अस्ट्रेलियाको सरकारी पाठ्यक्रममा नेपाली विषय

नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियाका दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन् । अहिले न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु भएको हो ।

अस्ट्रेलियाको सरकारी पाठ्यक्रममा नेपाली विषय

बहुसांस्कृतिक देशका रूपमा चिनिएको अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा समेट्ने गरेको छ । सोही क्रममा नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल तथा दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषा अध्ययन/अध्यापन गराइएको हो ।


नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ । जसका लागि सरकारी तवरमै स्थायी शिक्षकसमेत नियुक्त गरिएको छ ।


विगत ६ वर्षदेखि अस्ट्रेलियामा स्थायी सरकारी शिक्षकका रूपमा काम गरिरहेका लोक सफल पौडेलले दक्षिण अस्ट्रेलियामा नेपाली भाषा पढाउने शिक्षकको जिम्मेवारी पाएका छन् । यहाँस्थित कक्षा ८ देखि १२ कक्षासम्म नेपाली भाषा अध्यापन गराइने गरिएको उनले बताए । शिक्षक पौडेलका तीन विद्यालयका माध्यमिक तहमा करिब १ सय २० विद्यार्थी नेपाली भाषा अध्ययन गरिरहेका छन् । यहाँस्थित राज्यको शिक्षा मन्त्रालयको स्कुल अफ ल्याङवेज अन्तर्गत यो शैक्षिक कार्यक्रमलाई व्यवस्थापन गरिएको छ ।


अर्कातिर सिड्नीका दुई विद्यालयमा भने प्राथमिक तहमा मात्र नेपाली विषय अध्यापन हुने गरेको छ भने करिब १ सय २० विद्यार्थी अध्ययनरत छन् । ‘विद्यार्थीको चासो र समुदायको आग्रहमा अस्ट्रेलिया सरकारले यस किसिमको भाषा अध्ययनको व्यवस्था गर्ने गरेको छ ।’ सरकारी तवरमा नेपाली समुदायका लागि काम गर्दै आएका क्रषि आचार्यको भनाइ छ । उनका अनुसार न्यु साउथ वेल्स सरकारको शिक्षा मन्त्रालयअन्तर्गत यो शैक्षिक कार्यक्रम लागू गरिएको हो ।


नेपाली भाषालाई सरकारी पाठ्यक्रममा राख्ने प्रक्रियागत छलफलमै सहभागी भएका कार्की यसले नेपाली भाषा र संस्कृतिलाई अस्ट्रेलियाले उच्च स्थान दिएको रूपमा बुझ्नुपर्ने सुनाउँछन् । उनका अनुसार विभिन्न प्रक्रियापछि विद्यार्थीले नेपाली भाषा यहाँका सरकारी विद्यालयमा ३ वर्षअघिदेखि नै अध्ययन गर्न थालेका हुन् । ‘सरकारी पाठ्यक्रमअनुसार सन् २०१६ देखि नै यो प्रक्रिया सुरु भइसकेको भए पनि यसको लोकप्रियता पछिल्लो समयमा बढिरहेकाले यो संख्या अझ बढ्ने प्रक्रियामा छ,’ पौडेलले कान्तिपुरसँग भने ।


आचार्यले सिड्नीका दुई विद्यालयमा नेपाली मात्र नभएर केही भारतीय, फिलिपिनोलगायत अन्य देशका विद्यार्थीले समेत ऐच्छिक रूपमा नेपाली विषय अध्ययन गरिरहेका बताए । दक्षिण अस्ट्रेलियाका तीनै विद्यालयमा भने नेपाली विद्यार्थी मात्र अध्ययनरत छन् । ‘नेपाली विद्यार्थीको चाहना र बढ्दै गएको जनसंख्यालाई मध्यनजर गरेर यहाँको शिक्षा विभागले यस नेपाली भाषालाई प्राथमिकता दिएको हो,’ करिब एक दशकदेखि अस्ट्रेलियाको शिक्षकका रूपमा कार्यरत कपिल पाण्डेले भने ।


हाल नेपाली विषय अध्यापन भइरहेका सरकारी विद्यालय नेपालीभाषीको बाहुल्य रहेका क्षेत्र हुन् ।

प्रकाशित : कार्तिक २७, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?