श्रीलंकामा राष्ट्रपतीय चुनावः राजापाक्ष–प्रेमदासा टक्कर

एजेन्सी

कोलम्बो — श्रीलंकामा सयौं मानिसको मृत्यु हुने गरी भएको आतंकवादी हमलाको ७ महिनापछि नयाँ राष्ट्रपति चयनका लागि चुनाव भएको छ । 
श्रीलंकाको दशकौं लामो गृहयुद्ध सन् २००९ मा अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । शनिबार सम्पन्न चुनावमा राष्ट्रपतिका प्रत्याशीका रूपमा ३५ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

श्रीलंकामा राष्ट्रपतीय चुनावः राजापाक्ष–प्रेमदासा टक्कर

सबै उम्मेदवारको नाम समेट्नुपरेकाले मतपत्र दुई पटक पट्याउनुपर्ने रहेको थियो । वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चने चुनावी प्रतिस्पर्धामा भाग लिएका छैनन् । इशाईहरूको चाड ‘इस्टर’ का बेला श्रीलंकामा भएको आक्रमणमा कम्तीमा २५० जनाभन्दा बढीको ज्यान गएको थियो । घटनापछि निकै आलोचित बनेका राष्ट्रपति सिरिसेनाप्रति मानिस क्रुद्ध भएका थिए । यो चुनावमा उम्मेदवारी नदिनुमा उक्त कारण प्रमुख ठानिएको छ ।

श्रीलंकाका गिर्जाघर र होटलमा इस्लामिक स्टेट (आईएस) समूहले गराएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा २५३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका थिए ।


घटनामा आफ्ना गुप्तचर निकाय कमजोर सावित भएका सरकारले स्वीकार गरेको थियो । भारतका गुप्तचर निकायबाट हमलाका योजनाबारे सूचना आएका भए पनि श्रीलंकाली अधिकारीले गम्भीर रूपमा नलिएको रक्षामन्त्रीले बताएका थिए ।श्रीलंकामा हाल राष्ट्रिय सुरक्षाको मुद्दा सबैभन्दा बढी चर्चामा छ । त्यसका साथै अल्पसंख्यक समुदायका मुद्दा र बेरोजगारीका विषयमा समेत मतदाताले उत्तिकै चासो दिएका छन् ।


एक चरणमा हुने निर्वाचनमा मतदाताले आफ्नो प्राथमिकताअनुसार बढीमा तीन जनालाई भोट हाल्न पाउँछन् । तर, कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएको खण्डमा भने शीर्ष स्थानका दुई उम्मेदवारमध्येबाट मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता छानिन्छ । कुनै एक उम्मेदवारले ५० प्रतिशत मत ल्याएको खण्डमा चुनावी नतिजा आइतबार आउने बताइएको छ ।


बलियो को ?

चुनावी प्रतिस्पर्धामा दुई जना उम्मेदवारबीच कडा टक्कर रहेको जनाइएको छ । तीमध्ये एक गोटाभया राजापाक्षमाथि आफ्ना दाइको शासनकालमा रक्षामन्त्री हुँदा मानव अधिकार हनन् गरेको आरोप छ । महिन्दा राजापाक्षको राष्ट्रपतिकालमा एक दशक रक्षामन्त्री बनेका गोटाभयामाथि हजारौं मानिस बेपत्ता पारेको आरोप लाग्ने गरेको छ ।


तर, गृहयुद्ध अन्त्य गर्नमा आफ्नो योगदान रहेको उनको दाबी छ । इस्टर हमलापछि भने उनको आत्मबल उच्च रहेको बताइन्छ । सुरक्षा मामिलामा कडा अडान राख्दै आएका गोटाभयाले सिंहाली बौद्ध समुदायको समर्थन जुटाएका छन् । राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार गर्ने कुरासमेत प्रमुखताका साथ उठाएका छन् । तर, कतिपयले चीनसँगको ऋण बढिरहेकाले उनको आलोचना गरेका छन् ।


त्यसैगरी, चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका सजिथ प्रेमदासाले चुनावमा आफू विजयी भए तमिल टाइगर्सलाई पराजित गर्ने सेनाप्रमुख शरथ फोन्सेकालाई राष्ट्रिय सुरक्षा प्रमुख बनाउने वाचा मतदातासँग गरेका छन् । त्यसका साथै प्रेमदासाले गरिबी निवारण र गुणस्तरीय आवास योजना अघि सारेका छन् । राजापाक्षको विपरीत प्रेमादसाले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गरिनुपर्ने बताउँदै आएका छन् । उनी सन् १९९३ मा तमिल टाइगर्सबाट मारिएका तत्कालीन राष्ट्रपति रनासिंघे प्रेमादासाका

छोरा हुन् ।

किन उठेनन् सिरिसेना ?

चुनावमा वर्तमान राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सन् २०१५ मा भएको चुनावमा महिन्दा राजापाक्षलाई अप्रत्याशित रूपमा हराएका थिए । तर, उनले कुनै खास कारण नदेखाई वर्तमान चुनावमा उम्मेदवारी दिएनन् । श्रीलंकालीमाझ उनको लोकप्रियता क्रमशः घटिरहेको छ । इस्टर घटनामा गुप्तचर संयन्त्रका सूचना बेवास्ता गरेका कारण उनी अलोकप्रिय भएका जनाइएको छ । त्यसका साथै उनले प्रधानमन्त्रीलाई पदबाट हटाएपछि श्रीलंकामा संवैधानिक संकट उत्पन्न हुनुका साथै सत्ता संर्घष चर्केको थियो ।

प्रकाशित : मंसिर १, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?