१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अनलाइन गेममा आंशिक प्रतिबन्ध

(एजेन्सी)

बेइजिङ — बालबालिकालाई अनलाइन गेमको लतबाट जोगाउनका लागि चीनले खेल खेल्ने समयमा प्रतिबन्ध लगाएको छ ।चिनियाँ सञ्चारमाध्यमका अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकाले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने भएका छन् ।

अनलाइन गेममा आंशिक प्रतिबन्ध

त्यसका साथै सामान्य दिनमा ९० मिनेट र साताको अन्त्य तथा बिदा दिन ३ घन्टा मात्र अनलाइन गेम खेल्न दिइने भएको छ ।


बालबालिकाको स्वास्थ्यमा अनलाइन गेमको लतले नराम्रो असर परेका कारण त्यस्तो निर्णय लिनुपरेको अधिकारीहरूको भनाइ छ । अनलाइन खेलका लागि चीन विश्वको दोस्रो ठूलो बजार हो । चिनियाँ अनुसन्धान कम्पनी न्युजूका अनुसार यस वर्ष अनलाइन गेमबाट अमेरिकाले चीनको भन्दा बढी आम्दानी गरेको छ ।


सरकारको नयाँ व्यवस्था अनुसार अनलाइन खेलमा बालबालिकाले गर्न पाउने खर्चको समेत सीमा तोकिएको छ । जसअनुसार ८ देखि १६ वर्षका बालबालिकाले महिनामा २ सय युआनभन्दा बढी खर्चन पाउने छैनन् । त्यसैगरी, १६ देखि १८ वर्षकाले बढीमा ४ सय युआन खर्च गर्न पाउनेछन् ।


अनलाइन गेमका कारण बालबालिका तथा युवामा नकारात्मक असर पर्ने भन्दै चीनले बारम्बार आलोचना गर्दै आएको छ । लामो समयसम्म गेम खेलेका कारण बालबालिकाको आँखाको दृष्टि कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन गेल नियमनकारी निकाय गठनको घोषणा गरेको थियो ।


सन् २०१८ मै चीनले नयाँ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो । तर ९ महिनासम्म कुनै पनि कम्पनीले गेम उत्पादन गर्न नपाएपछि ठूला उद्योगको व्यापार निकै खस्केको थियो ।


अनलाइन गेम उत्पादन गर्ने ठूला कम्पनीहरूले सरकारको पछिल्लो कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिएका बीबीसीले उल्लेख गरेको छ । तर नयाँ प्रवाधानअनुसार गेम प्रयोगकर्ताको उमेरको जाँच गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।


पब्जीलगायत गेम उत्पादन गरेको कम्पनीले टेन्सेन्टले यसअघि अनलाइन खेलमा आंशिक प्रतिबन्ध लगाइसकेको छ । कम्पनीले १२ वर्षमुनिका प्रयोगकर्ताले दैनिक बढीमा १ घन्टा र १२ देखि १८ वर्षकाले दैनिक २ घन्टा मात्र गेम खेल्न पाउने व्यवस्था गरिसकेको छ । त्यसका लागि उमेर प्रमाणित गर्न राज्यनले प्रदान गरेको परिचयपत्र आवश्यक पर्ने कम्पनीले जनाएको छ । विश्व स्वास्थ्य संगठनले गतवर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ का रूपमा सूचीकृत गर्दै पहिलोपटक त्यसलाई मानसिक स्वास्थ्य अवस्थाका रूपमा परिभाषित गरेको थियो ।


अमेरिकी साइक्याट्री एसोसिएसनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने अनलाइन गेमको लतलाई हालसम्म औपचारिक रूपमा उल्लेख गरेको छैन । एसोसिएसनले ‘इन्टरनेट गेमिङ डिसअर्डर’ थप अध्ययन गर्नुपर्ने स्थिति भएको उल्लेख गरेको छ । तर केही देशहरूले अनलाइन गेम अत्यधिक खेल्नु भनेको स्वास्थ्यको प्रमुख समस्याका रूपमा पहिचान गरेका छन् । तीमध्यमे अधिकांशले यस्तो अवस्थाको उपचार गर्न निजी क्लिनिकको व्यवस्थासमेत गरेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?