कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पविरुद्ध महाअभियोग: अनुसन्धान गर्न सार्वजनिक सुनुवाइ

सन् २०२० मा हुने राष्ट्रपतीय चुनाव आफ्नो पक्षमा पार्न युक्रेनसँग अनुचित सहयोग मागेको आरोप
एजेन्सीहरू

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउनेसम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ गरिएको छ । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय चुनाव आफ्नो पक्षमा पार्न युक्रेनसँग अनुचित सहयोग मागेको ट्रम्पमाथि आरोप लगाइएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पविरुद्ध महाअभियोग: अनुसन्धान गर्न सार्वजनिक सुनुवाइ

एकजना अमेरिकी कूटनीतिज्ञले सुनुवाइका क्रममा ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा सम्भावित प्रतिस्पर्धी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आग्रह गरेका’ दाबी गरेका छन् । युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरका अनुसार ट्रम्पले पूर्वउपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा पहलका लागि आफ्ना सहयोगीलाई दबाब दिएका बताएका छन् ।


टेलरका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले सुनेका थिए । त्यसैगरी, युरोपेली संघका लागि अमेरिकी राजदूत गोर्डन सोन्डलन्डलाई ट्रम्पले टेलिफोन गरेका थिए । सोन्डलन्डले युक्रेनी पक्ष बाइडेनबारे अनुसन्धान अघि बढाउन सहमत भएको ट्रम्पलाई बताएका जनाइएको छ ।


बाइडेन विपक्षी दल डेमोक्र्याटिकका तर्फबाट आगामी चुनावमा राष्ट्रपतिको सम्भावित उम्मेदवार हुन् । बन्द कोठाको गरिएको सुनुवाइका क्रममा टेलरले राष्ट्रपति ट्रम्पले बाइडन र उनका छोराविरुद्ध युक्रेनले भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु नगरेकाले युक्रेनलाई दिने अमेरिकी सहयोग रोकिरहेको बताएका थिए । बाइडेनका छोराले युक्रेनको ऊर्जा कम्पनीमा काम गर्थे । बाइडन अमेरिकाका उपराष्ट्रपति हुँदा सन् २०१४ बाट उनका छोराले युक्रेनी ठूलो ऊर्जा कम्पनीमा आकर्षक सुविधा लिएर काम गरेका थिए ।


यसअघि उक्त मुद्दाबारे रिपब्लिकन र डेमोक्र्याट पक्षले एक अर्कालाई आरोप–प्रत्यारोप लगाएका थिए । ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि डेमोक्र्याटहरूले उनलाई ‘कू’ गर्ने प्रयास गरेको रिपब्लिकनहरूको आरोप छ ।


संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम सिफले यसअघि ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई ‘परम्परागत गुन्डाहरूबीच भएको कुराकानी’ भनेका छन् । जेलेन्स्की हाल युक्रेनका राष्ट्रपति छन् । सुनुवाइमा संलग्न समितिका रिपब्लिकन सदस्य एरिक साल्वेलले ‘अमेरिकी जनतासामु डेमोक्र्याटको धन्दा’ प्रस्ट पार्ने समय आएको बताएका बीबीसीले उल्लेख गरेको छ ।


बीबीसीका अनुसार ट्रम्पविरुद्धको महाअभियोग सुनुवाइले अनुसन्धानमा महत्त्वपूर्ण मोड ल्याउन सक्छ । सोन्डलन्ड र राष्ट्रपति ट्रम्पबीच सिधा कुराकानी हुने गरेका विवरणहरू आए पनि युक्रेनसम्बन्धी आरोपका विषयमा हालसम्म प्रत्यक्ष प्रमाण जुटेको थिएन । तर कार्यवाहक राजदूत टेलरको बयानले त्यो अवस्था बदलिएको छ ।


संसद्को गुप्तचर हेर्ने समितिका अनुसार शुक्रबार अर्का एक प्रत्यक्षदर्शीले बयान दिँदै छन् । परिचय नखुलाइएका ती व्यक्ति टेलरले उल्लेख गरेका सहयोगी हुन सक्ने जनाइएको छ । अर्को साता समितिले राजदूत सोन्डलन्डलाई बयान दिन बोलाएको छ । ती दुईमध्ये कुनै एकले टेलरको भनाइलाई समर्थन गरे भने ट्रम्पको बचाउमा आइरहेका तर्कहरू कमजोर हुनेछन् ।


अमेरिकी कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुइटा राजनीतिक प्रक्रियाको पहिलो भाग महाअभियोग हो । सुनुवाइ प्रक्रियापछि यसबारे तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ मा मतदान हुनेछ ।


तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेको खण्डमा त्यसबारे माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने हुन्छ । माथिल्लो सदनबाट महाअभियोग पारित हुन दुई तिहाइ मत आवश्यक हुन्छ । तर राष्ट्रपतिको दल रिपब्लिकनको पकड रहेको माथिल्लो सदनबाट त्यो पारित हुने सम्भावना कमै छ ।


अमेरिकाको इतिहासमा बिल क्लिन्टन र एन्ड्रिउ जोन्सन गरी दुई राष्ट्रपतिमाथि महाभियोग लगाइएको थियो । तर दुवै जनाविरुद्धको महाअभियोग पुष्टि भने भएन । राष्ट्रपति रिचार्ड निक्सनले भने महाअभियोग लाग्नुअघि नै राजीनामा दिएका थिए ।


‘सार्वजनिक सुनुवाइ ठट्टा’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाअभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइ ‘ठट्टा’ भएको बताएका छन् । सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए ।


ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइका क्रममा भनिएका कुरा बनावटी भएको दाबी गरे । उनले भने, ‘मैले सुनुवाइलाई एक मिनेट पनि हेरेको छैन । किनकि म त्योभन्दा महत्त्वपूर्ण कामका लागि भेटघाटमा व्यस्त थिएँ । त्यहाँ भनिएका कुरा बनावटी हुन् । त्यसलाई अघि बढाउनु हुँदैनथ्यो ।’


सुनुवाइपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आफूविरुद्ध लगाइएका आरोप पहिलो पटक सुनेको बताए । उनले भने, ‘मलाई यसबारे केही थाहा छैन ।’

प्रकाशित : कार्तिक २८, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?