अस्ट्रेलियाको सरकारी पाठ्यक्रममा नेपाली विषय

नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियाका दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन् । अहिले न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु भएको हो ।

ZenTravel

बहुसांस्कृतिक देशका रूपमा चिनिएको अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा समेट्ने गरेको छ। सोही क्रममा नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल तथा दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषा अध्ययन/अध्यापन गराइएको हो।

Meroghar

नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ। जसका लागि सरकारी तवरमै स्थायी शिक्षकसमेत नियुक्त गरिएको छ।

विगत ६ वर्षदेखि अस्ट्रेलियामा स्थायी सरकारी शिक्षकका रूपमा काम गरिरहेका लोक सफल पौडेलले दक्षिण अस्ट्रेलियामा नेपाली भाषा पढाउने शिक्षकको जिम्मेवारी पाएका छन्। यहाँस्थित कक्षा ८ देखि १२ कक्षासम्म नेपाली भाषा अध्यापन गराइने गरिएको उनले बताए। शिक्षक पौडेलका तीन विद्यालयका माध्यमिक तहमा करिब १ सय २० विद्यार्थी नेपाली भाषा अध्ययन गरिरहेका छन्। यहाँस्थित राज्यको शिक्षा मन्त्रालयको स्कुल अफ ल्याङवेज अन्तर्गत यो शैक्षिक कार्यक्रमलाई व्यवस्थापन गरिएको छ।

अर्कातिर सिड्नीका दुई विद्यालयमा भने प्राथमिक तहमा मात्र नेपाली विषय अध्यापन हुने गरेको छ भने करिब १ सय २० विद्यार्थी अध्ययनरत छन्। ‘विद्यार्थीको चासो र समुदायको आग्रहमा अस्ट्रेलिया सरकारले यस किसिमको भाषा अध्ययनको व्यवस्था गर्ने गरेको छ।’ सरकारी तवरमा नेपाली समुदायका लागि काम गर्दै आएका क्रषि आचार्यको भनाइ छ। उनका अनुसार न्यु साउथ वेल्स सरकारको शिक्षा मन्त्रालयअन्तर्गत यो शैक्षिक कार्यक्रम लागू गरिएको हो।

नेपाली भाषालाई सरकारी पाठ्यक्रममा राख्ने प्रक्रियागत छलफलमै सहभागी भएका कार्की यसले नेपाली भाषा र संस्कृतिलाई अस्ट्रेलियाले उच्च स्थान दिएको रूपमा बुझ्नुपर्ने सुनाउँछन्। उनका अनुसार विभिन्न प्रक्रियापछि विद्यार्थीले नेपाली भाषा यहाँका सरकारी विद्यालयमा ३ वर्षअघिदेखि नै अध्ययन गर्न थालेका हुन्। ‘सरकारी पाठ्यक्रमअनुसार सन् २०१६ देखि नै यो प्रक्रिया सुरु भइसकेको भए पनि यसको लोकप्रियता पछिल्लो समयमा बढिरहेकाले यो संख्या अझ बढ्ने प्रक्रियामा छ,’ पौडेलले कान्तिपुरसँग भने।

आचार्यले सिड्नीका दुई विद्यालयमा नेपाली मात्र नभएर केही भारतीय, फिलिपिनोलगायत अन्य देशका विद्यार्थीले समेत ऐच्छिक रूपमा नेपाली विषय अध्ययन गरिरहेका बताए। दक्षिण अस्ट्रेलियाका तीनै विद्यालयमा भने नेपाली विद्यार्थी मात्र अध्ययनरत छन्। ‘नेपाली विद्यार्थीको चाहना र बढ्दै गएको जनसंख्यालाई मध्यनजर गरेर यहाँको शिक्षा विभागले यस नेपाली भाषालाई प्राथमिकता दिएको हो,’ करिब एक दशकदेखि अस्ट्रेलियाको शिक्षकका रूपमा कार्यरत कपिल पाण्डेले भने।

हाल नेपाली विषय अध्यापन भइरहेका सरकारी विद्यालय नेपालीभाषीको बाहुल्य रहेका क्षेत्र हुन्।

प्रकाशित : कार्तिक २७, २०७६ २०:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

थबाङमा चन्द समर्थित उम्मेदवार वडा अध्यक्षमा उठ्ने

काशीराम डाँगी

रोल्पा — मंसिर १४ मा हुने उप निर्वाचनमा रोल्पास्थित थबाङ गाउँपालिका-१ को वडा अध्यक्षका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । बुधबार मनोनयन दर्ता गराउनेमा गत स्थानीय तहको निर्वाचनमा उक्त वडामा निर्वाचित एक जना वडा सदस्य समेत छन् । 

सरकारले गतिविधिमा प्रतिबन्ध लगाएको चन्द समूहका एक जना समर्थकले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्ष पदको निर्वाचनका लागि उक्त वडामा निर्वाचित सदस्य भद्रकुमार झाँक्रीले मनोनयन दर्ता गराएका हुन्। उनले अध्यक्षका पदमा उठ्‌नका लागि सदस्य पदबाट राजीनामा पनि दिएका छन्।

लामो समय सहमति जुराएर निर्वाचन गर्ने प्रयास भएपनि सहमति नमिलेपछि सत्तापक्षीय दल नेकपाका जनकबहादुर बुढामगर र कांग्रेसका कलम रोकामगरले पनि वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्।

उक्त वडाका अध्यक्ष फर्कबहादुर बुढामगरको गत असार ६ मा मस्तिष्क घातका कारण मृत्यु भएको थियो। गत स्थानीय तहको निर्वाचनमा सो वडामा चन्द समूहको उम्मेदवारको पूरै प्यानल विजयी भएको थियो।

थबाङमा चन्द नेतृत्वको नेकपाको बाक्लो प्रभाव भएको बताइन्छ। उप निर्वाचन सम्पन्न गर्न थबाङमा सरकारले उच्च सुरक्षा व्यवस्था गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितका अधिकारीहरुले थबाङको सुरक्षा व्यवस्था मिलाउन पटक पटक स्थलगत अनुगमन गरेका छन्।

थबाङ-१ मा करिब एक हजार २ सय मतदाता छन्।

प्रकाशित : कार्तिक २७, २०७६ २०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×