मोदीले दिए पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद

एएफपी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् । 

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।
सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने,“पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।”

प्रकाशित : कार्तिक २३, २०७६ १५:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वेदना : न्यायका घाउहरू

घनश्याम खड्का

भोको पेटलाई खाना र नाङ्गो जीउलाई नाना नै न्याय भएजस्तो वर्गविशेषको दृष्टिले हेर्दा न्याय सबका लागि उही छैन  । महिलावादका लागि पुरुषको थिचोमिचोको अन्त्य न्याय हो, दलितका लागि जातीय व्यवस्थाको इतिश्री न्याय हो भने कालाहरूका लागि चाहिँ रंगभेदको समूल नष्ट गर्नु नै न्याय हो  ।

मार्क्सवादीहरूका लागि न्याय भनेको सर्वहाराको हातमा सासन हो, पुँजीवादीहरूका लागि चाहिँ सकेसम्म सम्पत्ति जोड्न पाउने स्वतन्त्रता । दृष्टिविहीनका लागि हेर्न पाउनुजत्तिको न्याय अर्को नहोला, सुन्न नसक्नेका लागि ‘शब्द ब्रह्म’ को कर्णस्पर्श नै न्याय हो ।


सामान्य अर्थमा न्याय भनेको दोषीलाई सजाय दिनु हो । प्लेटोले लेखेको पुस्तक ‘द रिपब्लिक’ मा सुकरातको एक प्रश्न छ, ‘न्याय के हो ?’ सुकरात भन्छन्, ‘न्याय सत्य हो ।’ उनका चेला प्लेटो सुकरातको उत्तरमाथि विचारको अर्को फूल चढाउँछन्, ‘न्याय खुसी पनि हो ।’ हुन पनि हो, खुसी नदिने न्याय पनि के न्याय ? फेरि प्रश्न त उठिहाल्छ, सत्यबिनाको खुसी पनि के खुसी ?


हालसम्म विकसित पश्चिमा न्यायका अवधारणा यी दुई गुरु चेलाको ‘सत्य’ र ‘खुसी’ को बीउबाट उम्रेका रूख र फैलिएका हाँगाहरू हुन् जसको सम्बन्ध एकअर्कासँग गहिरो गरी जेलिएको छ । बन्द गर्ने बटन बिग्रेको पुरानो क्यासेट प्लेयरबाट बजिरहने कुनै धुनजस्तो अचेलका विकासे अभियन्ताको मुखबाट अक्सर निस्किरहने पदावली ‘सामाजिक न्याय’ यही गुरु–चेलाको सत्य र खुसीबाट बनेको एक अवधारणा हो । अनि प्रजातन्त्रदेखि मानवअधिकारसम्मका विचारचाहिँ त्यही सामाजिक न्यायलाई पाउने बाटाका रूपमा खनिएका व्यवहारपरस्त दर्शनका बाटा हुन् ।

एउटा सपना यस्तो पनि
हालैको एक दिन बाँके पुरौनीकी एक युवती सुनीता गोडियालाई भेट्दा पच्चीस सय वर्षअघिका यी ग्रीक गुरुचेलाको न्याय दर्शन र त्यसपछि विकास भएका अनेक अवधारणहरूले एकैपटक गिजोल्न आइपुगे । जीवनका प्रारम्भिक दिनहरूमै उनका साथ जे भयो त्यो हदै अन्यायपूर्ण थियो । अनेक सपनाहरू देख्ने यौवनकालमै निराशाहरूबाट गुज्रिएकी र ‘कसै गरी कुनै दिन सिलाइ सिक्न पाए पनि कति हुन्थ्यो’ भन्ने सामान्य सपना पनि पूरा गर्न नसकिरहेकी सुनीतालाई भेट्दा मलाई न्याय र सामाजिक न्यायका यी सबै वादविवाद र दर्शनहरू जिस्क्याएझैं लाग्यो ।


