प्रदर्शनले हङकङ अस्तव्यस्त

आन्दोलनकारीले पेट्रोल बम र वाणले आक्रमण गरेपछि प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार
(एजेन्सी)

हङकङ — लोकतन्त्र पक्षधरले गर्दै आएको महिनौं लामो प्रदर्शनका कारण हङकङ अस्तव्यस्त बनेको छ । 

प्रदर्शनले हङकङ अस्तव्यस्त

प्रदर्शनका कारण दैनिक जीवन निकै प्रभावित भएको छ भने उद्योगधन्दा, व्यवसाय तथा शैक्षिक संस्था ठप्प प्रायः छन् । पर्यटकको आगमन घट्दै गएको छ भने उपभोग्य वस्तु उत्पादन तथा लगानीका क्षेत्र घाटामा गएका छन् ।


लोकतन्त्रको माग गर्दै हङकङमा गत जुनदेखि हरेक सप्ताहन्तमा विरोध प्रदर्शन गरिँदै आएको छ । प्रदर्शन चर्कंदै गएपछि सरकारले गतसाता देशमा आर्थिक मन्दी छाएको जनाएको थियो । सरकारका अनुसार देशको अर्थतन्त्र ३.२ प्रतिशतले ओरालो लागेको छ । गत जुनमा विवादास्पद सुपुदर्गी विधेयक पारित गराउने सरकारी योजनाको विरोधमा प्रदर्शन सुरु प्रदर्शन पछिल्ला दिनमा विधेयकको खारेजी, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा तथा प्रदर्शनका क्रममा भएको प्रहरी दमनको छानबिनमा केन्द्रित छ ।

विधेयकमा हङकङमा अपराध तथा बलात्कार आरोप लागेकालाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने प्रावधान राखिएको थियो । त्यसको विरोधमा उत्रेका प्रदर्शनकारीले स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी गर्दै आएका छन् । सरकारले विधेयक स्थगित गरे पनि प्रदर्शनकारीले विधयेक खारेज हुनुपर्ने माग छाडेका छैनन् ।


विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर सडकमा उत्रेका छन् । हङकङका एक १९ वर्षीय युवाले ताइवानमा गर्भवती प्रेमिकाको हत्या गरी आफ्नो देश फर्केपछि सुपुर्दगी कानुनबारे चर्चा सुरु भएको हो ।


झडप जारी

विरोधका क्रममा आइतबार रातभरिजसो प्रदर्शनकारी र प्रहरीबीच एक विश्वविद्यालय परिसरमा झडप भएको थियो । दुवै पक्षबीच सोमबार बिहान फेरि झडप भएपछि तनाव झन् चर्केको छ ।


प्रदर्शनकारीले पेट्रोल बम, ढुंगा र अन्य घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो । पोलिटेक्निक युनिभर्सिटीभित्र प्रहरी प्रवेश गर्न खोजेपछि सयौं प्रदर्शनकारीले प्रतिरोध गरेका थिए । उनीहरूले प्रहरीलाई लक्षित गरी पेट्रोल बम तथा वाण हानेपछि विश्वविद्यालयका प्रवेशद्वारमा आगो सल्केको बीबीसीले उल्लेख गरेको छ ।


केही दिनदेखि प्रदर्शनकारीहरू उक्त युनिभर्सिटी कब्जा जमाएर बस्दै आएका छन् । सोमबार भएको झडपमा एक प्रहरी अधिकारी घाइते भएका जनाइएको छ । प्रहरीले उक्त स्थानबाट तत्काल हट्न प्रहरीले आइतबार राति चेतावनी दिएको थियो ।


विश्वविद्यालय प्रशासनले पनि प्रदर्शनकारीलाई आग्रह गरे पनि बाहिर ननिस्केपछि रातभरजसो प्रहरी र प्रदर्शनकारीबीच झडप जारी रह्यो ।


युनिभर्सिटीलाई नियन्त्रणमा लिने प्रयास गरेपछि प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम हानेका थिए । त्यसलगत्तै आगलागी फैलिएपछि केही प्रदर्शनकारी बाहिर भाग्न खोजे पनि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उनीहरू भित्रै फर्केका थिए ।


हङकङ प्रहरी प्रवक्ताले आन्दोलनकारीलाई सुरक्षाकर्मीमाथि पेट्रोल बम, वाण वा अन्य घातक हतियार प्रयोग नगर्न आग्रह गरेका छन् । प्रहरीसँग अन्तिम अवस्थामा गोली हान्नुको विकल्प नरहने उनको चेतावनी छ ।


चीनले हङकङ मामिला आफ्नो आन्तरिक भएको बताउँदै आएको छ । सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । यसअन्तर्गत मुख्य भूमि चीनको तुलनामा हङकङका जनताले उच्च स्वतन्त्रताको अभ्यास गर्दै आएका छन् ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?