१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार

एजेन्सी

हङकङ — हङकङमा सोमबार बिहान भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अुनसार प्रहरीको गोली लागी घाइते भएका दुई जनाको अवस्था गम्भीर छ ।

हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार

हङकङमा लोकतन्त्रको माग गर्दै २४ सातादेखि हरेक सप्ताहन्तमा प्रदर्शन हुँदै आएको छ । पछिल्ला प्रदर्शनमा विवादास्पद विधेयक खारेज, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा, प्रहरी दमनको स्वतन्त्र छानबिनलगायत माग राखिँदै आएको छ ।


हङकङ मामिला आफ्नो आन्तरिक मामिला बताउँदै आएको चीनले पटकपटक प्रदर्शनकारीलाई चेतावनी दिँदै आएको छ । सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ ।


अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने प्रदर्शनकारीको दाबी छ ।


विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भन्दै विशाल प्रदर्शनहरू गरिँदै आएको हो । सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने तर सरकारी अधिकारीको भनाइ छ ।


विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर सडकमा उत्रेका छन् । हङकङका एक १९ वर्षीय युवाले ताइवानमा गर्भवती प्रेमिकाको हत्या गरी आफ्नो देश फर्केपछि सुपुर्दगी कानुनबारे चर्चा सुरु भएको हो ।


सोमबारको प्रदर्शनका क्रममा प्रहरी अधिकारीले बन्दुक निकालेको फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडियोमा देखिन्छ । अनुहार छोपेका प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन् । त्यसलगत्तै प्रहरीले थप २ गोली चलाए पनि कसैलाई लागे/नलागेको भिडियोमा प्रस्ट छैन ।


गोली लागेको व्यक्तिको शल्यक्रिया गरिएको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । त्यसैगरी, अर्को एक भिडियोमा प्रहरीले एउटा मोटरसाइकल नियतवश प्रदर्शनकारीसँग ठोकाएको देखिन्छ ।


बीबीसीका अनुसार सोमबार हङकङका विभिन्न स्थानमा मुठभेड भएका थिए । गत जुनमा विरोध प्रदर्शन सुरु भएयता प्रहरीले गोली चलाएको यो तेस्रोपटक हो ।


चाइनिज विश्वविद्यालयलगायत अन्य स्थानमा गरिएका प्रदर्शनमा प्रहरीले रबरका गोली तथा अश्रुग्यास प्रहार गरेको जनाइएको छ । प्रदर्शन चर्केपछि कतिपय विश्वविद्यालयले सोमबार पठनपाठन रद्द गरेका थिए ।

प्रकाशित : कार्तिक २५, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?