सिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण डढेलोका कारण सिड्नी वरपरका क्षेत्रको वायु निकै प्रदूषित भएको छ । 
अधिकारीका अनुसार सिड्नी वरपरका क्षेत्रहरू बाक्लो धुवाँले छोपिएका छन् भने वायुको स्तर जोमिखयुक्त रहेको छ । सोमबार तथा मंगलबारको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीमा वायु प्रदूषणको मात्रा ‘जोखियुक्त’ स्तरमा पुगेको हो । 

डढेलोले सिड्नी प्रदूषित

स्थानीय बासिन्दाहरूले बिहान उठ्दा आफूहरूले धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नी अस्टेलियाकै ठूलो सहर हो । सिड्नीमा करिब ५० लाख मानिस बस्छन् । न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा केही साताअघि डढेलो फैलिएको थियो ।

अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार डढेलोका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । अधिकारीका अनुसार डढेलो अझैसम्म पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन ।


अधिकारीहरूले सिड्नीको तापक्रम केही दिन ३७ डिग्री सेल्सियस हाराहारीमा रहने जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले स्थानीयलाई अत्यावश्यक कामबाहेक घरमै बस्न र बाहिर निस्कनै परे शारीरिक बल पर्ने काम नगर्न सुझाव दिएका छन् ।


न्यु साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसलाई थप सचेत हुनु आग्रह गरेको छ । ‘धुवाँ अझै केही दिनसम्म रहने निश्चित छ,’ न्यु साउथ वेल्सको ग्रामीण अग्नि सेवाका अधिकारीले भनेका छन् । गत साता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो । सहरका केही भागमा वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको कम्तीमा आठ गुणा बढी मापन भएको छ । खासगरी मंगलबार बढेको प्रदूषणको मुख्य कारण डेढ सय किलोमिटर टाढाको बोलेमी राष्ट्रिय निकुञ्जको एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको अधिकारीहरूको भनाइ छ । सिड्नीको उत्तरी क्षेत्रमा नोभेम्बर ८ देखि सक्रिय डढेलो विभिन्न ५० स्थानमा फैलिएको छ ।


अधिकारीका अनुसार डढेलोका कारण कम्तीमा ४ सय ६८ संरचना ध्वस्त भइसकेका छन् । डढेलो फैलिएको क्षेत्रवरपरका बासिन्दा करिब तीन सातादेखि बाक्लो धुवाँ र वायु प्रदूषणको सिकार हुँदै आएका छन् । अधिकारी आगामी केही साता डढेलो थप बढ्न सक्ने आशंका गरेका छन् ।


छिमेकी राज्य क्विन्सल्यान्ड बढ्ने तापक्रमका कारण डढेलो झन् खतरनाक हुन सक्ने जनाइएको छ । साउथ अस्ट्रेलिया सरकारले डढेलोबाट ‘विनाशकारी’ खतरा आउन सक्ने भन्दै चेतावनी जारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा बुधबारको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको जनाइएको छ ।


प्रकाशित : मंसिर ४, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?