सामान्यजनका जीवनमा यही सामाजिक न्याय ल्याउन भनेर सुरु भएको दसवर्षे सशस्त्र द्वन्द्वको आदि अन्त्य सुनीतालाई थाहा छैन । न उनलाई न्यायका सम्बन्धमा विकास गरिएका शास्त्र र तर्कहरूकै बारेमा थाहा छ । उनलाई के मात्र थाहा छ भने उनका मायालु बाबु धनीराम गोडिया बेपत्ता छन् । हालसम्म जसलाई कुर्दाकुर्दा उनकी आमाको बैंस बितेको छ, जो नहुँदा उनको बालापनको सबै खुसीहरू लुटिएको छ । उनले पढ्न पाउने अनि अघि बढ्न पाउने सबै अवसरहरूको हरण भएको छ अनि जीवनको चौरस्तामा अलमलिएको यस क्षणमा बाटो देखाउने स्नेही मानिसको सर्वथा अभाव भएको छ ।


आफूले किन पढ्न पाइन र सबका बाबु हुँदा आफ्ना बाबुचाहिँ किन छैनन् भन्ने त उनले हालैका वर्षहरूमा मात्रै थाहा पाइन् । तर बाबु कहाँ छन् अनि कसले किन बेपत्ता बनायो भन्ने सुकरातले खोज्ने ‘सत्य’ उनलाई ज्ञात छैन । न उनको जीवनमा प्लेटोले खोजेजस्तो ‘खुसी’ नै उपलब्ध छ ।


‘हर करवा चौथमा’ उनकी आमा रुन्थिन् र त्यसबेला सुनीता ‘बहुतै दुःखी’ हुन्थिन् । यस्तै एक करवा चौथका दिन सुनीताले आमा रुनुको अर्थ जान्न खोजिन्, आफ्नो बाबु घरमा नहुनुको कारण सोधिन् । त्यसपछि मात्रै उनलाई थाहा भयो– उनका बाबुको नाम रहेछ धनिराम । तामाको भाँडाकुँडा बनाएर गुजारा गर्दै आएका धनिरामलाई २०५८ को एक रात सैनिकहरू लिन आए ।

तिनताकको विद्रोही माओवादीका हितयार धनिरामले बनाइदिन्छन् भन्ने सेनाको आरोप थियो रे ! सुनीताले हालै आमाबाट सुनेकी । माओवादीका लागि हतियार बनाइदिएको अभियोग सत्य हुन कुनै सबुत चाहिएन उनका बाबु बेपत्ता पारिनका लागि । अहिले आएर, माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू ओरिजिनल माओवादी नभएको’ ‘सत्य’ खुलासा गरेका छन् । तर, उनका बाबु बेपत्ताको बेपत्तै ।

त्यति बेलाकी दूधे बच्ची उनलाई बाबु पक्राउ परेपछि आमाले भोग्नुपरेको त्रासदी र आफूले लेखपढ गर्न नपाएको दुःखको ज्ञान भर्खरभर्खर हुन थालेको छ । दाहाल ओरिजिनल नभइदिएजस्तै सुनीताको यो दुःख पनि ‘ओरिजिनल’ नभइदिए हुन्थ्यो, उनको बाबु बेपत्ता पारिएको घटना पनि ‘ओरिजिनल’ नभइदिए कति जाति हुन्थ्यो । तर, यो सब त सुनीताका लागि बुझ्न नसक्ने पहेली मात्रै भएको छ ।


‘हुँदा खाने’ परिवारका छोराछोरीका लागि बाबु नहुनु भनेको पढ्न नपाउनु मात्रै होइन सबै अवसहरूबाट वञ्चित हुनु र बालापन ननिख्रिँदै कठोर श्रम गर्न विवश हुनु हो । प्रस्टै छ, उनका दाजुहरूले झैं सुनीताले पनि लेखपढ गर्न पाइनन् । लेखपढ गर्न नपाएपछि रोजगारीका ढोकाहरू त्यसै बन्द हुने भइगए ।

उनकी आमा देश दुनियाँ नदेखेकी एक देहाती महिला भएकीले र सुनीताहरू सानै हुनाले धनिराम बेपत्ता भएको कुनै औपचारिक अभिलेखसम्म पनि कहीँ छैन । धनिराम कतिसम्म गरिब हुन गए भने उनी हराउनेहरूको सूचीमा दर्जसम्म पनि हुन सकेनन् ।

