चिलीमा रोकियो प्रदर्शन

संविधानबारे जनमतसंग्रह गरिने
एजेन्सी

सान्टिआगो — दक्षिण अमेरिकी राष्ट्र चिलीमा संविधानबारे जनमतसंग्रह गरिने सहमतिपछि प्रदर्शन रोकिएको छ । चिलीका जनताले नयाँ संविधान निर्माण तथा सामाजिक–राजनीतिक सुधारको माग गर्दै करिब महिनादेखि दिनहुँजसो आन्दोलन गर्दै आइरहेका छन् । 

प्रदर्शनकारीको माग सम्बोधन गर्दै सरकारले नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने निर्णय गरेको जनाएको हो । आन्दोलनकारी र सरकारबीच भएका वार्तामा वर्तमान संविधान विस्थापित गर्न जनमत संग्रह गर्ने विषयमा सहमति भएको हो । घन्टौं लामो छलफलपछि दुवै पक्षबीच सन् २०२० को अप्रिलमा जनमतसंग्रह गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


संविधान तथा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत नागरिकका आधारभूत अधिकारहरूको व्यवस्था नगरिएको भन्दै लाखौं नागरिक प्रदर्शनमा उत्रेका थिए । सुरुमा दमनको नीति अख्तियार गरेको सरकार प्रदर्शन चर्कंदै गएपछि पछि हटेको हो । चिलीको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । चिलीका पूर्व शासक अगस्तो पिनोचेटले जारी गरेको संविधान लोकतान्त्रिक नरहेको प्रदर्शनकारीको दाबी रहेको थियो । पछिल्ला प्रदर्शनमा तानाशाही शासकले जारी गरेको संविधानलाई लोकतान्त्रिक संविधानले विस्थापित गरिनुपर्ने माग गर्दै आएका थिए ।


चिलीका गृहमन्त्री गोन्जालो बुमलले पछिल्लो सहमति ऐतिहासिक भएको बताएका छन् । उनले सहमतिबमोजिम चिलीमा नयाँ जनमतसंग्रह हुने र वर्तमान संविधानलाई निरन्तरता दिने वा नयाँ बनाउनेबारे निर्णय हुने बताए ।

प्रकाशित : मंसिर १, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?