भेनिस जलमग्न

(एजेन्सी)

भेनिस — समुद्री छालका कारण इटालीको पर्यटकीय सहर भेनिस जलमग्न भएको छ । बुधबार आएको छालका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अधिकारीहरूका अनुसार बुधबार आएको समुद्री छाल ५ दशकयताकै ठूलो हो । छाल अनुमगन निकायका अनुसार भेनिसमा बुधबार जमिनको सतहभन्दा १.८७ मिटर (करिब ६ फिट) माथिसम्म पानी जम्मा भएको हो ।

भेनिसमा सन् १९२३ देखि पानीको छाल मापन गर्न थालिएको हो । त्यसयताको यो दोस्रो ठूलो छाल हो । सन् १९६६ मा सहरमा पानीको छाल १.९४ मिटरसम्म पुगेको थियो ।

भेनिसका ताजा तस्बिरहरूमा पानीले मुख्य पर्यटकीय क्षेत्रहरू प्रभावित भएपछि पर्यटक अन्योलमा देखिन्छन् । कतिपय पर्यटक सकिन नसकी आफ्ना झोला बोकेर जलमग्न स्थानबाट गन्तव्यतर्फ गइरहेका देखिन्छन् ।

बीबीसीका अनुसार सहरको मुख्य पर्यटकीय क्षेत्र सेन्ट मार्क स्क्वायर सबैभन्दा बढी प्रभावित भएको छ । सरकारी तथ्यांकअनुसार मार्कको बासिलीका १ हजार २ सय वर्षमा छैटौं पटक डुबानमा परेको हो । त्यसमा २० वर्षयता नै चार पटक डुबान भएको हो ।

इटालीको उत्तर–पूर्वी तटमा रहेको भेनिस सय वटा विभिन्न टापुले बनेको हो ।

अधिकारीहरूका अनुसार पेलेस्त्रिना टापुमा दुई जनाको मृत्यु भएको हो । घरमा पसेको पानी निकाल्न भ्याकुम लगाउने क्रममा बिजुलीको झड्काले एक व्यक्तिको मृत्यु भएको हो । अर्का एक जना अन्यत्रै मृत भेटिएका हुन् ।

भेनिसका मेयर लुइगी ब्रुगनारोले सहरमा विपद्को अवस्था घोषित गर्ने बताएका छन् । उनले सहरमा पसेको पानीका कारण विभिन्न पर्यटकीय क्षेत्रमा दाग तथा फोहोर भएको चिन्ता व्यक्त गरेका छन् ।

‘अवस्था निकै नाटकीय छ । हामीले सरकारलाई सहयोगका लागि आग्रह गरेका छौं,’ ब्रुगनारोले भने, ‘यसको असर निकै ठूलो हुने देखिन्छ । यो सब जलवायु परिवर्तनको असर हो ।’

ब्रुगनारोका अनुसार बुधबार साँझसम्म पनि सहरमा पानीको सतह मानिसको घुँडाभन्दा माथिसम्म छ । उनले भने, ‘मानिस पानीमा आधा डुबेर यताउता गरिरहेका छन् ।’

डुबानका कारण सयौं व्यवसायी प्रभावित भएका छन् । खासगरी रेस्टुराँ व्यवसायलाई निकै क्षति पुगेको छ । सहरका विभिन्न स्थानमा जम्मा भएको पानीमा टेबुल तथा कुर्सीहरू तैरिरहेका छन् । कपितय पसलमा मानिसले पानीबाट महँगा सामानहरू जोगाउन प्रयास गरिहेका देखिन्छन् ।

५९ वर्षीय स्थानीय तिजियानो कोलारिनले सहरमा पानीको सतह निकै चाँडो बढेको बताए । उनले भने, ‘अप्रत्याशित रूपमा पानीको सतह निकै छिटो बढ्यो । हामी हेरेको हेर्‍यै भयौं ।’ उनले अधिकांश घरकाझ्याल–ढोकाका सिसा फुटेका जनाए ।

पर्यटकलाई सहरको अवलोकन गराउने क्रममा तीन वटा डुंगा डुबेका छन् । एक पर्यटकले भनिन्, ‘मेरो जीवनकालमा मैले यस्तो कहिल्यै देखेकी थिइनँ । यो निकै भयानक छ ।’

अधिकारीले पर्यटकको उद्धार गरिएको तथा अवलोकन कार्य जारी राखिएको जनाएका छन् । अग्निनियन्त्रण निकायले २ सय ५० भन्दा बढी स्थानमा डुंगा तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रकाशित : कार्तिक २८, २०७६ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

“हामी कलाकारलाई सुन्छौं”

मधु शाही

(बाँके) — साथीले खुसुक्क उनको कानमा भनिन्, ‘राजेश हमाल आए ।’ सुन्नेबित्तिकै नारायणी कुमालका कान ठाडा भए । मनमा अनेक कौतूहल जागे– कस्ता देखिन्छन्, के लुगा लगाएका छन्, गोरा छन् कि काला ! एकै मिनेटमा नारायणीले साथीसँग थुप्रै जिज्ञासा राखिन् । उनीभन्दा अलि राम्ररी आँखा ठम्याउन सक्ने भएकीले साथी सुनपरी विकलाई राजेशको स्वरूप वर्णन गर्न सजिलो भयो । नारायणीले सुनाइन्, सुनपरीले महसुस गरिन् ।

यी दुई भन्दा ठ्याम्मै आँखा नदेख्ने सावित्री खड्काले भने राजेशलाई सुनेरै आनन्द लिइन् । ‘हामी त कलाकारलाई सुन्छौं,’ उनले भनिन्, ‘आवाजबाटै मान्छेको हुलिया महसुस हुन्छ ।’