त्यसो हुँदा, पीडितहरूका लागि सरकारले दिने राहत पाउनु त परै जाओस्, बेपत्ताका परिवार भनेर सूचीकृत हुनेको सूचीसम्ममा पनि सुनीताहरूको नाम छैन । पीडितहरूको सूचीमा नाम लेखाउन दौडधुप गर्ने, पिता मरे–बाँचेको पत्ता लगाउने र धनिरामलाई बेपत्ता पार्ने दोषी सैनिकलाई खोजेर कारबाही गर्ने व्यवस्था मिलाउने सामर्थ्य र जानकारी न सुनीताकी आमामा छ, न उनी र उनका दाइहरूमै ।


आमा र दाजुहरूले झैं जे भयो भयो भनेर एक हिसाबले सहँदै आएकी सुनीतालाई एउटा कुरामा भने उधुमै खेद छ– सिलाइ सिक्न नपाएकामा । कपडाहरू सिउन जान्नु उनका लागि यो जीवन गुजारा गर्ने एक उपयुक्त तरिका हो । कसैगरी यो सिक्न पाए आफू आफ्नै खुट्टामा उभिन सक्थेँ र बाबु नभएको दुःखलाई अलिकति भए पनि कम गर्न सक्थेँ भन्ने उनलाई लाग्छ ।

सिलाइ सिक्ने कुनै अवसर मिल्नुलाई नै उनले न्यायका रूपमा लिएकी रहिछन् एक हिसाबले किनभने यसले उनलाई अलिकित ‘खुसी’ अवश्य दिँदो हो ।


‘सरकारले तालिमहरू दिन्छ भन्छन्, कहाँ दिन्छ थाहा छैन,’ भुइँतिर एकोहोरो हेरिरहेकी उनले मसँगको भेटमा भनेकी थिइन्, ‘बुबा भइदिएको भए मैले उहिल्यै धेरै कुरा जानिसक्थेँ हुँला, सिलाइ पनि सिकिसक्थेँ हुँला ।’ यति भन्दाभन्दै उनी रोक्किइन् । अनि भनिन्, ‘मेरो एक जना माइजू सिलाउन जान्नुहुन्छ, उहाँकै काम हेरेर केही त जानिसकेँ तर तालिम लिएजस्तो हेरेको भरमा नहुँदो रहेछ ।’
हरे, कति सानो सपनाले उनलाई गिजोलिरहेको होला !

‘रोजगारीको हक’ लेखेँ भनेर फुर्ती गर्दै हिँड्ने संविधानका निर्माताहरूलाई सुनीता भेटाइदिन पाए कस्तो हुन्थ्यो भन्ने भावले मलाई त्यस बेला निकै लपेट्यो । पश्चिम नेपाल यात्राका क्रममा भएका धेरै भेट र मानिसहरू बिस्तारै सम्झनाबाट ओझेल पर्दै गइरहेका छन्, तर सुनीताले ‘सिलाइ सिक्न पाए पनि कति हुन्थ्यो’ भनेको प्रत्येक क्षण मेरो कानमा गुन्जिरहेको छ । त्यस क्षण, मैले आफूसँग भएको पैसाहरू दिएको भए पनि उनको त्यो सपना पूरा हुन्थ्यो । काठमाडौं फर्केपछि मात्रै मलाई यी विचारहरू आए र एक पछुतोले मनलाई कटक्क खायो ।

तीन ट्याबलेट औषधि
राज्यको स्मरणबाट हराइसकेको तर जोरबहादुर खड्काले कहिल्यै बिर्सन नसकेको एउटा घटना छ । उनी तिनताक प्रहरीमा असइ थिए । राष्ट्रबैंकको पैसा लिएर उनले नेतृत्व गरेको प्रहरीको १२ जनाको टोली रुकुम पुग्यो २०५७ को चैतमा । चौकीमा पुगेर हतियार र पैसा बुझाए उनले । त्यति बेला रातको दस बजिसकेको थियो । दिनभरिको भोक मेट्न चौकी छेउकै एक होटलमा पुगेर उनीहरू खान मात्रै के थालेका थिए, चारैतिरबाट गोली बर्सन थाल्यो ।


