कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अस्ट्रेलियाको डढेलो अनियन्त्रित

२ राज्यमा आपत्कालीन अवस्था घोषणा, ६०० विद्यालय तथा शैक्षिक संस्था बन्द
एजेन्सी

सिड्नी — अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलो अनियन्त्रित भएको अधिकारीहरुले जनाएका छन् ।

अस्ट्रेलियाको डढेलो अनियन्त्रित

डढेलोका कारण हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं मानिस घाइते भएका छन् । बीबीसीका अनुसार करिब २ सय संरचना जलेर नष्ट भएका छन् । डढेलोका कारण केही पुल, विद्यालय, सरकारी भवन ध्वस्त हुनुका साथै विद्युत् लाइन अवरुद्ध छ ।


मंगलबार साँझसम्म राज्यका सयभन्दा बढी स्थानमा डढेलो सक्रिय रहेको जनाइएको छ । हालसम्म करिब १० लाख हेक्टर क्षेत्र डढेलोले ध्वस्त भएको जनाइएको छ । अधिकारीहरुले तीव्र गतिको हावाहुरी, उच्च तापक्रम र न्यून आद्रताका कारण डढेलो ‘तत्काल नियन्त्रण गर्न असम्भव देखिएको’ जनाएका छन् ।


अधिकारीहरुले मंलबारको डढेलोलाई सन् २००९ मा भिक्टोरियामा फैलिएको आगलागीसँग तुलना गरेका छन् । ‘कालो शनिबार’ नाम दिइएको उक्त घटनामा १ सय ७३ जनाको ज्यान गएको थियो ।


स्थानीय सञ्चारमाध्यमका अनुसार डढेलो विभिन्न सय स्थानमा सक्रिय छ । तीमध्ये ३ स्थानलाई उच्च खतरा रहेको भन्दै चेतावनी जारी गरिएको छ । न्यु साउथ वेल्समा मात्रै ६ सय विद्यालय तथा शैक्षिक संस्था बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यु साउथ वेल्सको शिक्षा विभागले आगलागी नियन्त्रणमा नआएसम्म विद्यालय बन्द गर्न यसअघि नै निर्देशन दिएको थियो ।


डढेलो विनाशकारी बन्दै गएपछि न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा एक साताका लागि आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । आपत्कालीन अवस्थाको घोषणासँगै अग्नि नियन्त्रण निकायले सरकारी स्रोत अतिरिक्त प्रयोग गर्ने, इन्धन सेवा बन्द गर्ने तथा स्थानीयलाई सुरक्षित स्थानमा सार्ने अधिकार पाएको छ ।


अस्ट्रेलियाका बिमा कम्पनीहरुको प्रतिनिधिमूलक संस्था इन्स्युरेन्स काउन्सिलले डढेलोका कारण सिड्नीका अति प्रभावित क्षेत्रमा मात्र करिब ४ करोड डलरभन्दा बढीको क्षती भएको अनुमान गरेको छ ।


न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा करिब १ हजार किलोमिटर क्षेत्र समेट्दै अघि बढेको डढेलो अग्नि नियन्त्रकहरूले नियन्त्रण गर्ने प्रयास गरिरहेका जनाइएको छ । डढेलो अन्यत्र फैलन नदिन १ हजार ३ सय बढी अग्नि नियन्त्रक खटाइको छ ।


अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै मानिसलाई नआत्तिन भनेका छन् । उनले आवश्यकताअनुसार सेना परिचालन गर्न सरकार तयार रहेको बताएका छन् ।


यसअघि, मरिसनले अस्ट्रेलियामा पछिल्ला महिना पटकपटक ढडेलो फैलिएको भन्दै रोकथामका लागि हरेक नागरिक सचेत बन्नुपर्ने बताएका थिए । अस्ट्रेलियाले हरेक वर्ष डढेलोसँग जुध्दै आएको भए पनि यस वर्ष विगतको तुलनामा ठूलो क्षेत्रमा फैलिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?