नेपालगन्जमा मंगलबार ‘सप्तरंग साहित्यिक यात्रा’ मा राजेशसँगै आएका अन्य कलाकारहरूलाई हेर्ने ठूलो भीड थियो । भीडमध्ये दृष्टिविहीन दर्शकअरू अरूभन्दा विशेष थिए । उनीहरूको रोजाइ, रमाइलो गर्ने तरिका र कार्यक्रमको महत्त्व फरक थियो । नेपालगन्जको मंगलप्रसाद स्कुलमा कक्षा ८ मा पढ्ने उनीहरू स्कुलको पोसाकसँगै किताबका झोला बोकेर कन्सर्टमा आएका थिए । दर्शकको अघिल्लो पंक्तिमा उभिँदै उनीहरूले ठेलमठेलमा सांगीतिक कार्यक्रम सुने । कुन कलाकार स्टेजमा आयो भन्ने उद्घोषकबाट मात्रै थाहा पाउँथे ।

अरू दर्शक मञ्चमा कलाकार देखेपछि चिच्याउँथे भने उनीहरू उद्घोषकले भनेपछि मात्रै उफ्रिन्थे ।

फ्यानसँग हमाल ।तस्बिर : मधु/कान्तिपुर

कलाकारको आवाज सुनेरै फ्यान भएका यी दृष्टिविहीन दर्शकलाई प्राय: कन्सर्ट छुटाउन मन लाग्दैन । १५ वर्षीया नारायणीले राजेश हमालले चलाउने ‘को बन्छ करोडपति’ कार्यक्रम सुनेर फ्यान भएकी हुन् । सुनेकै आधारमा उनलाई हमाल निकै पाका र कुशल कलाकार हुनुपर्छ भन्ने लाग्यो रे । अभिनय भने अहिलेसम्म सुन्न पाएकी छैनन् । ‘निकै बोल्ड आवाज छ उहाँको,’ उनी अनुमान लगाउँदै भन्छिन्, ‘त्यसैले अग्लो हुनुहन्छ होला ।’ गायिका मेलिना राई, गायक सुगम पोखरेल, प्रकाश सपुत, हिमाल सागर, रवि ओड र हास्य अभिनेता जितु नेपालको आवाजै सुनेर उनीहरूले कन्सर्टको भरपुर मज्जा लिए । दृश्य हुनु र नहुनुले उनीहरूलाई खासै फरक पारेको थिएन । एउटा हातमा मोबाइल तेर्साएर कन्सर्टको आवाजसमेत रेकर्ड गरेकी सावित्रीले राजेशलाई भेटेको प्रमाण जुटाउँदै थिइन् । ‘साथीले पत्याउँदैनन्,’ उनले भनिन्, ‘यही रेकर्ड सुनाउँछु ।’ धेरैथरीका फ्यान प्रत्यक्ष भेट्न पाउँदा कन्सर्ट विशेष लाग्ने राजेशले बताए । उनी नेपालगन्जमा पटक–पटक आएका छन् । पछिल्लो समय जेनेरेसन ग्यापले गर्दा युवा पुस्तालाई चिनाउन आफू एक्टिभ हुनुपर्ने उनले सुनाए । ‘म कलाकार हुँ, त्यसैले हरेक जेनेरेसनसँग घुलमिल हुनुपर्छ,’ उनले भने, ‘कन्सर्टमा कल्पना नै नगरेका फ्यान भेट्दा अझै ऊर्जा थपिन्छ ।’ कन्सर्टमा उनी गायक, गायिकाको गीतमा खुलेर नाचे । नेपालगन्जमा पत्नी मधुकै लागि सपिङ गर्ने उनको योजना सुनाए । ‘किनमेलमा खासै चासो छैन,’ उनले भने, ‘तर, मधु (पत्नी) सँग जोगिन पनि केही न केही किन्नै पर्छ ।’

गायक प्रकाश सपुतको ‘गलबन्दी च्यातियो...’, गीतमा राजेश नाचेको देखेर दर्शक उत्साहित भएका थिए । ग्रिस्म ब्रोडकास्टिङ र समुदाय प्रहरीले गरेको गरेको कन्सर्टको मुख्य उद्देश्य समाजमा शान्ति, सद्भाव र पर्यटन प्रवर्द्धन गर्नु थियो । सातवटै प्रदेशमा सात कलाकारले सद्भावका रंग छर्न सांगीतिक कार्यक्रम गरिएको हो । यद्यपि प्रस्तुतिमा भने उद्देश्यअनुरूप सप्तरंगी भाव कमै झल्किएको थियो । सातवटै प्रदेशको सांगीतिक र सांस्कृतिक रंग कन्सर्टमा देखिँदैन थियो । बरू, सात कलाकारले आ–आफ्नै शैलीका कामको प्रचार गर्न भने भ्याए ।

प्रदेश ३ देखि सुरु भएको सांगीतिक कार्यक्रम प्रदेश १ र प्रदेश २ हुँदै प्रदेश ५ को नेपालगन्जमा आइपुगेको हो । सुगमले ‘भन्छु, आज मनका कुरा...,’ ‘तिमी रोएको पल...’ सुनाए । प्रकाशले राष्ट्रियता झल्काउने गीत, ‘टल टल टल्किने ऐना हाम्रो नेपालजस्तो त कहीं छैन...,’ बाट सुरु गरेर लोक दोहोरी ब्याटलसम्म गाउन भ्याए । मेलिनाले ‘रातो टीका निधारमा...,’ ‘गोजीमा दाम छैन...,’ ‘कुटुमा कुटु...,’ लगायत फिल्मी गीत गाइन् । हिमाल सागर गीतमा भन्दा प्रस्तुतिमा स्टाइलिस देखिन्थे ।



प्रकाशित : कार्तिक २८, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×