‘पैसा बोकेर आएको भन्ने माओवादीहरूले थाहा पाएछन्, हामीमाथि आक्रमण गरिहाले, चौकी पनि हाने,’ जोरबहादुर भन्छन्, ‘मेरा साथीहरू भकाभक ढले, मेरो दाहिने गालामा गोली चिप्लिएर गयो, उनीहरूले हतियार र पैसा लुटेर लगे ।’ घटनाको केहीपछि नेपाल प्रहरीले उनलाई माओवादीसँग मिलेको भनेर बर्खास्त गरिदियो । यसका कारण दिइयो– नमिलेको भए अरू मर्दा तँचाहिँ कसरी बाँचिस् ?


जागिर गए पनि ज्यान जोगिएकामा चित्त बुझाएर उनी जन्मथलो दैलेख फर्किए । त्यहाँ उनलाई माओवादीहरूले ‘जागिर छाडेको बहानामा सुराकी गर्न आएको’ भनेर घेर्न आइपुगे । जसोतसो फुत्किएर जोरबहादुर भारत पसे । त्यहाँ अर्काको घर रुँगेर ६ वर्ष बिताए । यस्तोमा मनमा तनाव बढ्नु स्वाभाविकै हो । तनाव बढेपछि रक्तचाप बढ्यो, रक्तचाप उच्च भएपछि पक्षाघात भयो ।

जीवनको उर्बर समय प्रहरी भएर बिताएका जोरबहादुर पेन्सन पाक्ने बेलामा उही प्रहरीबाट गलहत्याइए । कुटो–कोदालो गरेर शान्तिले बाँकी जीवन बिताउँछु भनेर चित्त बुझाउँदा उनले गाउँमा बस्न त के पाइलो टेक्न पनि पाएनन् ।


पक्षाघात भएर वर्षौं कुँजिँदा, घटना हुँदाकी दूधे छोरी गरिमा ठूली भएर केही पैसाको बन्दोबस्त नगरुन्जेल औषधोपचार समेतबाट विमुख हुन पुगेका जोरबहादुरलाई प्रहरीले अहिलेसम्म औपचारिक रूपमा कुनै अवकाशपत्र दिएको छैन, न जागिर छाडेपछि पाउने कुनै सेवा–सुविधा नै पाएका छन् । न शान्ति मन्त्रालयले उनलाई द्वन्द्वपीडितको सूचीमा राखेको छ, न अरू पीडितहरूले झैं उनले सरकारबाट कुनै राहत र पैसा नै पाएका छन् । उनको घरैमा पुगेर र उनलाई भेटेर उनका कथाहरू सुनेको क्षणमा पनि मलाई सुकरातको ‘न्याय सत्य हो’ र प्लेटोको ‘न्याय खुसी हो’ भन्ने उद्गारले घाँटी अठ्याउन आएजस्तो भयो ।

उनले यो विपत् भोग्नुपर्नाको सत्य जान्ने र त्यसबापत उनले भोग्नुपर्नाको दुःख सोधन गरेर उनलाई खुसी दिने कुनै संयन्त्र यो देशमा छैन । आफूमाथि भएको अन्यायविरुद्ध अदालतमा जाऊँ र जागिर बहाली गराऊँ भन्ने उनलाई नलागेको होइन, तर औषधि खाने पनि पैसा नभएका उनीसँग मुद्दामामिला गर्ने र वकिललाई पैसा दिने औकात कहाँ छ ? संविधानको मौलिक हकमा ‘प्रत्येक नागरिकलाई न्यायको हक हुनेछ’ भन्ने लेख्दैमा जोरबहादुरहरूमाथि भएको अन्याय कहाँ हट्दो रहेछ र ?


