इन्धनको मूल्यवृद्धिपछि इरानमा प्रदर्शन

(एजेन्सी)

तेहरान — पेट्रोलको मूल्यवृद्धिको विरोधमा इरानमा सुरु आन्दोलन चर्कंदै गएको छ । सरकारी निर्णयको विरोधमा तेहरानका सडकमा भेला भएका प्रदर्शनकारीलाई इरानका गृहमन्त्रीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् । 

सिर्जन नगरमा भएको प्रदर्शनका क्रममा कम्तीमा एक जनाको मृत्यु भएको हो । प्रदर्शनकारीले कम्तीमा एक इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेर आगो लगाउने प्रयास गरेपछि प्रहरीसँग भिडन्त भएको हो ।


सामाजिक सञ्जालमा सार्वजनिक दृश्यले प्रदर्शनका क्रममा अन्य व्यक्तिको पनि मृत्यु भएको संकेत गरेको छ । त्यसलगत्तै सरकारी अधिकारीले सामाजिक सञ्जालमा भिडिओ राख्ने मानिसलाई पनि कानुनीकारबाही गर्ने चेतावनी दिएका थिए ।


गृह मन्त्रालयको आपत्कालीन सुरक्षा केन्द्रद्वारा प्रकाशित विज्ञप्तिमा केही प्रयोगकर्ताले ‘अफवाह र असत्य सूचना’ फैलाएको उल्लेख छ । राष्ट्रिय सुरक्षा भंग गर्ने र सर्वसाधारणलाई दिग्भ्रमित पार्ने उद्देश्यले पुराना घटनासँग सम्बन्धित दृश्यहरू सामाजिक सञ्जालमार्फत फैलाइएको अधिकारीको दाबी छ । सरकारले अनपेक्षित रूपमा पेट्रोल बिक्रीवितरणका लागि नयाँ नीति घोषणा गरेपछि देशव्यापी विरोध सुरु भएको हो । देशका विभिन्न स्थानमा भइरहेका विरोध प्रदर्शन नरोकिएकाले थप कारबाही गर्न सुरक्षा निकाय बाध्य भएको गृहमन्त्रीको भनाइ छ ।


सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा गृहमन्त्री अब्दोलरेजा रहमानी–फाज्लीले ‘देशमा गैरकानुनी’ गतिविधि जारी रहे शान्ति कायम राख्न राज्यका निकायले हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘केही सीमित व्यक्तिले सर्वसाधारणको भावनाको दुरुपयोग गरी त्रास र आतंक मच्चाएका छन् ।’


इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीले ‘इस्लामिक पद्धति’ को विरोध गर्ने र विदेशबाट परिचालित व्यक्तिले अशान्ति मच्चाएको आरोप लगाए ।

प्रकाशित : मंसिर २, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?