बर्दियाको भुरी गाउँमा अचेल दिनहरू सुस्तरी गुजारिरहेका जोरबहादुर अहिले ५४ वर्षका भए । उनको देब्रे हात चल्दैन । मुख बाङ्गो छ, दाहिने गालामा गोली चिप्लिएर गएको पुच्छ्रे ताराजस्तो लामो दाग छ । बोली प्रस्ट निस्कँदैन । प्रत्येक शब्द उच्चरणमा कष्ट हुन्छ ।

वर्षौंपछि यसपाला अलिकति साइकल चलाउन सक्ने भएका जोरबहादुरको यो अवस्था पहिलेको भन्दा ज्यादै सुध्रिएको हो । उनकी २३ वर्षीया छोरी गरिमाले ऋण गरेर, सिमलामा स्याउ टिप्न गई केही पैसा कमाएर र पढ्ने–लेख्ने आफ्नो सारा अवसरलाई थाँती राखेर गरेको औषधोपचारले जोरबहादुर यति तंग्रिने भएका हुन् । गएको वर्ष उनले जोरबहादुरलाई काठमाडौं लगिन्, डाक्टर सुशीला वैद्यले नियमित रूपमा लेजर थेरापीहरू गराउन सके ठीक हुने कुरो गरिन् । नभन्दै जोरबहादुर केही तंग्रिए, वर्षौंदेखि चलमलाउन नसकेका उनका हातगोडा चलमलाए ।


‘भएको ७०–८० हजार एकपटकमै सकियो,’ गरिमा भन्छिन्, ‘तीन–तीन महिनामा काठमाडौं ल्याउनु भन्थे, लैजान सकिएको छैन ।’

डाक्टरले नसा तंग्रिने औषधि दिनको तीन ट्याबलेट खानु भनेर लेखिदिएका छन् । ‘यसको ५ सय रुपैयाँ पर्छ, दिनमा त्यति तिर्न सक्दैनौं हामी,’ जोरबहादुरका आँखा पिलपिलाए, ‘त्यसैले दिनको एक ट्याबलेटमै काम चलाइरहेका छौं ।’ यति भनिसक्दानसक्दै चुपचापसँग झरेका उनका आँसुले मानौं प्रश्न गरिरहेका छन्— के राज्य यति गरिब छ कि एउटा बिरामीको तीन ट्याबलेट औषधि पनि
किनिदिन सक्दैन ?

अन्त्यहीन पर्खाइ
राजकुमारी ओलीको काखमा सानी छोरी छिन् । तर उनले स्याहार हरदिन बिरामी आमा सुशीलाको गरिरहनुपरेको छ । उनको घर जाजरकोटमा छ र माइती सुर्खेतमा । बिरामी आमालाई रुँगेर माइतै बसिरहेकी उनलाई घरबाट तारन्तार खबर आइरहन्छ, कहिले फर्किेने भनेर । घर घर गर्नु कि आमालाई स्याहार्नु ? राजकुमारीसँग उत्तर छैन, मात्र आँसु छ जतिखेर पनि चुहिरहने ।


उनकी आमा बोल्न सक्दिनन्, पक्षाघात भएकाले हिँडडुल गर्न सक्दिनन्, तर रुन सक्छिन्, आँसु झारिरहन सक्छिन् । उनको साथमा राजकुमारीकी दिदी दीपाको तस्बिर सधैं हुन्छ, त्यसलाई काखमा राखेर टोलाई बस्नु र बेलाबेलामा छाती चिरिने गरी डाँको छाडेर रुनु सुशीलाको दैनिकी बनेको धेरै भइसक्यो ।


कुनै समय गाउँभरिकी फुर्तिली सुशीला आज यस्तो किन भइन् ? कुरा खोतल्दै गयो भयो न्यायमा लागेको उही घाउको ओस्सिने गन्ध आउँछ । संकटकालको बेला थियो । कक्षा ६ मा पढ्दै गरेकी उनकी छोरी दीपा र अरू पनि विद्यार्थीलाई माओवादीले स्कुलमै आएर लगेछन् २०५८ मा । छोरी माओवादीले लगेदेखि नै सुशीलाको नसनाडी गल्न थालिसेको थियो, उनका श्रीमान्को अनुहारको कान्ति हराइसकेको थियो र घरमा दुःखले बास गरिरकेको थियो ।

रामघाटस्थित छिन्चु ब्यारेकका सेनाले २०६० साउन २३ गते दीपालाई पक्राउ गरेछन् । त्यसयता उनी मरे–बाँचेको पत्तो छैन । यही पीरले राजकुमारीका बाबु बिते, आमालाई पक्षाघात भयो र उनको पढाइ छुट्यो । ‘दिदीलाई त्यस्तो भएपछि आमाले चुरोट खान थाल्नुभयो’ राजकुमारी भन्छिन्, ‘त्यही पीरले त होला, प्यारालाइसिसले समात्यो, अहिले उहाँलाई खुवाउनेदेखि दिसापिसाब गराइदिनेसम्मको काम गर्नुपर्छ, हाम्रो त जीवनै तहसनहस भयो ।’

गरिमाले बाबुलाई काठमाडौं लगेझैं गएको वर्ष राजकुमारीले पनि सकीनसकी आमालाई उपचार गर्न भनी राजधानी लगेकी थिइन् । नसाका डाक्टरहरूले उपचार हुन्छ भनेका पनि थिए । तर, यो विरानो काठमाडौंमा उनका लागि न कुनै साथ थियो न पैसा नै ।

राजकुमारीको सपनामा बरोबरजसो बेपत्ता दिदी मुस्कुराउँदै आइपुग्छिन् । कक्षा आठमा पढ्दा स्कुलले लगेको पिकनिकबाट फर्कने बेलामा उनले जंगलमा दीपालाई देखेकी थिइन्, एक लोग्नेमान्छेका साथ । सायद ऊ, माओवादी लडाकु थियो ।


‘दिदी, घर जाऊँ हिँड,’ उनी खुसीले चिच्याउँदै दीपालाई अँगाल्न पुगेकी थिइन् । ‘तर त्यो मान्छेले मलाई लडाइदियो, दिदी एकदम डराइरहेकी थिइन्,’ राजकुमारी भन्छिन्, ‘त्यसपछि म बेहोस भएछु, सरहरूले घरमा ल्याएर छाडिदिएछन् ।’अहिले उनलाई लाग्छ, त्यस बेला त्यो मानिससँग पौंठेजोरी खेल्ने ताकत भइदिएको भए वा सरहरूले उससँग जुध्ने सामर्थ्य देखाइदिएका भए राजकुमारी आफ्नी दिदीलाई घर लिएर जान सक्थिन् । त्यो हुन पाएको भए उनका बाबुले शोकैले चोला बदल्नुपर्ने थिएन, आमाको यो हालत हुन्नथ्यो । अनि, राजकुमारीले पढ्न पाउँथिन् र जीवनका हजार सपनाहरूलाई अनुभव गर्ने अवसरहरूलाई समात्न सक्थिन् ।


तर, यस्तो केही हुन पाएन उनको जीवनमा । उनीहरूलाई कहिल्यै आवश्यकै नपरेको युद्ध दीपाले लड्नुपर्‍यो । सेनाको ब्यारेकमा नजाने कस्तो कष्टहरूबाट दीपा गुज्रिन होला ? कहाँ होलिन् उनी ? निर्दयीहरूले मारे होलान् कि अझै कुनै काल कोठरीमा थुनेर राखिरहेका होलान् ? यस्तो प्रश्न उनकी आमाले मात्रै होइन, राजकुमारीले पनि गर्न थालेको धेरै भइसक्यो । एकपटक, सेनाको कब्जामा परेका बेला राजकुमारी र उनका बाबुको नाममा दीपाले कसैगरी एक पत्र पठाएकी रहिछन्, जसमा लेखिएको थियो, ‘म बाघको मुखमा छु, कृपया बचाउनुस् ।’नभन्दै उनी बाघकै मुखमा भएजस्तो ठहरियो जहाँबाट दीपा फर्केर आएकी छैनन् ।

‘दिदी साउनमा पक्राउ परेकी थिई,’ राजकुमारी भन्छिन्, ‘कात्तिकसम्म हामीले लगेको खाना सेनाले बुझ्थ्यो र दिदीलाई दिएँ भन्थ्यो, त्यसपछि त पर्दैन खाना ल्याउन भनेर हप्काएर फर्काइदिन थाल्यो ।’ उनलाई शंका लाग्छ, कतै त्यही समय दीपको ज्यान उनीहरूले लिए कि ! अनि उनलाई कताकता फेरि एउटा आशाले पनि डोर्‍याउँछ, हैन दिदी हाँस्दै अहिल्यै घरभित्र छिरी पो हाल्छे कि ! यस्ता दोधारमा दिव्य १६ वर्ष बिते राजकुमारी र उनको परिवारको । न दिदी नै फर्केर आइन्, न आमा नै सद्दे रहिन् । मृत्यु शय्यामा पल्टेका भीष्म पिताहजस्तै अतिशय वेदनामा छटपटाइरहेकी आमालाई छाडेर एक घण्टा पनि उनी बाहिर निस्कन मिल्ने अवस्था छैन । यो अन्त्यहीनको पर्खाइ कहिलेसम्म ? यो विलखबन्दको जिन्दगी कहिलेसम्म ? यो मुफ्तको अन्याय कहिलेसम्म ?

गुफायुगदेखि ‘न्याय’ र ‘खुसी’ को खोजीमा मानवीय सभ्यताले यहाँसम्मको यात्रा तय गर्दा धेरै युद्ध, हिंसाका दुश्चक्रहरू र अन्यायका असंख्य शृंखला बेहोरेको छ । हरेक समाजका दुःखका आफ्ना कथाहरू छन् र भविष्यका आफ्ना सुनौला योजना । शासक वर्गको एउटा तप्काले मात्रै राज्यको सबै ऐश्वर्यको भोग गर्दै आएको हाम्रो समाजमा सामाजिक न्याय मात्र एक शब्द थियो ।

‘सत्य’ र ‘खुसी’ मात्र शासक वर्गको विशेषाधिकार थिए । यस्तैयस्तै निष्कर्ष निकालेर र शोषणमा परेका, हेपिएका र दबिएका लाखौंलाख मानिसका लागि न्याय ल्याउन भनेर पुष्पकमल दाहाल उर्फ प्रचण्डको नेतृत्वमा त्यति बेलाको माओवादीले २०५२ मा सुरु गरेको दसवर्षे सशस्त्र युद्धले सुनीता, जोरबहादुर र राजकुमारीजस्ता हजारौंहजार मानिसलाई कहिल्यै नबिर्सिने गरी चोटहरू दिएर गयो । सत्र हजारको ज्यान गयो, ३ हजार जति बेपत्ता भए, ६० हजार घाइते अनि ८० हजार विस्थापित ।

अंकमा भन्दा एक वाक्यमा सकिने यो द्वन्द्वको फेहरिस्तमा एक–एक मानिसका आँसु र छटपटाहट लुकेको छ । तर, कहिल्यै केही पनि भएकै थिएन जसरी दलहरू अघि बढिरहेका छन्, सरकारलाई यसबारे खास चासो नभएजस्तो देखिन्छ । दोषीलाई सजाय मात्रै होइन न्याय भनेको, पीडितका चहराइरहेका घाउमा भरथेगको मल्हम लगाउनु पनि हो न्याय । सुनीताहरूलाई बाबु बेपत्ता बनाउनेलाई सजाय मागेका छैनन्, जीवन गुजारा गर्ने मेलोका लागि सिलाइको तालिम खोजेका छन् ।

जोरबहादुरहरूले औषधि चाहेका छन् र राजकुमारीहरूले रोजीरोटीको मेलो अनि आमाको उपचार । सत्य निरुपण तथा मेलमिलाप अनि बेपत्ता छानबिन आयोगको कन्तविजोग गराएर, पीडितहरूलाई सर्वथा बेवास्ता गरेरर र समाजको विभेदमा कुनै सुधार नल्याएर नेतागण खाली आफ्नो स्वार्थ र सुखको खातिर कुदिरहेको देख्दा सुकरातको ‘सत्य’ र फ्लेटोको ‘खुसी’ दुवैले सामूहिक आत्महत्या गरेजस्तो लाग्छ यो देशमा ।

सुनीता

जोरबाहादुर

प्रकाशित : कार्तिक २३, २०७६ १४:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT